तनहुँको शुक्लागण्डकी-५ स्थित जिपीमा हड्डीको सफल शल्यक्रिया
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको शुक्लागण्डकी नगरपालिका-५ स्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा हड्डीको सफल शल्यक्रिया भएको छ । अस्पतालले शल्यक्रिया सेवा दिन थालेपछि तनहुँ, गोरखा, लमजुङ र कास्की जिल्लाका नागरिकलाई उपचार सेवा लिन सहज हुने भएको छ ।
सामान्य शल्यक्रियाका लागि पोखरा, चितवन र काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य भएको अस्पतालका निर्देशक डा. रामकुमार श्रेष्ठले बताए । हड्डीको सफलरूपमा शल्यक्रिया गर्न थालिएपछि तनहुँ लगायत छिमेकी जिल्लाका नागरिकलाई उपचार सेवा सहज हुने भएको छ ।’ उनले भने, ‘“हप्तामा दुइ दिन सोमबार र बिहीबार नियमितरूपमा शल्यक्रिया सञ्चालन गर्दै आएका छौँ ।’
हातको समस्यासहित उपचारका लागि पुगेका बिरामीको शल्यक्रियामार्फत हातमा प्लेट राख्न सफल भएको हो । डा विद्याभूषण ताम्राकार र डा रमेश घिमिरेले अस्पतालमा रहेको सिआर्म मेसिनको माध्यमबाट शल्यक्रिया गरेका थिए । ‘अस्पतालमा अन्य सेवा सुविधा थप गर्ने तयारीमा छौँ’, निर्देशक श्रेष्ठले भने, ‘पछिल्ला समयमा अत्याधुनिक सेवासहितका आधुनिक उपकरण अस्पतालमा जडान गर्ने कार्य गरिएको छ ।’
चालु आर्थिक वर्ष भित्र विशेषज्ञ सहितका श्वासप्रश्वास सम्बन्धी उपचार सेवा सुरु गर्ने तयारी भइरहेको डा श्रेष्ठले बताए । ‘नेपाल सरकार र स्थानीयवासीको सहयोगले काम गर्न थप ऊर्जा मिलेको छ’, उनले भने, ‘सेवा र सुविधाका दृष्टिकोणले नमूना अस्पतालका रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।’
गत आर्थिक वर्षमा नेपाल सरकारबाट सात करोड रुपैयाँ बजेट विनियोजन भएकामा अक्सिजन प्लान्ट, एचडीयू बेड, भेन्टिलेटरसहितको आइसीयूकक्ष र आवश्यक भौतिक पूर्वाधार निर्माण गरिएका जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका लेखा अधिकृत वासुराज दाहालले जानकारी दिए । यसवर्ष पनि ओपिडी भवन निर्माणका लागि एक करोड ५४ लाख रुपैयाँ विनियोजित भएकामा इ-टेण्डर खोलिसकिएको उनले बताए ।
स्व गिरिजाप्रसाद कोइरालाको स्मृतिमा उक्त राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा स्थापना गरिएको हो । विसं २०६७ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको स्मृतिमा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।
सरकारको निर्णयानुसार सोही ठाउँमा रहेको सेतीगंगा सामुदायिक अस्पतालको स्वामित्व हस्तान्तरण गरी विसं २०७३ साउन १ गतेदेखि औपचारिकरूपमा श्वासप्रश्वास उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो ।










