हिउँदयाम सुरु भएको खुसीयालीमा मुक्तिक्षेत्रमा ‘यार्तुङ’ आरम्भ

मुस्ताङ : वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सांस्कृतिक पर्व ‘यार्तुङ’ आरम्भ भएको छ । यहाँको वडा एक खिङ्गा गाउँबाट यस वर्षको ‘यार्तुङ’ पर्व थालिएको हो । सोमबार खिङ्गा गाउँका गाउँलेले यार्तुङ पर्व हर्षाेल्लासमय रूपमा मनाएका छन् ।

‘यारको अर्थ बर्खा’ र ‘तुङको अर्थ समाप्ति’ भन्ने बुझिन्छ । यसैका खातिर बर्खायाम सकिएको र हिउँदयाम सुरु भएको भन्दै खिङ्गा गाउँमा यार्तुङ पर्व मनाइएको हो । बर्खायाममा उवा र जाँैलगायतका अन्नबाली थन्क्याएर खेतबारीमा फापरबाली छरेपछि वारागुङ मुक्तिक्षेत्रमा ‘यार्तुङ’ पर्व मनाइने गरिन्छ । यार्तुङ पर्वका बेला यहाँका स्थानीय नागरिक फुर्सदिला हुन्छन् । यही फुर्सदिलो महिनामा धार्मिक तथा सांस्कृतिक पर्व यार्तुङ सदीयौँदेखि मनाइने गरिएको हो ।

यार्तुङ पर्वमा प्रकृति र विश्वशान्तिको कामना गरिने प्रचलन रहेको वारागुङ मुक्तिक्षेत्र–१ वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाभित्रका १९ वटा गाउँ र उपल्लो मुस्ताङमा फरकफरक तिथिमा यार्तुङ पर्व मनाइने गरिएको छ । खिङ्गा गाउँमा औपचारिक रूपमा यार्तुङ पर्व मनाउने क्रमको प्रारम्भ भएको उहाँले बताउनुभयो । खिङ्गाबाट सुरु भएको धार्मिक तथा सांस्कृतिक पर्व यार्तुङ त्यसपछि क्रमशः यहाँका सबै स्थानमा गुरुङ, विष्ट र लोवा समुदायले मनाउने प्रचलन छ ।

सोमबार खिङ्गा गाउँमा सबै घरका स्थानीय नागरिक समाजघरमा एकतृत भएका थिए । समाजघरमा जम्मा भएका स्थानीय गुरुङ समुदाय गाउँकै गुम्बामा सामूहिक रूपमा यार्तुङ पर्वको धार्मिक पूजापाठमा उपस्थित भए । गुम्बामा पुजारीद्वारा पूजापाठ सकेपछि पुनः समाजघरमा खानपान गरेर यार्तुङ पर्वको कार्यक्रममा सहभागी भएको वडाध्यक्ष गुरुङको भनाइ छ ।

स्थानीय पुरुष तथा महिलाको आफ्नो जातीय मौलिक वेशभूषा पहिरिएर मुक्तिनाथ मन्दिर र त्यहाँको नरसिंह गुम्बाको दर्शनमा निस्किएका थिए । अठार वर्षदेखि ६० वर्षसम्मका पुरुष तथा महिलाहरुले धार्मिक तथा सांस्कृतिक प्रचलनअनुसार यार्तुङ पर्वलाई आत्मसात् गर्दै खिङ्गा गाउँबाट मुक्तिनाथसम्मको यात्रा पूरा गरेका थिए । पुरुषहरू वेशभूषामा चिटिक्क सजिदै घोडामा सवार थिए भने महिला घोडाको अघिअघि स्थानीय भाषामा यार्तुङसम्बन्धी गीत गाउँदै मुक्तिनाथतर्फ लागेका थिए ।

महिलाले स्थानीय भाषामा गीत गाउँदै यार्तुङ पर्व आयो, यार्तुङमा सबैलाई राम्रो भयो, अनिष्ट भएन, प्रकृतिले साथ देओस र सबैतिर शान्ति छाओस् भन्ने कामना गरेको खिङ्गा गाउँकी स्थानीय सेर्केनी गुरुङले उल्लेख गर्नुभयो । यार्तुङमा गाइने स्थानीय भाषाको गीतलाई फेन्दुन छोकी रिला भन्ने गरिएको स्थानीय सेर्केनी गुरुङको भनाइ छ ।

यहाँको खिङ्गा गाउँबाट दर्जनौँ घोडाको लावालस्करसहित निस्किएको टोलीले मुक्तिनाथ मन्दिर र त्यहाँको गुम्बा दर्शन गरी पुराङ रानीपौवामा फर्किएको थियो । खिङ्गा गाउँका युवाले मुक्तिनाथस्थित पुराङ रानीपौवामा साहसिक रूपमा घोडा दौडाएका थिए । गाउँका पुजारीसहित निस्किएको यार्तुङ टोलीले रानीपौवामा स्थानीय स्याब्रो नाच र स्थानीय भाषाको गीत गाउँदै रमाइलो गरेका थिए ।

स्थानीय याङजुङ गुरुङले यार्तुङ पर्वमा घोडा चढेर मनाउनैपर्ने प्रचलन रहेको बताउनुभयो । “यार्तुङमा घोडा नचढेमा यार्तुङ पर्वको कुनै अर्थ हुँदैन, यार्तुङमा घोडा चढ्ने, तारा खेल्ने र स्थानीय सांस्कृतिक मौलिकता पस्किएरमात्र यार्तुङ पर्वको औचित्य हुने गुरुङले बताउनुभयो । यार्तुङ पर्वमा गाउँका पुजारीले भोजन गरेपछि मात्रै गाउँले भोजन गर्न पाउने सांस्कृतिक प्रचलन रहेको उहाँले उल्लेख गर्नुभयो ।

यहाँको खिङ्गा गाउँबाट मुक्तिनाथसम्मको करिब पाँच किलोमिटर दूरीमा घोडाका लस्कर निस्किएको थियो । घोडाको लस्कर निस्किँदा दुर्घटनाको जोखिम हुने भएकाले करिब एक घण्टा मुक्तिनाथ सडकमा सवारी चलाउन रोक लगाइएको थियो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker