भानुभक्त जन्मस्थलको संरक्षण र प्रवर्द्धन गर्ने दायित्व सबैको हो : मुख्यमन्त्री पाण्डे

भानु : तनहुँमा विविध कार्यक्रम गरी २१३औं भानु जन्मजयन्ती मनाइएको छ । भानु जन्मस्थल विकास समितिले सोमबार चुँदीरम्घामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यको जन्मस्थलको संरक्षण, प्रवर्द्धन र सम्वर्द्धन गर्ने दायित्व यहाँका स्थानीयका साथै तीनै तहका सरकारको भएको बताएका छन् ।
भानु जन्मस्थलको विकाससँगै भाषिक पर्यटनसँग जोड्नुपर्ने आवश्यकता औल्याउँदै मुख्यमन्त्री पाण्डेले भने, ‘आदिकवि भानुभक्तले नेपाली भाषामार्फत हामीलाई जोड्नुभयो । अब हामी विकास र समृद्धिमार्फत तनहुँका हरेक नागरिकलाई जोड्ने प्रण गरौँ । समय बित्दै जाँदा भानु उद्यान साहित्यिक केन्द्रको सान्दर्भिकता बढ्दै जान्छ भन्ने महसुस गरेको छु । अहिले मुलुकका लाखौँ युवा शिक्षा र रोजगारीका लागि विदेशिएका छन् । आगामी सयौँ वर्षपछि विदेशियाका नेपालीका सन्तति आफ्नो भाषा र साहित्यको पहिचान खोज्न यहीँ थलोमा आउनेछन् ।’
यसको महत्व जतिजति समय बढ्दै जान्छ उतिउति संसारभरि फैलिँदै जाने बताउँदै यसका लागि आपसी सहकार्य र समन्वयमार्फत अहिले त्यो जग खडा गर्नुपर्नेमा उनले जोड दिए । उनले भने, ‘भाषिक एकीकरण गर्ने व्यक्तित्वको जन्मस्थललाई साहित्यिक पर्यटनसँग जोडेर प्रवर्द्धन गर्न हामी सबै नेपाली एकजुट हुनुपर्छ ।’
कार्यक्रममा प्रतिनिधिसभाका सांसद श्रीराम न्यौपानेले आज पनि यस पवन जन्मभूमिमा उभिएर आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्नु मेरा लागि पारिवारिक गौरव र आत्मिक सौभाग्य भएको बताए । उनले भने, ‘आज असार २९ गते हामी नेपाली भाषा र साहित्यका अमर साधक आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाउन यहाँ एकत्रित भएका छौँ, यसले मलाई सोभाग्यमानी महसुस गराइरहेको छ ।’
सांसद न्यौपानेले तनहुँको समृद्धिका लागि सामूहिक प्रयासको आह्वान गरे । यसमा स्थानीय स्रोतसाधनको उपयोग, युवाहरूको सीप विकास तथा रोजगारी सिर्जना, कृषि, पर्यटन र भाषा, साहित्यको प्रवर्द्धनका साथै खानेपानी, सिँचाइ र सडकजस्ता पूर्वाधार आयोजनाहरू समावेश गरेर अगाडि बढ्नुपर्ने आवश्यकता आौल्याए ।
सांस्कृतिक तथा भौगोलिक रूपमा महत्व बोकेको तनहुँका समृद्ध सांस्कृतिक तथा भौगोलिक स्थलहरू जस्तै व्यास, देवघाट, बन्दिपुर, मनहुँकोट, छब्दी बाराही र ढोरबाराहीलाई प्रमुख सम्पदास्थलका रूपमा समावेश गरेर विकास र पर्यटन प्रवर्द्धन गरी जिल्लालाई समृद्ध बनाउन सकिने सांसद न्यौपानेले धारणा व्यक्त गरे । साथै, मस्र्याङ्दी, सेती, मादी र नारायणीजस्ता नदीले स्थानीय ऊर्जा, पर्यटन र विकासमा टेवा पु¥याउन सक्ने उनको भनाइ छ ।
भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले भावी पुस्ताका लागि भाषाको संरक्षण गरी आदिकवि भानुभक्तले भाषाका माध्यमबाट नेपालीहरूलाई एकताबद्ध गर्नुभएको बताए । साथै, लाखौँ नेपालीहरू विदेशिने क्रमसँगै अमेरिका, बेलायत र जापानजस्ता देशमा रहेका भावीपुस्ताले आफ्नो भाषिक र साहित्यिक जराको खोजी गर्ने भएकाले नेपाली सम्पदाको संरक्षणका लागि आजै बलियो आधार तयार पार्नु अपरिहार्य भएको उनले उल्लेख गरे ।










