आँवुखैरेनीमा पढ्दै कमाउँदै कार्यक्रम : विद्यार्थीले रोपे अदुवा र हलेदो
भञ्ज्याङ न्यूज

तनहुँको आँवुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सीपयुक्त र व्यवहारिक शिक्षा प्रदान गर्न पढ्दै कमाउँदै कार्यक्रम अगाडि ल्याएको छ । पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत गाउँपालिकाको वडा नं. ४ आमडाँडावेशी स्थित चण्डेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई अदुवा र हलेदो खेतीको प्रत्यक्ष सहभागिता मुलक शिक्षा प्रदान गरिएको छ ।
विद्यालयले गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको सहभागितामा आइतबार विद्यालय पोशाकमै विद्यार्थीहरुलाई अदुवा र हलेदोको विऊ रोप्ने कार्यमा सहभागि गराएको छ ।
विद्यालय पोशाकमै विद्यार्थीहरु निकै उत्साहका साथ सहभागि भएका थिए । विद्यार्थीहरु कोही बारी खन्दै गरेका, कोही जोत्दै गरेका र कोही अदुवा र हलेदोको बिउ छुट्टाउँदै गरेको दृष्य निकै आकर्षक देखएकिो थियो ।

गाउँपालिकाले ‘पढ्दै कमाउदै कार्यक्रम’ अन्तर्गत विद्यालयले विद्यार्थीहरुलाई उक्त कार्यमा सहभागि गराएको विद्यालयका प्रधानाध्यापक कुवेर ढकालले बताए।
विद्यार्थीहरुसंगै गाउँपालिकाका अध्यक्ष शुक्र चुमान समेत सहभागि भएका थिए । उनि पनि विद्यार्थीसंगै अदुवा र हलेदोको बिउ छुट्टाउदै र बारीमा खनजोत गरी विऊ रोप्ने काममा सहभागि भएका थिए।
अध्यक्ष चुमानले भने, ‘विद्यालयस्तरका बालबालिकाहरुलाई सीपयुक्त शिक्षा प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्यले पढ्दै र कमाउँदै कार्यक्रम अगाडि ल्याएका छौं । यो कार्यक्रमले पक्कै पनि शिक्षित युवाहरु वेरोजगार बन्नुपर्दैन होला ।’

‘विद्यार्थीहरुलाई सीपयुक्त र आत्मनिर्भर बन्ने शिक्षा दिनुपर्छ’, उनले भने, ‘सकिन्छ भन्ने दृढ इच्छाशक्तिका साथ शिक्षालाई सीपसंग, सीपलाई श्रमसंग, श्रमलाई उत्पादनसंग र उत्पादनलाई बजारसंग जोडी सीपयुक्त एवं स्वावलम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्य लिएका छौ ।’
यस कार्यक्रम अन्तर्गत करिब २ रोपनी क्षेत्रफलमा १७५ किलोग्राम अदुवा र १६५ किलोग्राम हलेदो रोपिएको विद्यालयका प्रधानाध्यापक ढकालले बताए ।

पालिका अन्तर्गतका अन्य विद्यालयहरुमा पनि उपलब्ध जग्गा, विद्यालय तथा अभिभावकको माग तथा कृषि शाखा प्रमुखको अध्ययन प्रतिवेदन बमोजिम यस्ता खाले कार्यक्रम क्रमशः सञ्चालन गर्ने योजना गाउँपालिकाले बनाएका छन् ।
उक्त कार्यक्रममा वडा नं. ४ की वडाअध्यक्ष मिलन भुजेल, गाउँपालिकाका कृषि विकास शाखाका कर्मचारीहरु, व्यवस्थापन समितिका सदस्यहरुको समेत सहभागिता रहेको थियो ।










