अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा व्यासगुफा-तनहुँसुर महिला हाफ म्याराथन प्रतियोगिता हुने

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजना गरेको व्यासगुफादेखि तनहुँसुरसम्म महिला हाफ म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।

खेलकुदको माध्यमबाट पर्यटकीय ठाउँको प्रचारप्रसार गर्ने उद्देश्यसहित व्यास नगरपालिका-३ व्यासगुफादेखि व्यास नगरपालिका-११ तनहुँसुरसम्म फागुन २४ गते महिला हाफ म्याराथन प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगिता सञ्चालनका लागि उपप्रमुख इन्दिरा दरैको अध्यक्षतामा आयोजक समिति गठन गरिएको छ । प्रतियोगिताका लागि आवश्यक तयारी पूरा भएको उनले बताए । गत वर्ष आयोजित महिला म्याराथनमा ४४ धावक सहभागी थिए ।

महिलामा पनि पुरुष सरह आँट छ भन्ने सन्देश दिन महिला हाफ प्रतियोगिता आयोजना गरिएको उपप्रमुख दरैले बताइन । प्रतियोगितामा प्रथम हुनेलाई रु ४१ हजार ७९, द्वितीय हुनेलाई रु ३१ हजार ७९, तृतीय हुनेलाई रु २१ हजार ७९ र सान्त्वना हुने तीन जनालाई जनही रु ११ हजार ७९ का दरले पुरस्कृति गरिने भएको छ । गत वर्षआयोजित प्रतियोगितामा प्रथमलाई रु ४१ हजार ७८, द्वितीयलाई रु ३१ हजार ७८, तृतीयलाई रु २१ हजार ७८ र सान्त्वना हुने पाँच जनालाई रु ११ हजार ७८ पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगितामा सहभागी हुन चाहनेले फागुन २३ गते दिउँसो १ बजेसम्म नाम दर्ता गराउनुपर्ने नगरपालिकाका शिक्षा शाखा अधिकृत नवीन पराजुलीले जानकारी दिनुभयो। नाम दर्ता गरेका धावकलाई सोही दिन दिउँसो २ बजे अभिमुखीकरण गराइनेछ ।

व्यास गुफादेखि अनशन चौतारी, दुर्गा मन्दिर, भोर्लेटार चोक, गणेशमान चोक, वन कार्यालय, सफा सडक हुँदै पृथ्वी राजमार्गको तालघरे, बाराहीरानी मार्गको रानी गाउँ, दरैपधेरा, पराजुलीचोक, पराशर मार्गको बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गङ्गलथोक, पत्यार चोक, चण्डिथान, गद्दीचौतारा हुँदै व्यास-११ स्थित ऐतिहासिक तनहुँसुरदरबारसम्म दौड हुनेछ । उक्त दूरी २१ किमीको रहनेछ । “धार्मिक रुपमा परिचित व्यासगुफा र ऐतिहासिकस्थलका रुपमा परिचित तनहुँसुरलाई खेलको माध्यमबाट जोड्ने उद्देश्यसहित म्याराथन गर्न लागेका हौँ”, उपप्रमुख दरैले बताइन ।

यस्तै, नगरपालिकाले खेलकुदलाई पर्यटनसँग जोडेर अगाडि बढेको छ । खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित नगरपालिकाले प्रत्येक वर्ष व्यास नगर अल्ट्रा म्याराथन र महिला हाफ म्याराथन गरिरहेको छ । नगरपालिकाले म्याराथनलाई पर्यटन प्रवर्द्धनसँग जोड्न खोजेको नगरप्रमुख वैकुण्ठ न्यौपाने बताए । मगर र गुरुङ गाउँलाई खेलकुदबाट जोडेर शहीद दिवसका अवसरमा मानुङदेखि पुलिमराङसम्म अल्ट्रा म्याराथन सम्पन्न भइसकेको छ । उनले भने, “व्यासको जन्मभूमि दमौली र ऐतिहासिकस्थल तनहुँसुरलाई खेलबाट जोड्न महिला म्याराथनले सहयोग पुग्ने विश्वास लिएका छौ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker