पृथ्वीराजमार्गको जामुने-पोखरा खण्ड स्तरोन्नती : ८० प्रतिशत समय सकिदा १४ प्रतिशत भौतिक प्रगति

भञ्ज्याङ समाचारदाता/तनहुँ

पृथ्वीराजमार्गको मुग्लिन-पोखरा खण्डको स्तरोन्नती तथा विस्तार कार्य सञ्चालन भइरहेको छ । राजमार्ग अन्तर्गत आँवुखैरेनी-जामुनेलाई पूर्वीखण्ड र जामुने-पोखरा खण्डलाई पश्चिम खण्डमा विभाजन गरी दुइ चिनिया कम्पनीले सडक विस्तारको कामको जिम्मा लिएका छन्।

राजमार्गको पूर्वीखण्ड अन्तर्गत आँवुखैरेनी-जामुने खण्डमा केही सन्तोषजनक काम भएपनि पश्चिम खण्ड अन्तर्गत जामुने-पोखरा खण्डको कामले गति लिन सकेको छैन । पश्चिम खण्ड अन्तर्गत जामुनदेखि पोखरासम्म वि.सं. २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु गरिएको थियो । यो खण्डको काम वि.सं. २०८१ भदौसम्म सक्ने गरी सम्झौता गरिएको छ ।

राजमार्ग विस्तारको काम पूर्वीखण्ड (आँबुखैरेनी-जामुने) ४५ प्रतिशत भौतिक प्रगति भइसकेको छ भने पश्चिमखण्ड (जामुने-पृथ्वीचोक) तर्फ जम्मा १४.२ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ । भूगोलको बनावटअनुसार २१ देखि ४५ मिटरसम्म फराकिलो बनाउने गरी एसियाली विकास बैंक (एडीबी)को सहुलियत ऋण सहयोगमा राजमार्ग विस्तार भइरहेको छ ।

पश्चिम खण्डका आयोजना प्रमुख राजेन्द्रप्रसाद पौडेलले पनि सम्झौता म्यादअनुसार ८० प्रतिशत समय सकिँदा पनि ठेकेदार कम्पनीको तर्फबाट काम नभएको स्वीकारेका छन् । उनका अनुसार वित्तीय प्रगति पनि हालसम्म २४ प्रतिशतमात्रै रहेको छ । उनले भने, ‘त्यो पनि १५ प्रतिशत कन्ट्रयाक मोबिलाइजेसन अन्तर्गत उपलब्ध गराइएको हो । त्योबाहेक अरु खर्च गर्न सकिएको छैन ।’

पौडेलले ठेकेदार कम्पनीबाट पर्याप्त जनशक्ति, निर्माण सामग्रीको अभाव अझै रहेको औंल्याए । पश्चिमखण्डमा सबैभन्दा बढी बजार क्षेत्र पर्ने भएकाले पनि सडक विस्तारमा समस्या आइरहेको उनको भनाइ थियो ।

खानेपानी आयोजना, विद्युत लगायतसँग सम्झौता, समन्वय गर्दै अगाडि बढ्नुपर्ने भएकाले काममा ढिलाइ भइरहेको उनले बताए। ‘हाम्रो सडकखण्डमा उपभोक्ता समितिले सञ्चालन गरेको प्रोजेक्टमात्रै २६ वटा रहेछ । जोसँग २३ वटा सम्झौता गरेर कार्य अगाडि बढाउनुपर्‍यो’, उनले भने । यो खण्डमा करिब १९ किलोमिटर क्षेत्रफल पोखरा महानगरपालिकाभित्र पर्दछ ।

यस्तै, आयोजना प्रमुख पौडेलका अनुसार यो सडकखण्डमा १२ वटा पुल बनाउने ठेकेदार कम्पनीको जिम्मामा छ । त्यसमध्ये ८ वटा साना हुन् भने ४ वटा ठूला पुल । ४ वटा मुख्य पुलमध्ये सेतीसहित ३ वटा पुल बन्न सुरु भइसक्दा एउटा भने डिजाइन नै फाइनल हुन सकेको छैन ।

ठूला पुलमध्ये पोखरा पृथ्वीचोक नजिकै रहेको सेती ‘सिग्नेचर ब्रिज’ असोजबाट बल्ल बन्न सुरु भएको छ । यही सडकखण्ड भित्र पर्ने विजयपुर खोलामाथि बन्ने पुल भने अझै अन्योल छ । विजयपुर खोलामाथि त्यही पुल नै तत्कालीन लेखनाथ र पोखरालाई जोड्ने मुख्य पुल हो ।

तर, त्यही पुलको डिजाइन हालसम्म पनि फाइनल नहुँदा पनि सडक विस्तारको काम अझै लम्बिने प्रष्ट छ । आयोजना प्रमुख पौडेल नयाँ डिजाइनका लागि समय अपर्याप्त रहेकाले पुरानै डिजाइनअनुसार पुल बनाउने तयारी भइरहेको बताउँछन् ।

‘विजयपुर ब्रिजमा अर्को कुनै अल्टरनेटिभ वेमा जाने कि ? आर्मी क्याम्पबाट विजयपुरसम्म ठूलो ६ लेनको बनाउने कि ? भन्ने सोचाइमा पनि थियौं । तर, कन्ट्रयाकमा टाइम सकिन लाग्यो’, पौडेलले भने, ‘यही कन्ट्रयाकबाट त्यसलाई एड्रेस गर्न नसक्ने भएर हामीले डिजाइनअनुसार नै आर्मी ब्यारेकबाटै फोरलेनको पुल बनाऔं भन्ने इन्जिनियरलाई इन्स्ट्रक्चर दिइसकेको अवस्था छ ।’

यस्तै, पश्चिम खण्डमा ठेकेदार कम्पनीले सन् २०२५ डिसेम्बरसम्म सडक विस्तारको काम सकेर बुझाउने प्रतिबद्धता जनाएको आयोजना प्रमुख पौडेलले सुनाए । त्यसका लागि उनीहरुले हाल आफ्नो ‘टार्गेट’ राखेर काम गरिरहेको उनको भनाइ थियो ।

ठेकेदार कम्पनीले मनसुन अगाडिसम्म एकतर्फ बाटो क्लियर गर्ने लक्ष्य राखेको बताए । ‘फेब्रुअरीसम्म यो दिन्छु, मार्चसम्म यो दिन्छु भनेर उहाँहरुले भन्दै गर्दा मनसुनभन्दा अगाडि १८ किलोमिटर बाटो मिडियमबाट वल्डसाइज २ लेन बनाउने भन्या छ’, उनले भने, ‘त्यसले एउटा साइड रोड पनि बन्ने र अर्को साइट क्लियर पनि हुने हुन्छ ।’

तिहारभन्दा अगाडि कुनै पनि काम नभएको अवस्थामा केही महिनाभित्रै धेरै प्रगति भएको दाबी गर्दै पौडेलले भने, ‘तर, यो नै सन्तोषजनक हो । यही रेटले एकडेढ वर्षमा काम सक्छौं भन्ने होइन ।’

यस्तै, संघीय सरकारका भौतिक तथा यातायातमन्त्री प्रकाश ज्वालाले शुक्रबार पृथ्वीराजमार्ग विस्तारको कामलाई निरीक्षण गरेका छन् । मन्त्रालयका सचिवसहित यो सडकखण्डको विभिन्न भाग, निर्माणाधीन पुललगायत निरीक्षण गर्दै पोखरा आइपुगेका ज्वालाले पूर्व खण्डको काम सन्तोषजनक भए पनि पश्चिमखण्डको काममा असन्तुष्टि जनाएका छन् । पूर्वतर्फको काम केही सन्तोषजनक भए पनि पश्चिमतर्फका काममा भने सरकारले कडाइ गर्ने स्थिति आइसकेको मन्त्री ज्वालाले बताए ।

मुग्लिन-पोखरा सडकखण्डको पश्चिमतर्फको आयोजना प्रमुख राजेन्द्रप्रसाद पौडेललाई अब दैनिक रिपोर्ट कार्ड सडक विभागमा पठाउन मन्त्री ज्वालाले निर्देशन दिए । ‘खासगरि यो सेतीपुलसहित पश्चिमतिरको खण्डमा अलिअलि हस्तक्षेप नै गर्नेगरी, प्रेसर नै गर्नेगरी हामी काम अगाडि बढाउँछौं । प्रत्येक दिन आयोजना प्रमुखहरुले विभागमा उपलब्ध गराउनुपर्छ’, मन्त्री ज्वालाले भने ।

पृथ्वीराजमार्गको पश्चिमखण्ड अर्थात् तनहुँको जामुनेदेखि पोखरासम्म पश्चिम खण्ड चीनको यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले २०७८ भदौमा ठेक्का पाएको थियो । ४२ महिनाभित्र काम सक्ने गरी राजमार्ग विस्तारको जिम्मा अनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कम्पनीले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का पाएको छ । उक्त सडकखण्डको म्याद ०८१ भदौमा सकिँदैछ ।

तर, म्याद सकिने केही महिनामात्रै बाँकी हुँदा पनि कुनैकुनै भागमा सडक विस्तारको प्रक्रियासमेत पूरा भएको छैन । तनहुँको जामुनेदेखि कोत्रेसम्मको भागमा केही काम सुरु भएपनि पोखरातर्फ भने शून्य छ । चार लेनको बन्दा सडक सीमा दुइतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

पूर्वीखण्डमा १९.५ किलोमिटर सडक कालोपत्र

मुग्लिन-पोखरा सडक विस्तार योजना अन्तर्गत आँबुखैरेनी र बन्दीपुर खण्डमा हालसम्म १९.५ किलोमिटर सडकखण्ड कालोपत्र सकिएको छ । सडक योजना पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले बन्दीपुर गाउँपालिका-१ नाहालादेखि छिर्कने, आँबुखैरेनी गाउँपालिका-१ सत्रसय, बरादी खण्डमा कालोपत्र सकिएको जानकारी दिए । त्यसमध्ये ७.२ किमी खण्डमा दुइतर्फी नै कालोपत्र सकिएको छ ।

उनले भने, ‘सबैगरी १९.५ किलोमिटर कालोपत्र भएको छ । कालोपत्रमध्ये ७.२ किमीमा दुइतर्फी कालोपत्र सकिएको छ । हाल बरादीदेखि सत्रसय जोड्ने खण्डमा कालोपत्रको काम भइरहेको छ ।’ त्यसपश्चात् बरादीदेखि आँबुखैरेनी गाउँपालिका चोकसम्म दुइतर्फी सडक कालोपत्रको काम हुने पाण्डेले बताए । उनका अनुसार पूर्वीखण्ड अन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति ४४ प्रतिशत रहेको छ । यसअघि खाल्डाखुल्डी र धुलाम्य सडक हुँदा यात्रा असहज भएकामा हाल कालोपत्रको काम अगाडि बढेपछि यात्रामा सहजता आएको स्थानीय बताउँछन् ।

यस्तै, पूर्वी खण्ड अन्तर्गत दमौली मादी नदीमा आर्क डिजाइनको पुल निर्माणको काम सुरु भएको छ । व्यास नगरपालिका-४ र ५ जोड्ने मादी नदीमाथि एक अर्ब २१ करोड लागतमा आर्क डिजाइनमा पुल निर्माण हुन लागेको इञ्जिनियर पाण्डेले जानकारी दिए । उनका अनुसार पुल निर्माणका लागि आवश्यक काम भइरहेको छ । इञ्जिनियर पाण्डेका अनुसार पुलका लागि २१० पाइलमध्ये ५२ वटा पाइलको काम सकिएको छ । दुइ वटा फाउण्डेशनको पाइलको काम सकिएको र हाल भइरहेको पुलभन्दा केही माथि नयाँ पुल निर्माण हुने उनले बताए ।

पूर्वी खण्डको कामका लागि चिनियाँ कम्पनी कम्युनिकेसन कन्स्ट्रक्सनसँग रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछन् । पूर्वी खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको आयोजना कार्यालयले जनाएको छ ।

दमौलीका घर भत्काउन सुरु

मुग्लिन-पोखरा सडकको पूर्वी खण्ड अन्तर्गत तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रमा घर भत्काउन सुरु गरिएको छ । भत्काउनुपर्ने कुल ७० घरमध्ये ४५ परिवारले पहिलो किस्ताबापतको रकम बुझेर आफैँले भत्काउन सुरु गरेका छन् ।

घर भत्काइसकेपछि दोस्रो किस्ता भुक्तानी गरिने मुग्लिन-पोखराको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए । उनका अनुसार दमौली बजार क्षेत्रका घरको क्षतिपूर्तिका लागि करिब छ करोड खर्च हुनेछ । उनले भने, ‘सबै जनाले पहिलो चरणको मुआब्जा लिएमा ६० प्रतिशत वितरण सकिन्छ, अबको डेढ महिनाभित्र दमौली बजार क्षेत्रका घर भत्किइसक्ने अपेक्षा गरिएको छ ।’

जिल्लाको बन्दीपुर गाउँपालिका स्थित डुम्रेबजार क्षेत्रबाट सडक विस्तार तीव्रगतिमा अघि बढेकाले त्यसपछि दमौली बजार क्षेत्रमा काम गरिने उनले बताए । घरधनी स्वयंले घर भत्काउने भएकाले आयोजनाले उनीहरूलाई घर भत्काउन ताकेता गर्ने, समय-समयमा बैठक बस्ने र नगरपालिकाले पनि भत्काउनका लागि प्रोत्साहन गर्ने लगायतका काम भइरहेको उनले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker