शीतभण्डारमै आलु बिग्रिए, किसानले मागे क्षतिपूर्ति

सुशीला रेग्मी

शीतभण्डार चालू भएपछि किसान खुशी भएका थिए । आलु भण्डारणका लागि भैरहवा र स्याङ्जाको जिमुवा धाउन नपरेपछि किसान खुशी हुने नै भए ।

ढिलै भए पनि पाल्पाकै ठूलो रामपुरमा ३०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण भई प्रयोगमा ल्याइयो । किसान उत्साहितहँुदै खेतबारीमा उत्पादन भएको आलु भण्डारण गर्न थाले । अहिले भने किसान यसरी रमाउन सकेका छैनन् । शीतभण्डारमै आलु उम्रने र बिग्रने भएपछि उनीहरु चिन्तित छन् ।

रामपुर–७ बस्ने यमकान्ती गौतमले करिब रु दश लाख बराबरको उन्नत बीउ आलु भण्डारण गर्नुभएको छ । स्थानीय सरकारले शीतभण्डार परीक्षणबिना नै आलु भण्डारण गर्न हौसाउँदा किसान मारमा परेको उहाँ गुनासो गर्नुहुन्छ । “उन्नत जातको बीउ आलु टुसाउने, बिग्रने भएको छ, अघिल्ला वर्षमा सधँै भैरहवा लगेर भण्डारण गरिन्थ्यो, अहिले गाउँमै बनेको चिस्यान केन्द्रमा आलु राखेको नराम्रोसँग फसियो”, उहाँले दुखेसो पोख्नुभयो ।

बीउका लागि करिब १३० बोरा आलु शीतभण्डारमा राख्नुभएको छ । उहाँले रु ३६ हजार ४०० रकम भण्डारण खर्च तिर्नुभएको छ । बर्सेनि बीउ आलु बेचेर रु पाँचदेखि सात लाख आम्दानी गर्ने उहाँ यस पटक भने शीतभण्डार व्यवस्थापनको लापरबाहीले बज्रपात पारेको छ ।

खानका लागि शीतभण्डारबाट घरमा झिकेर ल्याइएको आलु उम्रेर लामालामा टुसा पलाएको देख्दा रामपुर–६ तालपोखरा बस्ने मित्रा ढकाललाई नमज्जा लाग्यो । उहाँले रामपुर नगरपालिका–६ कार्यालयको आलु प्रवद्र्धन कार्यक्रम अन्तर्गत व्यावसायिक आलु उत्पादन गर्नुभएको हो । “शीतभण्डारबाट झिकेर ल्याएको आलु खाल्डोबाट झिकेजस्तो छ, प्रतिकिलो रु ३० मा घरमै आलु खरिद गर्न आउदा शीतभण्डारमा राख्नुपर्छ भनेर हामीलाई आलु अन्यत्र बिक्री गर्न दिइएन, आलु बिग्रियो अब सम्बन्धित निकायले क्षतिपूर्ति दिनुपर्छ”, उहाँले गुनासो पोख्नुभयो । ढकालले दश बोरा खायन र बीउ आलु भण्डारण गर्नुभएको छ ।

रामपुर– ५ बेझाड बस्ने मैना श्रेष्ठले दशँै तिहार पर्वमा प्रयोग गर्न किसानबाट खरिद गरेको तीन बोरा आलु भण्डारण गर्नुभयो । तर अहिले आलु उम्रेको देख्दा उहाँको लगानी सबै खेर गएको छ । चाडपर्वमा बजार भाउ महँगो, कहिलेकाहीँ महँगो शुल्कमा खरिद गर्छुभन्दा पनि नपाइने समस्याले स्थानीय किसानसँग आलु खरिद गरी चाडपर्वमा प्रयोग गर्न सुरक्षित रुपमा शीतभण्डारमा राखेको आलु खान लायकको नभएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पूरै टुसा पलाएर खान हुने खालको छैन, कोही कुहेको छ त कोही दबिएजस्तो खालको छ, आलु खरिद, शीतभण्डारण शुल्क सबै खेर गयो” ।

त्यस्तै रामपुर– ३ का वडाध्यक्ष दिनेशकुमार खनालले गाउँका अन्य किसानलाई प्रोत्साहन गर्न ४७ बोरा बीउ आलु भण्डारण गरेको बताउनुहुन्छ । आलु बोराबाटै बाहिर लामा टुसा पलाएको देख्दा उहाँ चिन्तित हुनुहुन्छ । शीतभण्डारमा प्राविधिक व्यवस्थापनको तालमेल नहुँदा बीउका लागि भण्डारण गरिएको १०३ बोरा आलु खेर जाने स्थिति सिर्जना भएको लेखनाथ रेग्मी बताउनुहुन्छ ।

यहाँको शीतभण्डारमा करिब एक हजार ४०० क्विन्टल आलु राखिएको छ । गत वैशाख दोस्रो र तेस्रो सातामा आलु भण्डारण गरियो । शीतभण्डार निर्माणको ढिलाइका कारण उपयुक्त समयमा आलु भण्डारण नहुँदा समस्या निम्तिएको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताउनुभयो ।

“फागुनमा खनेको आलु वैशाख दोस्रो सातामा मात्रै भण्डारण गरियो, समयमा नै भवन बनेन, तापक्रम व्यवस्थापन नुहुनु, किसानले ल्याउदा नै केहीको आलु उम्रिसकेको थियो” शाखा प्रमुख पाण्डेयले भन्नुभयो । नगरपालिकाले शीतभण्डार सञ्चालनका लागि बोलपत्रमार्फत रम्भा गाउँपालिका– १ हुँगीका भगवती अधिकारी न्यौपानेलाई रु दुई लाख पाँच हजारमा एक वर्षको लागि सम्झौता गरी प्रयोगमा ल्याइएको हो ।

शीतभण्डार पहिलो वर्ष प्रयोगमा ल्याउँदा प्राविधिक तालमेल नमिलेकाले समस्या भएको रामपुर नगरपालिकाका प्रवक्ता तथा वडा नं ६ का वडाध्यक्ष हुमनाथ न्यौपाने बताउनुहुन्छ । “भण्डारण कक्षभित्र हावा नखेलेको ठाउँको आलु उम्रिएको छ, हावा खेलेको ठाउँमा बिग्रिएको छैन, आलु खानयोग्य छैन, बीउको लागि प्रयोगमा पनि आउँदैन पूरै कुहिएर बिग्रिएको छ भने त्यसको सम्बन्धित पक्षबाट व्यवस्थापन हुनेछ”, उहाँले भन्नुभयो ।

रामपुर नगरपालिकामा मात्रै गत आर्थिक वर्षमा आलु ब्लक कार्यक्रम सञ्चालन भएकाले पनि धेरै आलु उत्पादन भएको छ । नगरभित्र करिब पाँच हजार रोपनी क्षेत्रफलमा चार हजार टन आलु उत्पादन भएको छ । यहाँ उत्पादन भएको आलु बेमौसमी याममा महँगो मूल्यमा बिक्री गर्न सुरक्षित तरिकाले भण्डारण गरिएको थियो । बिडम्बना परिस्थिति ठीक विपरीत भइदिएको छ । कृषि उपज भण्डारण गर्न प्रतिकिलो रु छ शुल्क कायम गरिएको छ ।

रामपुर क्षेत्रमा उत्पादन हुने कृषिजन्य उपजलाई सुरक्षित साथ भण्डारण गरेर राख्नका लागि कृषि शाखाको परिसरमा लुम्बिनी प्रदेश सरकारको सर्त अनुदानमा रु तीन करोड २६ लाख ७६ हजार ५६६ मा शीतभण्डार निर्माण गरिएको हो ।

भण्डारमा फरक–फरक क्षमताका पाँच कोठा छन् । यहाँ दुई तले १० कोठासहितको प्रशासनिक भवन, अपाङ्गमैत्री शौचालय छ । दुई कोठामा आलु भण्डारण गरिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा लुम्बिनी प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विभिन्न स्थानीय तहलाई प्रस्तावना माग गरे अनुसार रामपुर नगरपालिकाले पनि प्रस्ताव पेश गरेको थियो ।

सोहीअनुरुप छनोट भई नगरपालिकासँग सम्झौता गरी नगरपालिकाले आफ्नै लगानीमा डीपीआर तयार पारेर शीतभण्डार निर्माण गरी प्रयोगमा आएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker