तनहुँको भानुमा विद्यार्थी मूल्याङ्कन सम्बन्धी अभिमुखीकरण
भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकामा लेटर ग्रेडिङ् सिष्टम तथा एकीकृत पाठ्यक्रममा विद्यार्थी मूल्याङ्न प्रक्रिया सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम गरिएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले विहीबार आयोजना गरेको अभिमुखीकरणमा शिक्षा तालिम केन्द्र तनहुँका प्रशिक्षक दामोदर कार्कीले सहजीकरण गरेका थिए ।
कार्यक्रममा नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले सबै सहभागीहरूलाई कार्यक्रमको उद्देश्य माथी जानकारी गराउँदै शिक्षण सिकाइ क्रियाकलापको अभिन्न अंगको रूपमा रहेको विद्यार्थी मूल्यांकन प्रक्रियाका बारेमा सहजिकरण गरेका थिए।
उनले लेटर ग्रेडिङ सिष्टममा रहेका केही अन्यौलता हटाउन, सबै विद्यालयको मुल्यांकन प्रक्रियामा एकरूपता कायम गर्न र विद्यालय स्तरीय मुल्यांकन प्रणालीलाई विश्वसनीय, मर्यादित, स्तरीकृत र गुणस्तरीय बनाउन आवश्यकदेखिकाले यो अभिमुखिकरण कार्यक्रम आयोजना गरेको जानकारी गराएका थिए ।
विद्यालयको प्राज्ञिक एवं प्रशासकीय प्रमुखको रूपमा रहेका प्रधानाध्यापकहरूलाई यस विषयमा प्रशिक्षित गरिएको खण्डमा यसको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने र अन्य शिक्षकहरूलाई पनि सहजीकरण र निर्देशन दिन सहयोग पुर्याउने कार्यक्रमको उद्देश्य रहेको पौडेलले बताए ।
कार्यक्रममा भानु नगरपालिका भित्रका सामुदायिक विद्यालयका ५५ जना प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो । हालै नेपाल सरकारले कक्षा १-१२ सम्म लागू हुनेगरी लेटर ग्रेडिङ् निर्देशिका २०७८ जारी गरेको छ ।
त्यसैगरी राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ बमोजिम हाल विद्यालय तहको कक्षा १-३, कक्षा ६ र कक्षा ११-१२ मा नयाँ एकीकृत पाठ्यक्रम लागू भएको छ । बाँकी कक्षामा क्रमशः नयाँ पाठ्यक्रम लागू हुँदै जाने छ भने पाठ्यक्रम लागू भएसँगै ती कक्षाहरूमा पनि अक्षराङकन पद्धति लागू हुने भएको छ ।
कार्यक्रममा सहभागी प्रधानाध्यापकहरूले यस अभिमुखीकरण कार्यक्रम अत्यन्त महत्वपूर्ण र समय सान्दर्भिक रहेको बताएका थिए । सहभागिहरुले आ-आफ्नो विद्यालयमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त जनाएका थिए।










