शुक्लागण्डकी १२ मा आयोजित वडाध्यक्ष कप भलिबलको उपाधि वडा ११ ले जित्यो
भञ्ज्याङ न्यूज

तनहुँको शुक्लागण्डकी नगरपालिका-१२ स्थित बराहडाँडामा भएको प्रथम वडाध्यक्ष कप भलिबलको उपाधि शुक्लागण्डकी नगरपालिका-११ राइपुरले जितेको छ । युवा तथा खेलकूद विकास समिति शुक्लागण्डकी-१२ फिरफिरेको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा भएको प्रतियोगिताको फाइनल खेलमा मंगलबार वडा नं. १२ ढोरफिरफिरे (क) लाई ११ ले पराजित गरेको हो । २५-१८, २५-१९, २५-२३ को सोझो सेटमा हराउँदै वडा ११ लेउपाधि हात पारेको हो ।
उपाधिसँगै वडा नं. ११ ले नगद ६० हजार रुपैयाँको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। दोस्रो स्थान हासिल गरेको वडा नं. १२ (क) ले ३० हजार रुपैयाँमा चित्त बुझायो । यसअघि सोमबार भएको सेमिफाइनलमा वडा नं. १ थप्रेकलाई हराउँदै ११ फाइनल प्रवेश गरेको थियो । वडा नं. ५ बेलचौतारालाई हराउँदै १२ (क) फाइनल यात्रा सुरक्षित गरेको थियो ।
वडा नं. १ ले वडा नं. ५ लाई २५-१६, २५-१९, २३-२५ र २६-२४ को सेटमा हराउँदै तेस्रो स्थान प्राप्त गरेको छ । तेस्रो हुने वडा नं. १ ले नगद १५ हजाररुपैयाँको साथमा कप, मेडल र प्रमाणपत्र पाएको छ ।
विजेतालाई वडाध्यक्ष मनराज गुरुङले पुरस्कार वितरण गरेका थिए । २८ बजार मेलाको अवसरमा आयोजित प्रतियोगिता आइतरबादेखि शुरु भएको हो । वडा नं १२ का दुइसहित १० समूह सहभागी भएका थिए ।
शुक्लागण्डकीका १२ वटै वडाका समूहलाई प्रतिस्पर्धा गराउने उद्देश्यले आयोजित प्रतियोगितामा वडा नं. २, ४ र ८ भने सहभागी नभएको आयोजकले जनाएको छ ।










