दमौलीमा पापडको प्रदर्शन : संविधानको रक्षा गरौं, लोकतान्त्रिक गणतन्त्रको संरक्षण गरौं

दमौली : शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)ले शुक्रबार साँझ दमौलीमा संवैधानिक प्रक्रियाबाट देशलाई निकास दिन सुझाउदै शान्तिपूर्ण प्रदर्शन गरेको छ ।
दमौलीको अनशनचौतारीबाट सुरु भएको शान्तिपूर्ण ¥याली सफासडक हुँदै ट्राफिकचोक पुगेर पुनः अनशनचौतारी आएर टुङ्गिएको थियो ।
पापडले जेनजी आन्दोलनपछि आएको राज्यविहीनताको अवस्थालाई समाधान गर्न अन्योलता देखिएको उल्लेख गरेको छ । उनीहरूले ‘संविधानको रक्षा गरौं, लोकतान्त्रिक गणतान्त्रिक गणतन्त्रको संरक्षण गरौं’, ‘संविधान बचाऔं, देश जोगाऔं’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

जेनजी आन्दोलनपछि राज्यविहिनताको अवस्था आएको र यसको समाधानका लागि अन्योलता देखिएको बताउँदै पापडले प्रदर्शन गरेको हो ।
मुलुकका विभिन्न पक्षले लामो संघर्ष गरेपछि लोकतन्त्र, गणतन्त्र, संघीयता र समावेशी जस्ता उपलब्धी हासिल गरेको भन्दै उनीहरुले कुनै पनि बाहनामा तिनीमाथि सम्झौता गर्न नसकिने औल्याइएको छ ।
सुशासनयुक्त र भ्रष्टाचारमुक्त समाज बनाउने युवाको माग सम्बोधन हुनुपर्ने भन्दै उनीहरुले मुलुकलाई भूराजनीतिक चपेटाबाट जोगाउन पनि माग गरेका छन् ।











