कृषि तथा आवासीय जग्गा वर्गीकरण विषयक अन्तरक्रिया
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाको घर, नक्सा शाखाले व्यास-१४ को केशवटारमा कृषि तथा आवासीय जग्गा वर्गीकरण विषयक अन्तरक्रिया गरेको छ । स्थानीय जनप्रतिनिधी, कर्मचारी र टोल अध्यक्ष सहभागितामा कृषि र आवासीय जग्गा वर्गीकरणका विषयमा अन्तरक्रिया गरिएको हो।
वडाध्यक्ष काजीमान श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा व्यास नगरपालिकाका इन्जिनियर अमृत केसीले सरकारले अगाडि ल्याएको कार्यक्रमको महत्व र आवश्यकताका विषयमा सहजिकरण गरेका थिए ।
स्थानीय भु-उपयोग कार्यन्वयन समिति, भु उपयोग ऐन २०७६ र नियमावली २०७९ मा भएको व्यवस्था अनुसार भुमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालय र मालपोत कार्यलय तनहुँको सार्वजनिक सुचना अनुसार कार्यक्रम अगाडी बढाइएको सहभागिलाई जानकारी गराइएको थियो ।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले जग्गाको वर्गीकरणको आवश्यकता र यसको महत्वको विषयमा जिज्ञासा राखेको थिए । कार्यक्रममा नगरकार्यकारीणी सदस्य नरिमाया राना, वडासदस्यहरु दुर्गा वहादुर आले, होम लाल थापा, कृष्णमाया सुनार, राजनैतिक दलका वडातहका नेतृत्व, टोल विकास संस्थाको पदाधिकारी, र स्थानीयको सहभागिता रहेको थियो ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले घर नक्साको वर्गीकरण अपरिहार्यता भएको हुँदा समयमा नै दर्ता अभियानमा सरिक भई लाभ लिन वडाबासिलाई आग्रह गरेका थिए। जग्गाको वर्गीकरण नहुँदा यसले आम जनजीविकामा प्रत्यक्ष असर पारेको बताउँदै उनले यस कार्यलाई पुर्णता पाएसँगै आम जनताले लाभ लिने अध्यक्ष श्रेष्ठले बताए ।










