विभाजनपछि एमाले तनहुँमा उत्साह : कांग्रेस र माओवादीको इच्छा पुरा गर्न नेपालले पार्टी फुटाए
भञ्ज्याङ न्यूज

पार्टी विभाजनपछि नेकपा एमालेलाई ठूलो क्षति पुग्ने आंकलन भइरहेको बेला तनहुँमा भने विभाजनपछि थप उत्साह देखिएको छ । नेकपा एमाले जिल्ला कमिटी तनहुँले आइतबार दमौलीमा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा सहभागिहरुको भिडभाडले विभाजनको असर पार्टीमा रत्तिभर नपरेको सन्देश दिएको छ । एमालेका तत्कालीन वरिष्ठ नेता माधव कुमार नेपालले कुनै ठोस एजेण्डा बिना नै पार्टी विभाजन गरेपछि तनहुँ एमालेमा त्यसले कुनै क्षति नपुर्याएको सहभागिको भिडले संकेत गरेको छ ।
जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस र नेकपा माओवादी पार्टीको इच्छा पुरा गर्न माधव नेपालले पार्टी फुटाएको आरोप लगाएका छन् ।
‘नेपाली जनताको इच्छा र आवश्यकता पुरा गर्नलाई नभई अन्य पार्टीको स्वार्थ र इच्छा पुरा गर्न माधव नेपालले पार्टी फुटाए’, उनले भने, ‘केपी ओलीले ५/१० वर्ष शासन गरे अरु पार्टीको अस्तित्व समाप्त हुन सक्ने अवस्था भएको हुँदा एमाले पार्टीमा अन्य पार्टीको आँखा लाग्यो र हाम्रो पार्टी फुटाउन पार्टीभित्रैका सिरखण्डीहरु मात्र होइन अन्य शक्ति पनि लागि परे ।’
माधवकुमार नेपालको नेकपा एकिकृत समाजवादीमा जानेलाई पिलोको संज्ञा दिंदै नेता गुरुङले अब पार्टी स्वच्छ बन्ने बताएका छन् । ‘नवौं महाधिवेशन पछि पार्टीमा पिलो बढेर गएको र त्यो पिलोले धेरै दुःख दिएको थियो’, उनले भने, ‘माओवादी केन्द्रसंगको एकतापछि पिलो हराउँछ की भन्ने लागेपनि झन बढ्दै गयो र थप दुःख दियोको थियो ।
त्यो पिलो फुटेर गयो अब एमाले स्वच्छ बन्छ होला !’ गण्डकी प्रदेशका पूर्व मुख्मन्त्री समेत रहेका गुरुङले एकीकृत समाजवादीमा गएका स्थानीय तहका जनप्रतिनिधिलाई पिलोको पिप भएको टिप्पणी गरेका छन् । उनले गण्डकीमा एक हजार ७६० मध्ये ३८ जना पिलोको पिप बगेर गएका र यसले एमालेलाई कुनै असर नपर्ने दाबी गरेका छन् ।
उक्त भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले एमाले विभाजन नभएको दाबी गरे । उनले एमाले खहरे खोला नभई सेती, मादी, गण्डकी नदी जस्तै अनवरात बग्ने पार्टी हो, यो पार्टी कसैले चहादैमा विभाजन नहुने बताए ।
समाजवादीमा गएका जनप्रतिनिधि मूलधारमा फर्किए पार्टीले स्वागत गर्ने बताउँदै नेता गुरुङले नेपालको शिर ठाढो पार्ने नेता केपी ओली मात्रै भएको दाबी गरेका छन् । यस्तै, उनले तनहुँलाई आगामी निर्वाचनमा लाल किल्ला बनाएरै छाड्ने उद्घोष गर्दै दुइ चार जना तल माथी हुँदैमा पार्टीलाई केही फरक नपर्ने उनको दाबी छ ।
उक्त भेलामा नेकपा एमालेका वैकल्पिक पोलिटव्युरो सदस्य जगत विश्वकर्मा, केन्द्रीय सदस्य एकबहादुर राना, जिल्ला अध्यक्ष केदार सिग्देल, ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्य दधिराज सुवेदी, गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङ लगायतले नेकपा एमालेलाई कमजोर पार्ने षड्यन्त्र भइरहेकाले त्यसलाई चिर्न आवश्यक रहेको र एमालेलाई सुद्धृढ बनाएर लैजानुपर्नेमा जोड दिएका छन् ।