पुनः प्रमुखको आकांक्षा व्यक्त गर्दै व्यासका प्रमुखले भने : ‘अधुरा योजना पुरा गर्नुछ’ (पाँच वर्षे कार्यकालमा गरेका कामको विवरण सहित)
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले पुनः नगरप्रमुखको उम्मेदवार बन्ने बताएका छन् । आइतबार दमौलीमा पत्रकार सम्मेलन गरी प्रमुख न्यौपानेले आफ्नो कार्यकालमा सुरु गरेका कामहरु अधुरा रहेका र ती योजना पूरा गर्न पुनः नगरप्रमुख बन्ने तयारी गरेको बताएका छन् ।
पाँच वर्षे कार्यकालमा आफुले गरेका महत्वपूर्ण र दीर्घकालिन महत्वका योजनाहरुको विवरण सहित पत्रकार सम्मेलन गरेका न्यौपानले अधुरा रहेका योजना पूरा गर्न, आफ्नो अनुभव र क्षमताको प्रयोग गर्न पुनः प्रमुखको इच्छा व्यक्त गरेका हुन् ।
न्यौपानेले आफ्नो पाँच वर्षको अवधिमा नगरवासी सामु शिर निहुर्याउने गरी कुनै काम नगरेको दाबी गर्दै भने, ‘हाम्रो कामको मूल्याङ्कन र समिक्षा गर्ने दायित्व नगरवासीको हो त्यो समय पनि आइसकेको छ, व्यासलाई उप-महानगरपालिका बनाउने आफ्नो इच्छा छ ।’
‘पार्टीले टिकट नदिएको खण्डमा पनि पार्टीलाई व्यास नगरमा विजयी गराउन भूमिका खेल्नेछु,’ उनले भने, ‘आफु व्यासको प्रमुखको रुपमा निर्वाचित भएर आएपश्चात थुप्रै कामहरु गरेको र थुपै योजनाहरु अगाडि बढाइएको हुँदा ती अधुरा रहेका योजनालाई पूर्णता दिन पुनः नगरप्रमुखको पद दाबी गरेको हुँ ।’
‘नयाँ आउने व्यक्तिलाई बुझनै समय लाग्छ, हामीले धेरै अनुभव प्राप्त गरिसकेका छौ, त्यही अनुभवलाई फेरि प्रयोग गर्ने चाहना हो,’ उनले भने ‘नगरपालिकाले निर्दिष्ट गरेका योजना धैरे सम्पन्न भएको र केही अधुरा रहेका पर्रि्रेक्ष्यमा व्यासलाई उपमहानगरपालिकाको पूर्वाधार निर्माण गर्न बाँकी रहेको महशुस गरेको छु ।’

क्षेत्रीय सभापति श्याम मौराती र व्यास नगर सभापति सूर्यचन्द्र हड्खलेलाई समेत सहभागि गर्राई दमौलीको एक होटलमा पत्रकार सम्मेलन गर्दै नगर प्रमुख न्यौपानेले भने, ‘कांग्रेस पार्टीमा पराजित भएपनि जनताको बीचमा जानु फरक कुरा भएको भन्दै भने, ‘निष्ठापूर्वक काम गरेको छु, १८ घण्टा खटेको छु । जनताले मेरो कामको मूल्याङ्कन गर्नेमा विश्वस्त छु ।’
‘संविधानको निर्माणपछि राज्य पुनसंरचना भई नगरपालिकाको भूगोल बढ्न गाउँ र शहरको विविधताबीच नगरपालिकाको विकास प्रकृया अघि बढाउन चुनौतिपूर्ण थियो,’ उनले भने, ‘सबैको सहयोगमा विभिन्न महत्वपूर्ण काम भएका छन् । थप काम गर्ने योजना र सोचका साथ अगाडि बढेको छु । आशा छ पार्टीले त्यो जिम्मेवारी पुनः दिनेछ ।’
व्यास नगरपालिकाको नेतृत्व दाबी गर्दै नेपाली कांग्रेसको तर्फाट न्यौपाने सहित १४ जना अगाडि आएका छन् ।










