मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्न पोखरी निर्माण

डिभिजन वन कार्यालय तनहुँको अनुदान सहयोगमा जिल्लाका १७ सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । वन्यजन्तुका लागि लक्षित गरी कार्यालयको अनुदान सहयोगमा गत आर्थिक वर्षमा विभिन्न १७ सामुदायिक वनमा पोखरी निर्माण गरिएको हो ।

भानु नगरपालिकामा १२, देवघाट, ऋषिङ र बन्दिपुरमा एक/एक, म्याग्दे गाउँपालिकामा दुई वटा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि वनमा पोखरी निर्माण गरिएको उहाँको भनाई छ ।

चितुवाको सबैभन्दा बढी आतङ्क रहेको भानुमा धेरै पोखरी निर्माण गरिएको छ । वनमा पानीको स्रोत मासिदै गएपछि घरछेउ पानी खोज्दै आउने वन्यजन्तुले मानिसलाई आक्रमण गर्न थालेपछि वन कार्यालयले पोखरी संरक्षण अभियान थालेको हो ।

“तनहुँमा केही वर्षयता चितुवाको बढी आतङ्क छ, जङ्गलमा पानीको स्रोत मासिँदै गयो, चितुवा पानी खोज्दै बस्ती पस्न थाल्यो,” उहाँले भन्नुभयो, “जसकारण धेरै जनाले चितुवाको आक्रमणबाट ज्यान गुमाउनुप¥यो ।” मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि यो अभियानले सहयोग पुग्ने काफ्लेको भनाई छ ।

१७ सामुदायिक वनमा पोखरी निर्माणका लागि कार्यालयले रु १४ लाख ८० हजार अनुदान दिएको छ । ११ वटा सामुदायिक वनलाई रु एक÷एक लाख, पाँच वटा सामुदायिक वनलाई रु ५०÷५० हजार र एउटा सामुदायिक वनलाई रु एक लाख ३० हजार सहयोग गरिएको छ ।

कार्यालयका अनुसार भानुको देउराली, कालिका, सानो देउराली, मस्र्याङ्दी, भिमसेन थुम्की, मजुवा ओख्ले, लोहीपाखा, रातमाटे पत्थरेढुङ्गा, भानुभक्त, बेलथुम्की, तिलाहार, झाक्रीथुम्का, इन्द्रचेक, देवघाटको पालेथुम्की, बन्दिपुरको वार्से गह्रा ठकुरीडाँडा, म्याग्देको वाराही र ज्यानटाङ सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।

वन कार्यालयले थालेको यो अभियानलाई कतिपय स्थानीय तहले पनि अग्रसरता लिएर आफैँले पोखरी निर्माण गर्न थालेका छन् । “प्रत्येक सामुदायिक वनभित्र पोखरी भइदिए वन्यजन्तु जङ्गलमै बस्ने र बस्तीसम्म आउँदैनथे,” काफ्लेले भन्नुभयो, “यसले गर्दा मानव र वन्यजन्तुको द्वन्द्व पनि घट्छ ।”

कार्यालयले गत आवमा मात्रै चितुवाको आक्रमणबाट क्षति भएकालाई रु १६ लाख राहत वितरण गरेको छ । गत आव चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको थियो । कार्यालयले पीडित परिवारलाई रु दश लाख राहत उपलब्ध गराएको थियो ।

सोही अवधिमा जिल्लाका विभिन्न ठाउँमा चितुवाले थुप्रै पशु चौपाया मारेको थियो । क्षतिको मूल्याङ्कन गरी कार्यालयले पीडितलाई राहत वितरण गरेको छ । रु २१ लाख ८६ हजार ७०४ को क्षति मूल्याङ्कन गरिएकामा रु १६ लाख ५९ हजार १०४ वितरण गरिएको कार्यालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker