दमौलीमा सर्वाधिक पुरस्कार राशिको प्रथम मेयर कप हुने
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ व्यास नगरपालिकामा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रथम मेयर कप फुटबल प्रतियोगिता गरिने भएको छ । व्यास-४ स्थित सितल चोक युथ क्लबले यही भदौ ८ गतेबाट प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
प्रतियोगितामा विजेता हुने टिमलाई २ लाख २ हजार २२२ नगदसँगै ट्रफी मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गर्ने आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । प्रतियोगितामा दोस्रो हुने टीमले नगद १ लाख १ हजार १११ नगदसँगै ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक राजेश मल्लले बताए ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, र्सवाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई जनही नगद ७ हजार ५०० का साथै ट्रफि, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने भएको छ । साथै क्वाटर फाइनल खेलदेखि म्यान अफ दी म्याच घोषित गरी नगद १ हजारले पुरस्कृत गरिने अध्यक्ष मल्लले बताए ।
खेलको माध्यमबाट आन्तरिक पर्यटनलाई व्यास क्षेत्रमा भित्र्याने उद्देश्य समेत राखेर मेयर कप आयोजना गरिएको क्लबका सचिवालय व्यवस्थापन समितिका संयोजक माधव न्यौपानेले बताए ।
विविध कारणले खेल क्षेत्र सुस्ताइरहेको बेला खेल र खेलाडीलाई प्रोत्साहन गर्न पनि सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता आयोजना गरिएको न्यौपानेले बताए । प्रतियोगिताका लागि हालसम्म २९ टिमले दर्ता गराइ सकेका छन् ।
तनहुँको अतिरिक्ति काठमाडौं, धादिङ, स्याङ्जा, कास्की, लगायतका ठाउँबाट टिम दर्ता गराइएको संयोजक मल्लले बताए । प्रतियोगितको लागि भदौ ७ गतेसम्म टिम दर्ता खुल्ला रहने बताइएको छ । टिम दर्ताको लागि ७ हजार ५ सय शुल्क तोकिएको आर्थिक उपसमितिका संयोजक दुर्गाराज थापाले बताए ।
प्रतियोगिताका लागि आवश्यक संरचना तयार पार्ने, खेल मैदानको अवस्था सुधार, प्रचारप्रसार, टीम दर्ता लगायतका तयारी कार्य अगाडि बढी सकेको सचिवालय संयोजक न्यौपानेले बताए । २६ वटा उपसमिति र ४ सदस्यीय सल्लाहकार समिगि गठन गरी कार्य विभाजन गरेर प्रतियोगिताको तयारी भइरहेको उनले बताए ।
हरितालिका तीजको अवसर पारेर आयोजना गरिएको उक्त मेयर कप सेभेन ए साइड फुटलब प्रतियोगितामा देशभरका खेलप्रमी युवाहरुको सहभागीता रहने आयोजकले विश्वास लिएको छ ।
व्यास-३ स्थित विपि बनबाटिकामा १४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगताको ११ लाख बराबरको अनुमानित लागत रहेको आयोजक क्लवले जनाएको छ । प्रतियोगिताबाट बचत भएको खण्डमा खेलकुद क्षेत्रको बिकासमा लगानी गर्ने आयोजकले जनाएको छ ।










