देवघाटमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी ढोडेनीले जित्यो
भञ्ज्याङ न्यूज/देवघाट

तनहुँको देवघाट गाउँपालिका-१ गोपिटारमा श्रीपञ्चमीको अवसरमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी ढोडेनी युवा क्लवले जितेको छ । गोपिटार युवा क्लबद्वारा आयोजित उक्त प्रतियोगिताको फाइनल खेलमा आयोजक गोपिटार युवा क्लबलाई सोझो सेटमा पछि पार्दै ढोडेनीले उपाधी जित्न सफल भएको हो ।

पाचौं दिनसम्म सञ्चालन भएको प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम हुने ढोडेनी युवा क्लबले नगद ३० हजार, द्धितीय हुने गोपिटार युवा क्लबलाई नगद २० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो । यस्तै, प्रतियोगितामा तृतीय हुने कालिकाटार युवा क्लबलाई १० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक अर्जुन गुरुङले बताए ।

प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाले खेलकुद क्षेत्रका सबै खेलहरुले मानिसको मानसिक र शारीरिक स्वास्थ्य र तन्दुरुस्त राख्न महत्वपूर्ण भुमिका खेल्ने बताए । उनले दुर्व्यसनीको कुलतमा लागेका युवालाई पनि खेलकुदले सही मार्गतिर डोर्याउन सक्ने हुँदा खुलकुदको क्षेत्रलाई विकास गरी सबैलाई आवद्ध गर्न युवाहरु नै जागरुक हुनुपर्ने बताए ।

क्लवका अध्यक्ष रुमकुमार गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा देवघाट-१ का वडा अध्यक्ष भिम बहादुर गुरुङ, नेपाली कांग्रेसका जिल्ला सदस्य खम्बासिङ्ग राना, देवघाट-१ का नेकपा पार्टी इन्चार्ज मणीराज गुरुङ, देवघाट-५ का युवा अर्जुन अधिकारी, देवघाट गाउँपालिका अनेमा संघका सचिव जुलिमायाँ सारुमागर, देवघाट-१ का नेकपा अध्यक्ष थम बहादुर झयारिमगर, देवघाट-१ का नेपाली काग्रेस पार्टी सभापति मुक्ति थापामगर, स्थानीय सुर्रर््य गुरुङ लगायले खेल क्षेत्रको विकासका लागि ध्यान दिनुपर्ने जोड दिएका थिए ।












