शुक्लागण्डकीले कृषि उपज संकलन तथा बिक्री केन्द्र सञ्चालन गर्दै

तनहुँको शुक्लागण्डकी नगरपालिकाले कृषि उपज संकलन तथा बिक्री केन्द्र सञ्चालनमा ल्याउने भएको छ । स्थानीय उत्पादनलाई बजारीकरणमा टेवा पुर्याउने उद्देश्यले निर्माण गरिएको कृषि उपज संकलन तथा बिक्री केन्द्र नगरपालिकाले सञ्चालनमा ल्याउन लागेको हो ।
वडा नं. ५, बेलचौतारामा निर्माण गरिएको कृषि उपज संकलन तथा बिक्री केन्द्र आज शुक्रबारबाट सञ्चालनमा ल्याइन लागिएको छ ।
उक्त कृषि उपज संकलन तथा बिक्री केन्द्रमा नगरभित्रका कृषकहरुले उत्पादन गरेका सम्पूर्ण पशु तथा कृषि उपज सोही केन्द्रमार्फ बिक्री वितरण गर्न सकिने छ । केन्द्रबाट स्थानीय उत्पादन तरकारी, फलफूल, मह, घ्यू, तथा पशुजन्यतर्फखसी, बोका, कुखुरा, माछा विक्री वितरणका लागि खुला गरिएको छ ।
यस्तै, अन्य क्षेत्रबाट यस नगरपालिका क्षेत्रभित्र बिक्री वितरणका लागि ल्याईएका पशु चौपाय तथा कृषि उपजहरु समेत सोहि केन्द्रबाट मात्र बिक्री बितरण गरिने ब्यबस्था मिलाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले जानकारी दिए ।
नगरपालिकाले दशैंको अवसर पारेर उक्त केन्द्रको शुरुवात गर्ने र केन्द्रमार्फ बिक्री बितरण गर्दा कुनै शुल्क नलिने भएको छ ।










