अलपत्र बनेको व्यास पराशर उद्यानको स्वमित्व नगरपालिकालाई हस्तान्तरण
भञ्ज्याङन्यूज
तनहुँको व्यास नगरपालिका-५ मादी र सेतीको संगमस्थलमा करिब ३ करोड रुपैयाँ खर्चिएर बनाइएको व्यास पराशर उद्यान (पार्क) अलपत्र अवस्थामा छ । पार्क निर्माण पश्चात त्यसको संरक्षण नहुँदा बनाइएका संरचना भग्नावशेष अवस्थामा पुगेका छन् ।
सहरी विकास मन्त्रालयमार्फ निर्माण सम्पन्न भएको उक्त पार्कको स्वमित्व नगरपालिकालाई हस्तान्तरण गरिएको छ । सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ कास्कीले निर्माण गरेको उक्त पार्क सोमबार नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र वडाध्यक्ष विष्णुकुमार श्रेष्ठको उपस्थितिमा आयोजना कार्यान्वयन एकाइ प्रमुख सरोज पौडेलले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीलाई उक्त पार्कको कागजपत्र हस्तान्तरण गरेका थिए ।

उक्त ठाउँलाई धार्मिक पर्यटकीयस्थल बनाउने उद्देश्यसहित विसं २०७६ वैशाखमा पार्क निर्माणको काम थालनी भएको थियो । उक्त पार्कको लागत २ करोड ९६ लाख ७० हजार २०८ रुपैयाँ रहेको छ ।
लामो समयदेखि पार्क स्थानीय तहलाई हस्तान्तरण नहुँदा बेवारिसे अवस्थामा पुगेको थियो । नगरपालिकालाई पार्क हस्तान्तरण भएसँगै नगरपालिकाले अब यसको संरक्षणमा ध्यान दिने नगरप्रमुख न्यौपानेले बताए ।
संरक्षणको अभावमा पार्कभित्रका संरचना भत्किन थालेका छन् । प्राविधिक कारणले पार्क हस्तान्तरण गर्न ढिलाइ भएको इकाइ प्रमुख पौडेलले बताएका छन् ।
पार्कभित्र वनभोजस्थल, पौडीपोखरी, माछापोखरी, मत्स्यकन्याको सालिक, बास्केटबल कोर्ट, प्रतिक्षालय, पार्किङस्थल लगायतका संरचना निर्माण गरिएका छन् ।

व्यास र पराशर ऋषिको जन्म एवं तपोभूमिमा निर्माण भएको पार्कलाई पर्यटकीय आकर्षणको केन्द्र बनाइने वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए । उनले पार्क अब नगरपालिकाको मातहतमा आएको छ, यसको संरक्षण गर्दै यसलाई धार्मिक पर्यटनकीय गन्तव्यका रुपमा विकास गर्ने बताए ।
‘हिन्दू धर्म, परम्परा, सनातन धर्मसँग सम्बन्धित पराशर र व्यास ऋषिको जन्मस्थल र तपोभूमि यस ठाउँ भएको हुनाले त्यसलाई प्रवर्द्धन गर्दै व्यवस्थित बनाउने योजनामा नगरपालिकाका रहेको छ’, वडा अध्यक्ष श्रेष्ठले भने, ‘पार्क आन्तरिक तथा बाहृय पर्यटकलाई आकर्षा गर्दै आयआर्जनको माध्यमसमेत बन्नेछ ।’

‘पवित्र धार्मिक तीर्थस्थल व्यास र पराशर आश्रमको आश्रम नजिकै पार्क रहेकाले पार्कले आन्तरिक पर्यटकलाई दमौलीमै घुम्ने वातावरण सिर्जना हुनेछ’, उनले भने, ‘पार्कले यस वडालाई मात्रै नभएर व्यास परासर क्षेत्र तथा सिङ्गो तनहुँ जिल्लाको पर्यटन प्रवर्द्धनका लागि पनि भूमिका खेल्नेछ ।’










