कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बुल्दीखोलाको पुल उद्घाटन गरे
भञ्ज्याङ समाचारदाता (दमौली)

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार उद्घाटन गर्न नपाएको तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल बिहीबार उद्घाटन गरेका छन् । पौडेल बिहीबार कांग्रेसका सयौं कार्यकर्तासहित पुल उद्घाटन गर्न पुगेका थिए ।
बुधबार जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो । तर पौडेल पुल उद्घाटन गर्न जाँदा नियन्त्रणमा लिई करिब तीन घण्टापछि छाडेको थियो ।
तर बिहीबार भने उक्त पुल उद्घाटनमा प्रशासनले अवरोध गरेन । बिहीबार कांग्रेसका कार्यकर्ताले बुधबार प्रहरीले गरेको व्यवहारको विरोधमा नाराबाजीसमेत गरेका थिए ।

सत्ता र शक्तिको दुरुपयोग गरी उपभोक्ता समिती, स्थानीय सरकार र स्थानीय जनताको माग र इच्छा विपरीत तनहुँको कार्यक्रम रोक्ने काम भएको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।
‘घटना घटाउन सघाउने नेता, कर्मचारी, पुलिस र प्रशासनलाई कारवाहीको दायरामा ल्याउनु पर्छ भन्ने हाम्रो माग छ’, नेता पौडेलले भने, ‘आज तनहुँमा कार्यकर्ताको बाक्लो उपस्थिति देखेपछि अवरोध गर्न बाट प्रशासन पछि हटेको प्रष्ट छ । पुल उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।’

तर, लोकतान्त्रिक मुल्य र मान्यता विपरीत नेपाली जनता, नेपाली कांग्रेस माथीको घोर अपमान र अत्याचार प्रती खेद गर्दै अब कम्युनिस्ट तानाशाह प्रवृति विरुद्द हाम्रो आन्दोलन जारी रहने नेता पौडेलले बताएका छन् ।










