स्थानीय योजनामा अपांगताका सवाल विषयक सम्वाद
भञ्ज्याङ समाचारदाता/दमौली

अपांगता भएका व्यक्तिहरुको अधिकार र विकासका लागि श्रोत केन्द्र (रिसेड)ले व्यास नगरपालिकामा योजना तर्जुमामा अपांगता भएका व्यक्तिहरुको सवाल विषयक सम्वाद कार्यक्रम गरेको छ । व्यास नगरपालिकाका विभिन्न वडाबाट प्रतिनिधित्व गर्ने अपांगता भएका व्यक्तिहरुको सहभागिता गरिएको उक्त कार्यक्रममा अपांगता भएका व्यक्तिहरुले शिक्षा र स्वास्थ्य जस्तो गम्भिर सवाललाई निःशुल्क बनाई अगाडी बढाउनुपर्नेमा जोड दिएका थिए ।
अपांगता भएका व्यक्तिहरुले प्रयोग गर्दै आइरहेको सहायक सामाग्रीको सर्वसुलभता नभएसम्म अन्य अधिकारको सवालहरुबाट पनि बञ्चित हुनुपर्ने सहभागिहरुले बताएका थिए । कार्यक्रममा शारिरीक अपांगता भएका धर्म अधिकारी, सन्तोष ओझा, नारायण परियार, यम कुमार राइ लगायतले अति र पूर्ण अशक्त अपांगता भएका व्यक्तिहरुको व्यक्तिगत सहयोगि, उनिहरुको उचित स्याहार र हेरचाहको विषय गम्भिर बन्दिन आग्रह गरेका थिए ।
व्यास नगरपालिकाले जिल्लाका अन्य स्थानीय तहसंग सहकार्य गरी एकिकृत स्याहार गृहको सञ्चालन गर्नुपर्ने सहभागिहरुले आग्रह गरेका थिए। कार्यक्रममा अधिवक्ता विष्णु खनालले अपांगता भएका बालाबालिकाको शिक्षामा पहुँच हुन नसकेको प्रति स्थानीय सरकारलाई गम्भिर हुन सुझाएका थिए ।
व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेेले अपांगता भएका व्यक्तिहरको शिक्षा, स्वास्थ्य र सहायक सामाग्रीको उचित व्यवस्थापन नगरपालिकाले गर्ने बताउँदै योजनामा महिला र युवा स्वरोजगारलाई विशेष प्राथमिकता दिनुपर्ने बताए ।
रिसेडका अध्यक्ष पदमबहादुर परियारको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख इन्दिरा दरैले अपांगता भएका व्यक्तिहरुको सवालमा स्थानीय तहको उपप्रमुख नै संयोजक रहने भएकाले यस क्षेत्रका मागलाई सम्बोधन गर्न आफ्नो ठाउँबाट सक्दो भूमिका खेल्ने बताइन् ।










