गण्डकीका मुख्यमन्त्रीले अस्पतालमा बुबाको नाम जोडे, शिलान्यास बाहेकको काम गरेनन्
सविन लामिछाने/भञ्ज्याङ

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्ना बुबाको नाममा बनाउन लागेको आँखा उपचार तथा अनुसन्धान केन्द्रको भवन शिलान्यास गरेको ८ महिना बितिसके पनि निर्माण कार्य सुरु भएको छैन ।
उनले टेन्डर आहृवानसमेत नगरि गत कात्तिक १६ गते गोवर्द्धन शर्मा मेमोरियल आँखा उपचार केन्द्र तथा अनुसन्धान केन्द्रको शिलान्यास गरेका थिए ।
संघीय सरकार मातहत रहेको पशु सेवा विज्ञ केन्द्र तनहुँ र भेटेरिनरी अस्पतालको स्वामित्वमा रहेको जग्गामा आँखा उपचार केन्द्र तथा अनुसन्धन केन्द्रको भवन निर्माणको शिलान्यास गरेका थिए। भवन निर्माण र पूर्वधार खरिदको लागि छुटाइएको डेढ करोड रुपैयाँ समयमा निकासा नहुँदा निर्माणमा ढिलाइ भएको दमौली अस्पताल विकास समितिका अध्यक्ष देवेन्द्र थापाले जानकारी दिए ।
‘हावा तालमा भवन शिलान्यास भयो, पछि बजेट छुटाइयो तर विनियोजनमा ढिलाइ गरियो । कृषि केन्द्रले प्राप्त जग्गा नदिँदा पनि निर्माण कार्यमा समस्या भएको हो’, थापाले भने, ‘ज्ञान केन्द्रले ३ रोपनी ७ आना मात्र जग्गा दिन सक्ने बताएको छ, अब कसरी निर्माण गर्ने प्रयाप्त जग्गा नहुँदा निर्माण हुन सकेन ।’
दमौली अस्पताल मातहत रहेको अनुसन्धान केन्द्रको भवन शिलान्यास गरिएको जग्गा भने साविक जिल्ला पशु सेवा कार्यालयको नाममा छ । दमौली अस्पतालमा सञ्चालनमा रहेको आँखा उपचार केन्द्रको नाम परिवर्तन गरि मुख्यमन्त्री पोख्रेलका बुवा गोवर्द्धनको नाममा आँखा अनुसन्धान केन्द्रको नामकरण गरिएको थियो ।
केन्द्रमा हालसम्म थप प्रविधि तथा उपकरण भने नभित्रिएको अध्यक्ष थापाले बताए। उनले भने, ‘म अध्यक्ष हुनु भन्दा पहिलै नामकरण गरिएको थियो । अहिलेसम्म कुनै थप उपकरण आएको छैन ।’
अस्पतालमै रहेको पुरानो उपकरण र जनशक्तिले केन्द्र चलाइएको उनले बताए। अस्पताल विकास समितिका निर्वतमान अध्यक्ष प्रदीप अधिकारीले पद र शक्तिको आडमा समितिलाई जानकारी नदिइ अस्पतालमा आफनो बुबाको नाम जोडेको आरोप लगाए । उनले भने, ‘अस्पताललाई आवश्यक परेको जनशक्ति पूर्वधार ल्याउनु पर्ने बेला आफनो बुबाको नामबाट नामकरण गरेका छन् ।’
दमौली अस्पतालको स्तरवृद्धिका लागि नगरपालिकाले कृषि ज्ञान केन्द्रको जग्गा प्रदेश सरकारसँग दमौली अस्पतालको स्वामित्वमा उपलब्ध गराइदिन माग गर्दै आए पनि हालसम्म स्वामित्व हस्तान्तरण हुन सकेको छैन ।










