हराउन थाल्यो दुनाटपरी

जनक श्रेष्ठ

बजारबाट ल्याउने प्लास्टिकका थाल र पिलेटको प्रयोग बढेसँगै मौलिक रैथाने परम्परागतका दुना टपरीको प्रयोग गाउँघरबाटै हराउन गएको छ। प्लास्टिकका थाल र पिलेट प्रयोग गर्न सजिलो, नयाँ पुस्तामा दुनाटपरी लगाउने सिपको कमी र दुनाटपरीप्रतिको बेवास्थाका कारणले यसको प्रयोग हराउँदै गएको हो । धार्मिक विश्वाससँग जोडिएको परम्परागत दुनाटपरी भन्दा प्लास्टिकका भाँडाको प्रयोग बढ्न थालेपछि वृद्धवृद्धा चिन्तित हुन थालेका छन्।

विगतमा नेपाली समाजमा पूजाआजा, विवाह, व्रतबन्ध, श्राद्धलगायत शुभकार्यमा सालको पातको दुना, दुना टपरीको प्रयोग गर्ने प्रचलन रही आएको छ । पछिल्लो समयमा प्लास्टिकका भाँडाको प्रयोग बढेसँगै जिल्ला शहर, बजारमा मात्र नभई गाउँघरबाटै हराउँदै जाँदा चिन्ता लागेको दोर्दी गाउँपालिकाका ९० वर्षीय राधा घिमिरेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गाउँघरमा केही सानो पूजा हुँदासमेत सालको पात चोखो हुन्छ भन्दै दुनाटपरी बनाएर प्रयोग हुन्थ्यो । आफ्नै घरपरिवार तथा समाजले दुनाटपरी सिलाउन्थ्यो। अहिले प्लास्टिकको भाँडाले गाउँघर ओगट्दा परम्परागत दुनाटपरी हराउने अवस्थामा पुगेको उहाँले बताउनुयभो ।

दोदी-३ श्रीमञ्जाङका ७६ वर्षीय बुद्धिमान श्रेष्ठले विवाह, पूजाआजामा समेत गाउँलेले बनमा गएर सालको पात टिपेर ल्याएर दुनाटपरी बनाएर प्रयोग हुने गरे पनि अहिले युवापुस्ताले चासो नदिँदा विस्तारै दुनाटपरी हराउँदै गएको जानकारी दिनुभयो । प्लास्टिकका भाँडाले गाउँ समाज ओगट्न थालेको जनाइएको छ । दसैंमा आउने पाहुना तथा आफन्तजनलाई सालको पातको दुनाटपरीमा खानाका परिकार राखेर दिने गरे पनि अहिले आफू नसक्ने र युवापुस्ताले बेवास्ता गर्दा यस्ता सामग्री हराउन थालेको उहाँले दुखेसो राख्नुभयो ।

राइनास नगरपालिकास्थित हर्राबोटकी ७२ वर्षीया लालमाया श्रेष्ठ भन्नुहुन्छ, “पहिलापहिला सालको पात टिपेर ल्याइ बाँसको सिन्काले सालको पातको दुनाटपरी गाँसिन्थ्यो, त्यतिबेला अहिलेको जसरी प्लास्टिकका भाँडा पनि हुँदैन थियो । पूजाआजामा प्रसाद यसैमा राखि खाइन्थ्यो, बाँडिन्थ्यो। शहरबजारमा समेत दुनाटपरीको प्रयोग बढ्दो थियो । यस गाउँबाट समेत दुनाटपरी बनाएर केही समय अघिसम्म विभिन्न शहरमा पुर्‍याउने गरिएको उहाँले बताउनुभयो ।

दसँै, तिहार, सत्यनाराण पूजामा समेत गाउँलेले प्रयोग गर्दै आए तापनि अहिले दसैँ सुरु हुन लाग्दासमेत साल टिप्न चासो नदेखाएको र यसरी बेवास्ता गर्दा धर्मसंस्कृतिसँग समेत जोडिने गरेको यस्ता परम्परागत सालको पातबाट बुनेको दुनाटपरी लोप हुन थालेको छ ।

नेपाली समाज बिस्तारै आधुनिक जमनासँगै विदेशीको नक्कल गर्न थालेकाले परम्परागतभन्दा विदेशी वस्तुमा नै रुचि बढ्नाले दुनाटपरी हराउँदै गएको समाजका बुद्धिजीवीको भनाइ छ । सालको पातको दुनाटपरी बुन्न समय लाग्ने भएकाले पनि छिटो, छरितोका लागि पछिल्लो समय प्लास्टिकका भाँडाको प्रयोग बढ्दै जाँदा परम्परागत दुनाटपरी हराउँदै गएको दुनाटपरी व्यवसाय गर्दै आउनुभएका बेँसीशहर-७ का दिलीप श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “केही वर्षघिसम्म पसलमा दुनाटपरी खोज्न आउने गरेकामा अहिले प्लाष्टिकबाट बनेको थाल र पिलेटको माग बढी हुन थालेको छ ।

बँेसीशहरका देवीदास बरालले भन्नुभयो, “सालको पातको दुनाटपरी सुद्धताको प्रतीक हो ।” कहिले पनि जुठो हुँदैन । यसको धार्मिक मूल्यमान्यता रहेको छ । यस्ता कुराको सबैले चासो राख्न सकेमा मात्रै सालको पातको दुनाटपरीको प्रयोग बढ्नसक्ने उहाँले बताउनुभयो । सालको पातको टपरी बनाउन समय र सीप लाग्ने बेँसीशहरका युनिका घिमिरेले बताउनुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker