तनहुँमा निषेधाज्ञा कडाइ, उल्लंघन गरे पाँच लाखसम्म जरिवाना
भञ्ज्याङ न्यूज

जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञालाई कडाइ बनाउने भएको छ । जिल्लामा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको हुँदा कोभिड संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश अनुसार जरिवानाको तयारी गरेको छ ।
यस अघि संक्रामक रोग नियन्त्रण ऐन अर्न्तगत निषेधाज्ञा अटेर गर्नेलाई एक सय रुपैयाँसम्म जरिवाना गराइंदै आएकोमा अब निषेधाज्ञा उल्लंघन गर्नेबाट नयाँ अध्यादेश अर्न्तर्गत जरिवाना लिन लागिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले अध्यादेश अनुसार नै अब कारबाही हुने बताए।
निषेधाज्ञा अटेर गर्नेका हकमा व्यक्तिलाई अधिकतम एक लाख र संस्थाका हकमा पाँच लाखसम्म जरिवाना गर्न सक्ने अध्यादेशमा प्रवन्ध गरेको छ । अब त्यसै अनुसार कारवाही अघि बढाइएने बरालले बताए ।
अध्यादेशमा सवारी साधनका हकमा दुइ पांग्रेलाई दुइ हजार र अरुका हकमा पाँच हजार रुपैयाँ जरिवानाको व्यवस्था छ । अहिलेसम्म संक्रामक रोग ऐन अनुसार कारवाही भए पनि अब भने नयाँ अध्यादेशबाट जरिवाना लिने गरी तयारी गरिएको बताइएको छ ।










