तनहुँको घिरिङमा खोला थुनेर कृत्रिम ताल बनाइँदै

तनहुँको घिरिङ गाउँपालिका–३ मा खोला थुनेर ताल निर्माण सुरु गरिएको छ । उक्त ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित गाउँपालिकाले खोला थुनेर कृत्रिम ताल निर्माण सुरु गरेको हो । कृत्रिम ताल निर्माणका लागि गाउँपालिकाले गत वर्ष नै डिपिआर तयार गरेको थियो ।

टेण्डर प्रक्रियामार्फत गोफाखोला थुनेर ताल बनाउने काम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले जानकारी दिनुभयो । डिपिआरअनुसार ताल निर्माणका लागि करिब रु १३ करोड बजेट अनुमान गरिएको छ । पर्याप्त बजेट नभएकाले वर्षेनी बजेट विनियोजन गरेर ताल निर्माण गरिने बताइएको छ ।

ताल निर्माणका लागि हालसम्म रु तीन करोड ३३ लाख बजेट विनियोजन गरिएको छ । आर्थिक वर्ष २०७७/७८ मा गण्डकी प्रदेश सरकारबाट रु एक करोड, चालू आर्थिक वर्षमा रु ८० लाख, आर्थिक वर्ष २०७७/७८ मा गाउँपालिकाबाट रु एक करोड र चालू आर्थिक वर्षमा गाउँपालिकाबाट रु ५३ लाख बजेट विनियोजन गरिएको छ ।

चालू आवमा रु ९९ लाख ८१ हजार २५६ को काम हुनेछ । विसं २०७९ असार १५ गतेभित्र काम सम्पन्न गर्नेगरी सम्झौता गरिएको गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले जानकारी दिनुभयो । “बजेट अभावका कारण चार/पाँच वर्षभित्र ताल निर्माणको काम सम्पन्न हुने अनुमान गरिएको छ, पर्याप्त बजेट नभएकाले वर्षेनी बजेट राखेर काम अगाडि बढाउँछौँ”, श्रेष्ठले भन्नुभयो । उनासी रोपनी क्षेत्रफलमा ताल निर्माण गर्ने योजना छ । ताल वरपर पूर्वाधार निर्माणका लागि गाउँपालिकाले गत आवमा रु ३० लाख बजेट विनियोजन गरेको थियो ।

उक्त बजेटले ताल निर्माण हुने गोफा खोलाको चारैतर्फबाट मोटरबाटो पु¥याइएको छ । “यहाँका बासिन्दा बसाइँसराइ सरेर अन्यत्रै गएका छन्, गाउँबस्ती रित्तो हुनेक्रम बढ्दो छ, ताल निर्माणपछि गाउँ छाडेका मानिस फिर्ता हुने विश्वास गरेका छौँ”, गाउँपालिकाका अध्यक्ष रानाले भन्नुभयो । गाउँपालिकाले खोला वरपरको ४५ रोपनी जग्गा अधिग्रहण गर्नेछ ।

गाउँपालिका अध्यक्ष रानाका अनुसार उक्त जग्गाको रोपनीको रु एक लाखका दरले मुआब्जा दिने सहमति भएको छ । “मुआब्जा दिएपछि जग्गा गाउँपालिकाको हुने र तालबाट हुने आम्दानी गाउँपालिकाले प्रयोग गर्नेछ”, उहाँले भन्नुभयो ।

घुमाउने ताल नामकरण गरिएको तालका बीचमा मन्दिर बनाउने योजना बनाइएको छ । “डुङ्गा चढेर तालका बीचमा रहने मन्दिरमा सर्वसाधारणले दर्शन गर्न सक्नेछन्, उक्त ताललाई पोखराको फेवाताल जस्तै गरि विकास गरिनेछ”, अध्यक्ष रानाले भन्नुभयो । उहाँका अनुसार ताल वरपरका क्षेत्रमा रेष्टुरेन्ट, वनभोजस्थल लगायतका पूर्वाधार निर्माण गरिने छन् ।

गाउँपालिकामा प्राकृतिक पुल, तालैताल, चौबिसे राज्यअन्तर्गतको घिरिङकोट दरबारलगायत पर्यटकीयस्थल छन् । घिरिङकोट दरबारमा दृश्यावलोकन स्तम्भ निर्माण गर्ने योजना गाउँपालिकाले अगाडि सारेको छ । घिरिङकोट दरबारबाट तनहुँका साथै स्याङ्जा, कास्की, पाल्पा, गोरखा, लमजुङका केही भूभाग अवलोकन गर्न सकिन्छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker