शैक्षिक सामाग्रि प्रदर्शनी महोत्सव र हाजिरी जवाफ प्रतियोगिता गरिने
भञ्ज्याङ न्यूज

तनहुँको भानु नगरपालिकाका सामुदायिक विद्यालयहरुले शैक्षिक सामाग्रि प्रदर्शनी महोत्सव र हाजिरी जवाफ प्रतियोगिता गर्ने भएका छन् । नगर शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको नगरस्तरी प्रधानाध्यापक बैठकले उक्त महोत्सव र प्रतियोगिता गर्ने निर्णय गरेको हो ।
बैठकले शिक्षकद्वारा निर्मित शैक्षिक सामग्री प्रदर्शनी महोत्सवको आयोजना गर्ने निर्णय गरेको नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले बताए । उनले भने, ‘शिक्षकहरुले अनिवार्य पाँचवटा विषयका र आधारभुत तथा माध्यमिक गरी दुइ तहको शैक्षिक सामाग्रिहरु तयारी गरी प्रदर्शनी गर्ने र यसको लागि सहजीकरण समिति गठन गर्ने निर्णय गरिएको छ ।’
यस्तै, बैठकले विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता पनि गर्ने निर्णय गरेको छ । मावि तह कक्षा ९-१०, आधारभूत तह कक्षा ६-८ को गायन तथा नृत्य प्रतियोगिता, आधारभुत तह कक्षा ४-५ को हिसाब दौड प्रतियोगिता र कक्षा १-३ का लागि चित्रकला प्रतियोगिता सञ्चालन गरिने भएको छ ।

भानु नगरपालिकाका नगर शिक्षा अधिकारी, उपसचिव पौडेलको अध्यक्षताम आयोजित बैठकमा विद्यालयमा भएका विभिन्न निकासा तथा सोको प्रभावकारी कार्यान्वयन -शिक्षक कर्मचारीको मासिक तलब भत्ता, उआ/बुक कर्नर, दिवा खाजा, विद्यालय सञ्चालन तथा व्यवस्थापन खर्च, विसुयो/साप/रिपोर्ट कार्ड आदिका लागि खर्चका विषयमा छलफल गरिएको थियो ।
चालू आव २०७८/०७९ मा सशर्त कार्यक्रम अन्तरगत पुस्ताकालय, आइसिटी ल्याब, विज्ञान प्रयोगशालाको योजना वितरणका विषयमा पनि जानकारी गराइएको थियो ।

यस्तै, बैठकमा विद्यालयको वित्तीय लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्ति र सोको जानकारी तथा पत्र वितरण, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको म्याद थप तथा सो सम्बन्धी प्रस्तावना पेश गर्ने सम्बन्धी सुचना र जानकारी, आधारभुत तह (कक्षा ६-८) मा गणित, विज्ञान र अंग्रेजी विषय शिक्षणका लागि सिकाइ अनुदान, नगरपालिका शिक्षा नियमावली २०७८ लगायतका विविध विषयमा छलफल भएको बताइएको छ ।










