बन्दीपुर अस्पतालले गाउँपालिकाको दुर्गम क्षेत्रमा घुम्ती स्वास्थ्य सेवा सञ्चालन गर्ने

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिका अन्तर्गतका दुर्गम तथा सेवा पहुँचबाट टाढा रहेका बस्तीलाई लक्षित गर्दै बन्दीपुर अस्पतालले घुम्ती चिकित्सकीय स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको छ ।
चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअनुसार माघ महिनाभर विभिन्न स्वास्थ्य संस्थामा पुगेर सेवा प्रदान गरिने अस्पतालले जनाएको छ। बन्दीपुर गाउँपालिकाको खर्च केन्द्र बन्दीपुर अस्पताल अन्तर्गत सञ्चालन हुने उक्त कार्यक्रममार्फत विशेष चिकित्सकीय सेवा, स्वास्थ्य परीक्षण, परामर्श तथा अतिरिक्त स्वास्थ्य सेवा उपलब्ध गराइने अस्पतालका प्रमुख डा. अनिल गिरीले बताए । उनका अनुसार सरकारी स्वास्थ्य संस्थाबीच सहकार्य गर्दै महिनामा एक दिन तोकिएका स्थानमा स्वास्थ्य सेवा पु¥याउने व्यवस्था गरिएको छ ।
माघ महिनाको कार्यतालिका
अस्पतालले सार्वजनिक गरेको तालिकाअनुसार माघ महिनामा बन्दीपुर गाउँपालिकाभित्र रहेका छ वटा सरकारी स्वास्थ्य संस्थामा घुम्ती सेवा सञ्चालन गर्ने भएको छ । जस अनुसार पिप्ले आधारभूत स्वास्थ्य सेवा केन्द्रमा माघ १३ गते (मंगलबार), कल्चोक आधारभूत स्वास्थ्य सेवा केन्द्रमा माघ १४ गते (बुधबार), कुर्कुदी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा माघ २० गते (मंगलबार), सुखौरा आधारभूत स्वास्थ्य सेवा केन्दमा माघ २१ गते (बुधबार), साराङघाट शहरी स्वास्थ्य सेवा केन्द्रमा माघ २७ गते (मंगलबार), धरमपानी स्वास्थ्य चौकीमा माघ २८ गते
(बुधबार) सेवा प्रवाह गर्ने भएको छ ।
यसैगरी, बन्दीपुर अस्पतालसम्म बिरामी ल्याउन–लैजान दुईतर्फी यातायात सेवा व्यवस्थापन पनि माघ १६ र माघ २३ गते सञ्चालन गरिने जनाइएको छ ।
यस्तै, घुम्ती स्वास्थ्य सेवाबाट विशेषज्ञ चिकित्सकको पहुँच नपुगेका बस्तिका नागरिक लाभान्वित हुने अपेक्षा गरिएको प्रमुख डा. गिरीले बताए । स्थानीय तहमा नै परीक्षण, परामर्श र उपचार सेवा पाउँदा समय, खर्च र जोखिम घट्ने अस्पतालको विश्वास रहेको उनले बताए ।
अस्पतालका अनुसार कार्यक्रमलाई प्रभावकारी बनाउन वडा कार्यालय, स्वास्थ्य शाखा, स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग आवश्यक समन्वय गरिएको छ । अस्पतालले सम्बन्धित स्वास्थ्य संस्थालाई कार्यक्रम सफल पार्न सहजीकरण गर्न अनुरोधसमेत गरेको छ ।
यस्तै, ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रमलाई स्थानीय स्वास्थ्य प्रणाली सुदृढीकरणको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ । बन्दीपुर अस्पतालले आगामी महिनाहरूमा समेत यस्ता सेवा निरन्तरता दिने तयारी गरेको अस्पतालले जनाएको छ ।











