अलैंचीले फर्कायो गाउँको रौनक : लमजुङबाट बसाइँ सरेका परिवार खेती गर्न गाउँ फर्किन थाले

लमजुङ : कुनै समय बसाइँसराइले सुनसान बन्दै गएका लमजुङका ग्रामीण बस्तीमा अहिले अलैँची खेतीले फेरि चहलपहल बढाएको छ । आम्दानीको राम्रो स्रोत बन्न थालेपछि सहर झरेका परिवारसमेत गाउँ फर्किएर अलैँची खेतीमा जुट्न थालेका छन् । जिल्लाका विभिन्न क्षेत्रमा यस वर्षको अलैँची टिपाइसमेत सुरु भएको छ ।

समुद्री सतहदेखि करिब आठ सयदेखि एक हजार दुई सय मिटर उचाइसम्मका क्षेत्रमा लगाइएको अलैँची पाक्न थालेपछि किसान टिपाइमा व्यस्त भएका हुन्। मस्र्याङ्दी गाउँपालिका–७ ताराचोक शेराका किसान डम्बरसिंह अधिकारीले डम्बरसाई र जिर्मले जातको अलैँची पाकेपछि टिप्न सुरु गरिएको बताए । ताराचोकमा मात्रै ४० रोपनीभन्दा बढी क्षेत्रमा अलैँची खेती गरिएको उनले जानकारी दिए ।

स्थानीय इन्द्रप्रसाद तामाङका अनुसार गाउँका अधिकांश किसान अहिले अलैँची टिप्नमै व्यस्त छन् । लामो समय प्रयोगविहीन रहेका पाखोबारी तथा धान उत्पादन हुने केही जमिनसमेत मासेर किसानले अलैँची खेती विस्तार गरेका छन् । ‘पहिले खेर जाने पाखोबारीमा अहिले अलैँची छ’, उनले भने, ‘अलैँचीबाट आम्दानी हुन थालेपछि किसानमा खेतीप्रति उत्साह बढेको छ ।’

मर्स्याङ्दी–६ बाहुनडाँडाका किसान लोकनाथ घिमिरेले छ रोपनी जमिनमा लगाएको रामशाही जातको अलैँचीबाट यस वर्ष करिब दुई सय किलो उत्पादन भएको बताए । टिपेर सुकाउने कामसमेत सम्पन्न भइसकेको उनले जानकारी दिए ।

मर्स्याङ्दी–५ घेर्मुफाँटका किसान पनि धानखेतीको काम सकेर अलैँची टिप्ने, सुकाउने र ग्रेडिङ गर्ने काममा लागेका छन् । स्थानीय बिमला गुरुङका अनुसार अलैँचीबाट राम्रो आम्दानी हुन थालेपछि गाउँमा खेती गर्नेको संख्या बढेको छ । खेतीबाट आम्दानीको सम्भावना देखिएपछि रोजगारी र सुविधाका लागि बाहिरिएका परिवारसमेत गाउँ फर्किन थालेको उनले बताइन् ।

यसको प्रभाव मर्स्याङ्दी–७ लुदी गाउँमा अझ स्पष्ट देखिएको छ । बसाइँसराइका कारण कुनै समय गाउँमा जम्मा छ घरपरिवार मात्रै बाँकी रहेकामा अहिले त्यो संख्या बढेर १९ पुगेको छ । सहर तथा बजारतर्फ गएका कतिपय परिवार अलैँची खेती गर्न गाउँ फर्किएका छन् ।

स्थानीय रामप्रसाद तामाङका अनुसार लुदी गाउँमा मात्रै करिब चार सय रोपनी क्षेत्रफलमा अलैँची खेती गरिएको छ । किसानले ‘लुदी अलैँची कृषक समूह’ गठन गरेर सामूहिक रूपमा खेतीसमेत गर्दै आएका छन् । ‘गाउँ छाडेर बजार गएकाहरू पनि अहिले फर्केर अलैँची खेती गर्न थालेका छन्’, तामाङले भने, ‘खेतीले गाउँमा फेरि मान्छेको चहलपहल बढाएको छ ।’

अलैँची व्यवसायी महासंघ गण्डकीका अध्यक्ष अजय तामाङका अनुसार उचाइअनुसार अलैँचीको उत्पादन र टिपाइको समय फरक हुन्छ । एक हजार दुई सय मिटरभन्दा माथिका क्षेत्रमा लगाइएको अलैँची दसैँपछि टिप्न सुरु हुने उनले बताए । महासंघका अनुसार लमजुङमा अहिले करिब एक हजार दुई सय रोपनी क्षेत्रफलमा अलैँची खेती भइरहेको छ । त्यसमध्ये करिब ७५० रोपनी क्षेत्रफलको अलैँचीले यस वर्ष उत्पादन दिने अनुमान गरिएको छ ।

विगतमा जिल्लामा करिब एक हजार पाँच सय रोपनीसम्म अलैँची खेती गरिएको थियो । तर विभिन्न रोग तथा प्रकोपका कारण खेतीमा क्षति पुगेपछि क्षेत्रफल घटेको व्यवसायीको भनाइ छ । रोग नियन्त्रण, गुणस्तरीय बिरुवा र प्राविधिक सहयोगलाई प्रभावकारी बनाउन सके अलैँची खेती पुनः विस्तार गर्न सकिने किसानको अपेक्षा छ ।

लमजुङमा मर्स्याङ्दी गाउँपालिका अलैँची उत्पादनको प्रमुख क्षेत्रका रूपमा देखिएको छ । गाउँपालिकाका विभिन्न क्षेत्रमा करिब चार सय हेक्टर जमिनमा अलैँची खेती गरिएको बताइएको छ । बेँसीसहर, दोर्दी, दूधपोखरी र क्व्होलासोथर गाउँपालिकाका विभिन्न गाउँमा समेत अलैँचीको व्यावसायिक खेती हुँदै आएको छ ।

यस वर्ष जिल्लामा करिब ६० मेट्रिक टन अलैँची उत्पादन हुने अनुमान गरिएको छ । उत्पादनसँगै किसानले उचित मूल्य पाउने, बजार सुनिश्चित हुने र रोग नियन्त्रणका लागि आवश्यक प्राविधिक सहयोग पाए अलैँचीले ग्रामीण अर्थतन्त्रलाई थप बलियो बनाउन सक्ने देखिएको छ ।

लमजुङमा अलैँची अहिले केवल नगदेबाली मात्र बनेको छैन, गाउँमा रोकिएको अर्थतन्त्र र जनशक्ति फर्काउने आधारसमेत बन्दै गएको छ। खेतबारीमा अलैँचीका बोटसँगै गाउँमा फर्किएको चहलपहलले उत्पादनमुखी कृषि रोजगारी र बसाइँसराइ रोक्ने सम्भावनाको संकेत गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker