गाउँमै अल्ट्रासाउन्ड सेवा, गर्भवती महिलालाई सहज

दमौली : ग्रामीण तथा दुर्गम क्षेत्रका गर्भवती महिलालाई स्थानीय स्तरमै अल्ट्रासाउन्ड सेवा उपलब्ध हुन थालेपछि गर्भावस्थाको स्वास्थ्य परीक्षण सहज बन्दै गएको छ । टाढाका स्वास्थ्य संस्थामा पुगेर अल्ट्रासाउन्ड गराउनुपर्ने बाध्यता हटाउँदै तनहुँको व्यास नगरपालिका–९ स्थित गजुरे स्वास्थ्य चौकीबाट ग्रामीण अल्ट्रासाउन्ड सेवा सञ्चालन गरिएको छ ।

गजुरे स्वास्थ्य चौकीमा सेवा सुरु भएपछि स्थानीय तथा आसपासका ग्रामीण क्षेत्रका गर्भवती महिलाले नियमित स्वास्थ्य परीक्षणका लागि टाढा जानुपर्ने अवस्था कम भएको छ । स्वास्थ्यकर्मीका अनुसार अल्ट्रासाउन्डबाट गर्भावस्थाको अवस्था, गर्भमा रहेको शिशुको विकास तथा सम्भावित जटिलता समयमै पहिचान गर्न सकिने भएकाले सेवा प्रभावकारी बन्दै गएको छ ।

स्वास्थ्य चौकीको सर्वाजनिक तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/०८३ मा २० वर्षमुनिका २० जना र २० वर्षमाथिका १३८ जना गरी १५८ जना गर्भवती महिलाले ग्रामीण अल्ट्रासाउन्ड सेवा लिएका थिए । चालु आर्थिक वर्ष २०८३/०८४ मा हालसम्म थप २७ जना गर्भवती महिलाले सेवा लिइसकेका छन् ।

गजुरे स्वास्थ्य चौकीमा सिनियर अनमी नर्सिङ कर्मचारी अञ्जु भुजेलले ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रदान गर्दै आएकी छन् । स्थानीय स्वास्थ्य संस्थामै अल्ट्रासाउन्ड सेवा उपलब्ध भएपछि गर्भवती महिलाको नियमित परीक्षणसँगै गर्भावस्थामा देखिन सक्ने समस्या पहिचानमा समेत सहयोग पुगेको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

अल्ट्रासाउन्डका माध्यमबाट गर्भमा रहेको शिशुको विकासको अवस्था हेर्नुका साथै गर्भावस्थामा देखिन सक्ने विभिन्न सम्भावित जटिलताको प्रारम्भिक पहिचान गर्न सकिन्छ । जटिलता देखिएमा समयमै थप परीक्षण, उपचार वा विशेषज्ञ सेवाका लागि सिफारिस गर्न सहज हुने स्वास्थ्यकर्मी बताउँछन् ।

व्यास नगरपालिका स्वास्थ्य तथा जनसंख्या शाखा प्रमुख प्रमोद सोतीले ग्रामीण क्षेत्रमा गर्भवती महिलाका लागि स्थानीय स्तरमै अल्ट्रासाउन्ड सेवा उपलब्ध हुनु महत्वपूर्ण उपलब्धि भएको बताए ।

‘स्थानीय स्वास्थ्य संस्थामै सेवा उपलब्ध हुँदा गर्भवती महिलालाई स्वास्थ्य परीक्षणका लागि टाढा जानुपर्ने बाध्यता कम भएको छ’, उनले भने, ‘समयमै स्वास्थ्य अवस्था पहिचान गरी आवश्यक परे थप उपचार तथा विशेषज्ञ सेवाका लागि सिफारिस गर्न पनि ग्रामीण अल्ट्रासाउन्ड सेवा उपयोगी बनेको छ ।’

ग्रामीण तथा दुर्गम क्षेत्रका महिलाले गर्भावस्थामा आवश्यक स्वास्थ्य परीक्षणका लागि लामो दूरी तय गर्नुपर्ने अवस्था अन्त्य गर्दै स्थानीय स्वास्थ्य संस्थाबाटै गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले ग्रामीण अल्ट्रासाउन्ड सेवा सञ्चालन गरिएको हो ।

स्थानीय स्तरमै सेवा उपलब्ध हुँदा आर्थिक अवस्था कमजोर भएका तथा यातायातको सहज पहुँच नभएका गर्भवती महिलालाई विशेष राहत पुगेको छ । नियमित गर्भ जाँचसँगै आवश्यकताअनुसार अल्ट्रासाउन्ड सेवा लिन पाउने भएपछि मातृ तथा शिशु स्वास्थ्य सुरक्षामा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker