घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले बिजयी

सत्तारुढ दलको गठबन्धनका उम्मेद्वारलाई पराजित गर्दै जिल्लाको घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेद्वारले बिजयी हासिल गरेका छन् । गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापाले ४ हजार ३३१ मत र उपाध्यक्षमा राधादेवि अधिकारीले ४ हजार ४८१ मत ल्याएर बिजयी भएका हुन् ।
यस पालिकामा एमाले विरुद्ध नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरी निर्वाचनमा सहभागी भएका थिए । कांग्रेसबाट अध्यक्षका उम्मेद्वार गंगाराम कुमालले ३ हजार ५५४ मत र समाजवादीबाट उपाध्यक्षका उम्मेद्वार पुर्णबहादुर थापाले २ हजार ७४७ मत ल्याएका छन् ।
यस्तै, घिरिङ–१ मा कांग्रेसबाट रविन्द्र घोरासिनी, घिरिङ–२ मा एमालेबाट नरबहादुर थापा, घिरिङ–३ मा एमालेबाट तहलसिं थापा, घिरिङ–४ मा एमालेबाट भिमबहादुर कुमाल र घिरिङ–५ मा कांग्रेसबाट विष्णुवीर आले वडाध्यक्षमा निर्वाचित भएका छन् ।
यस पालिकामा २०७४ सालको स्थानीय निर्वाचनमा पनि नेकपा एमालेले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा बिजयी भएको थियो ।










