दमौलीको बालमन्दिर माविमा निःशुल्क मुटु परीक्षण शिविर
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको दमौली स्थित बालमन्दिर माध्यमिक विद्यालयमा निःशुल्क मुटु परीक्षण स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । मुटु जोगाउँ काठमाडौं, सेभ द हर्ट तथा व्यास नगरपालिकाको संयुक्त आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हो ।
मगर समाज सुधार समिति, दमौली, रोटरी क्लव अफ दमौली, रोटर्याक्ट क्लब अफ दमौलीको सहकार्य रहेको शिविरमा नेपाल कार्डियो डायबिटिज एण्ड थाइराइड सेन्टरको प्राविधिक सहयोग रहेको छ ।
शिविरको पहिलो दिन ५ हजार ५९० जनाको मुटु परिक्षण गरी आवश्यक परामर्श र औषधी वितरण गरिएको रोटर्याक्ट क्लब अफ दमौलीका अध्यक्ष विशाल श्रेष्ठले जानकारी गराए । नगर क्षेत्रका विभिन्न विद्यालयका ४ हजार ६६६ जना बालबालिको मुटु परीक्षण गरी परामर्श दिइएको छ । त्यस्तै ५७९ महिला, ३४५ पुरुषले मुटु परीक्षण गराएका छन् । जसमा २२ जना ओपन हर्ट र्सजरी गर्नुपर्ने केस भेटीएको बताइएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराइको नेतृत्वमा विदेशी स्वास्थ्यकर्मी सहित १५ जनाको सहभागीतामा नगर क्षेत्रका बालबालिका, वृद्धवृद्धा र महिलाहरुको मुटु परीक्षण गरिएको हो । मुटु रोग सम्बन्धी निःशुल्क परामर्श, परीक्षण गरी आवश्यकता अनुसार औषधी वितरण गरिएको छ डा. भट्टराइले बताए ।
‘शिविरमा मुटुको भिडियो एक्सरे, इसिजी गर्ने, निःशुल्क औषधी वितरण तथा आवश्यक परामर्श दिइएको छ’, उनले भने, ‘अप्रेसन गर्नुपर्ने बिरामीलाई स्थानीय सरकारसँग सहकार्य गरी काठमाडौं लगेर बिरामीको अवस्था हेरी निःशुल्क रुपमा अप्रेसन समेत गरिने छ ।’
मुटु सम्बन्धी बिरामी, उच्च रक्तचापको औषधी सेबन गरेका बिरामी, जन्मजात मुटुको समस्या भएका बालबालिका, मुटुको शल्यक्रिया गरेका बिरामी, हृदयघात भएका बिरामीहरुलाई सेवा दिइने उद्देश्यले सेभ द हर्ट संस्था स्थापना गरिएको अध्यक्ष भट्टराइले बताए ।
संस्था मार्फत हालसम्म ११४ ठाउँमा निःशुल्क मुटु परीक्षण शिविर सञ्चालन गरी करिब एक लाख १५ हजार बढीलाई सेवा प्रवाह गरिएको छ । उनका अनुसार संस्थाका तर्फबाट हालसम्म करिव एक हजार बढी बिरामीको ओपन हार्ट सर्जरी गरिएको र नेपालमा उपचार सम्भव नभएका मुटु रोगीको विदेशमा पठाएर पनि उपचारमा सघाउदै आएको छ ।
नेपालमा विशेष गरी बालबालिकामा मुटु बाथ रोग देखिने गरेको डा. निरज भट्टराइले बताए । किटाणुको कारणले लाग्ने यस रोगले बालबालिका बढी प्रभावित हुने गरेको उनको भनाइ छ । उनले भने, ‘यो मानिसले आफ्नो जीवनकालमा आफैले निम्त्याएको इन्फेक्सन अर्थात् संक्रमण हो ।’
शिविरको शुभारम्भ गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिकाले हरेक वर्ष महिला, ज्येष्ठ नागरिक तथा बालबालिकालाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षणका शिविर सञ्चालन गर्दै आएको बताए । उनले भने, ‘सरकारले जटिल रोगका बिरामीहरुको उपचार निःशुल्क गर्ने व्यवस्था गरेपनि रोग लाग्नै नदिन व्यक्ति आफै सचेत हुनुपर्छ ।’










