तनहुँको व्यासमा कांग्रेसका उम्मेदवार न्यौपानेले लिए अग्रता

तनहुँको ब्यास नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपानेले स्वतन्त्र उम्मेदवार दीपकराज जोशीलाई पछाडि पारेका छन् । करिब २० हजार मत गणना गर्दा जोशीले ७ हजार ९८२ मत र न्यौपानले ८ हजार १३८ मत प्राप्त गरी १५६ मतले अग्रता लिएका छन् ।
वडा नं. १, २, ३, ४, ५, ६, ७, ८ को मत गणना गर्दा पछाडी परेका न्यौपानेले वडा नं. ९ र १० को मत गणना गरेसंगै अग्रता लिन थालेका छन् । १४ वडा रहेको ब्यासमा वडा नम्बर १ देखि ८ सम्मको मत गणना सकिएको छ । अन्य वडाको भने बाँकी छ । तनहुँ सदरमुकाम समेत रहेको दमौली बजार क्षेत्रमा पर्ने वडा नम्बर १, २, ३, ४, ५ मा कैची धेरै मतान्तरले अगाडि थियो ।
तर वडा नम्बर ६, ७, ८ को गणना गर्दा न्यौपानेले मतान्तर घटाउँदै लगेका थिए । पुन: मतदान भएको वडा नम्बर ८ मा भने न्यौपानेले जोशीले भन्दा ६०० मत बढी पाएका थिए । त्यहाँ जोशीले २६९ मत पाउँदा न्यौपानेले ८६६ मत पाएका थिए ।
कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीका छोरा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीलाई नेकपा एमालेले समर्थन गरेको छ ।










