भानु-१३ मा स्थानीय जडिबुटी अध्ययन अवलोकन तथा अन्तरक्रिया
भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकाको आयुर्वेद शाखाले वडा नं. १३ मा दुइदिवसीय स्थानीय जडिबुटी अध्ययन अवलोकन तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
आव २०७९/०८० मा संघीय तहबाट प्राप्त सशर्त कार्यक्रम अन्तर्गत भानु-१३ टुटेपानी स्थित गुरूङ संग्राहलयमा आयोजित कार्यक्रममा भानुका वडा नं ६, १२ र १३ का स्थानीय अभिभावकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा वरिष्ठ कविराज निरीक्षक उमेश भगत, कार्यक्रम संयोजक कविराज रविन धिताल र कविराज राम विश्वास रायले स्थानीय जडिबुटीको महात्सवका विषयमा सहजिकरण गरेका थिए ।
उक्त अन्तरक्रियामा भानुमा पाइने औषधीय गुणयुक्त जडिबुटी तथा बनस्पतिहरूको पहिचान, यसको संरक्षण र सम्बर्धनका बारेमा जानकारी दिइएको थियो । सम्भावित विषाक्त बनस्पति र यसको प्रयोगबाट बच्नुपर्ने सन्देश समेत प्रवाह गरिएको थियो । छलफलको क्रममा भानुमा पाइने १६६ प्रकारका बनस्पति मध्ये १५७ वटा निर्विष (बीष नभएको, औषधीय गुण भएको) र ९ वटा विषाक्त (बीस रहेको अखाद्य) रहेको कविराजहरूले सहभागिलाई जानकारी गराएका थिए ।

उक्त कार्यक्रममा भानुका नगर प्रमुख आनन्दराज त्रिपाठी, प्रमुख प्रशासकीय अधिकृत दिबाकर पौडेल, नगर शिक्षा अधिकारी ध्रुवराज पौडेल, लेखा अधिकृत, जन स्वास्थ्य अधिकृत लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमका अवसरमा जडिबुटी अध्ययन तथा अवलोकन तथा अन्तरक्रियाको साथै भानु १३ स्थित टुटेपानी होमस्टेको प्रबर्द्धन, यसमा देखिएका समस्याहरूको पहिचान गरी होमस्टे सञ्चालकहरूसँग छलफल, भानु १३ ठुलोढुङ्गा स्थित श्री अरनिको माविमा विद्यालय व्यवस्थापन समिति गठनका साथै विद्यालयमा देखिएका समस्या समाधानका लागि नगर प्रमुख त्रिपाठीले सरोकारवालाहरू बीच छलफल गरेका थिए ।










