भानुका कृषि सञ्जाललाई कार्यालय सामग्री हस्तान्तरण

भानु : तनहुँको भानु नगरपालिकाले कृषि क्षेत्रको विकास तथा कृषकहरूको संस्थागत सशक्तीकरणलाई टेवा पुर्याउने उद्देश्यले वडा तथा नगरस्तरीय कृषि सञ्जालहरूलाई कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।
नगर उपप्रमुख उमा गोतामेले कृषि सञ्जालका प्रतिनिधिहरूलाई विभिन्न कार्यालय सामग्री प्रदान गरेकी थिइन् । कृषकहरूको हकहित संरक्षण, कृषि क्षेत्रका समस्या तथा आवश्यकताको प्रभावकारी सम्बोधन तथा कृषकहरूबीच समन्वय र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले गठन गरिएका कृषि सञ्जालहरूको संस्थागत विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले सामग्री उपलब्ध गराइएको उनले बताइन् ।
हस्तान्तरण गरिएका सामग्रीले सञ्जालहरूको दैनिक प्रशासनिक कार्य सञ्चालन, अभिलेख व्यवस्थापन, बैठक तथा कार्यक्रम सञ्चालन, सूचना आदानप्रदान तथा कृषि सम्बन्धी योजना तर्जुमा लगायतका कार्यलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।
कार्यक्रममा उपप्रमुख गोतामेले कृषि सञ्जाललाई कृषक र स्थानीय सरकारबीचको महत्वपूर्ण सेतुका रूपमा विकास गर्न आवश्यक रहेको बताइन् । उनले सञ्जालमार्फत कृषकका समस्या, सुझाव तथा आवश्यकताहरू स्थानीय सरकारसम्म सहज रूपमा पुग्ने र त्यसका आधारमा कृषि विकासका कार्यक्रमहरू थप प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने धारणा व्यक्त गरिन् ।
उनले कृषि सञ्जालहरूले कृषि क्षेत्रको व्यवसायीकरण, आधुनिकीकरण तथा उत्पादन वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै नगरपालिकाले आगामी दिनमा पनि कृषकमैत्री नीति तथा कार्यक्रममार्फत कृषि क्षेत्रको दिगो विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाइन् ।
भानु नगरपालिकाले कृषि उत्पादन वृद्धि, किसानको आयआर्जनमा सुधार तथा कृषि क्षेत्रलाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।










