व्यास र ऋषिङ जोड्ने सेतीनदीको सोंडे पुल उद्घाटन

व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदी माथि निर्मित पक्की पुलको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मंगलबार उद्घाटन गरेका छन् । पुलको उद्घाटन गर्दै नेता पौडेलले गण्डकी प्रदेशको पहाड र तर्राई भाग जोड्ने रणनीतिक महत्वको पुल रहेको चर्चा गरे ।
व्यास-१३ सोंडे र ऋषिङ-१ तल्लो कोइदिम जोड्ने सेतीमाथि निर्मित पुलले पछि परेको क्षेत्रलाई विकासमा अघि बढाउन मद्दत पुग्ने नेता पौडेलले विश्वास व्यक्त गरे । आफैंले शिलान्याश गरेर उद्घाटन गर्न पाएको भन्दै पौडेलले खुशी व्यक्त गरे । उनले कम्युनिष्टलाई पञ्चायती शैलीको संज्ञा दिंदै भ्रष्टाचारबाट नेताहरुले कम्युनिष्ट खाएको आरोप लगाए।
ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्यद्वय डोवाटे विक र सरिता गुरुङ, जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्ले र उप प्रमुख पवित्रा पौडेल, व्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गीरबहादुर थापा लगायतले आ-आफ्नो विचार व्यक्त गरेका थिए ।
राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा. जगदिशचन्द्र पोख्रेलले प्रदेशभित्रैबाट पहाड र तर्राई मधेशसम्म जोड्ने रणनीतिक महत्वको पुलका रुपमा पुललाई व्याख्या गरेका थिए । सो पुलबाट ऋषिङबाट देवघाट हुँदै नवलपरासीको गैंडाकोटसम्म पुग्न सकिने बताइन्छ । गैर सरकारी संस्था समन्वय समिति तनहुँका अध्यक्ष प्रतापसिं गुरुङले प्रदेशभित्रैबाट सीमासम्म जोड्नका लागि पुलको भूमिका महत्वपूर्ण हुने बताए ।
एक सय ५ मिटर लम्बाईको पुल १० करोड ७१ लाख २ सय ७८ रुपैयाँको लागतमा निर्माण सम्पन्न पुलको एड्भेन्चर कन्स्ट्रक्सन भरतपुरले निर्माण सम्पन्न गरेको हो । विगतमा एक पटक बाढीमा भत्केको पुल दोश्रो पटक निर्माण गरिएको हो । तर यसपाली लक डाउनकै बीचमा पनि काम गरेर निर्माण सम्पन्न गरेको निर्माण कम्पनीका सञ्चालक मोतिलाल शर्माले बताए ।










