आँबुखैरेनीका कर्मचारीद्वारा अस्पताललाई दश लाख मूल्यको थाइराइड मेसिन हस्तान्तरण
भञ्ज्याङ न्यूज

तनहुँको आँबुखैरेनी गाउँपालिकामा कार्यरत कर्मचारीहरुले बुधबार आँबुखैरेनी अस्पताललाई थाइराइड मेसिन हस्तान्तरण गरेका छन् । गाउँपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था लगायत सबै क्षेत्रमा कार्यरत कर्मचारीले खाइपाई आएको पारिश्रमिकको केही प्रतिशत रकमले थाइराइड मेसिन खरीद गरी उक्त अस्पताललाई हस्तान्तरण गरेका हुन् ।
गाउँपालिकामा दरबन्दी र करारका गरी १३५ जना कार्यरत कर्मचारीको पारिश्रमिकबाट दश लाख रुपैयाँ बढी मूल्यको मेसिन खरीद गरी अस्पताललाई प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले बताए । गत जेठ ३१ गते बसेको कर्मचारी बैठकले कर्मचारीको पारिश्रमिकबाट केही प्रतिशत सहयोगबाट मेसिन खरीद गरी अस्पताललाई प्रदान गर्ने विषयमा सर्बसम्वत निर्णय भएपछि कर्मचारीले अभियान अगाडि बढाएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत शर्मा लगायतका कर्मचारीले बुधबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष शुक्र चुमान र अस्पताल मेडिकल सुपरीटेण्डेन डा. धन बहादुर क्षेत्रीलाई उक्त मेसिन हस्तान्तरण गरेका छन् ।
आँबुखैरेनी अस्पतालमा थाइराइड परीक्षण गर्ने मेसिन नहुँदा थाइराइडका बिरामी उपचारका लागि अन्यत्र धाउनु परेकाले मेसिन आए पश्चात सहज हुने विश्वास गरिएको छ । मेसिन खरीद गरी अस्पताललाई दिने बिषयमा कर्मचारीसंग कुरा राख्दा सकारात्मक देखिएपछि मेसिन खरीद गर्ने अभियानमा कर्मचारीहरु जुटेको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।
गाउँपालिकाभित्र धेरै जना थाइराइडका बिरामी रहेका र उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेपछि कर्मचारी मिलेर मेसिन खरीद गरी दिने योजना बनाइएको थियो । उनले भने, ‘गाउँपालिका भित्रका नागरिकले सहज रुपमा घरदैलोमा स्वास्थ्य सेवा पाउने हुँदा सबै कर्मचारीको सकारात्मक सहयोगबाट मेसिन खरीद गरिएको हो ।’

कार्यालय सहयोगी, सुरक्षा गार्ड, सरसफाई क्षेत्रमा कार्यरत सहयोगी कर्मचारीलाई यस अभियानमा सहयोग गर्न अनिवार्य नगरिए पनि स्वतस्फुर्त आफुले सकेको आर्थिक सहयोग गरेर अभियानलाई सफल बनाएकाले कर्मचारीप्रति प्रमुख प्रशासकीय अधिकृत शर्माले धन्यबाद व्यक्त गरे।
उक्त कार्यका लागि गाउँपालिकाको कार्यालय र मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीहरुले तह अनुसारको तलबबाट सहयोग रकम कट्टा गरी अस्पताललाई मेसिन सहयोग गरेर उदाहरणीय कार्य प्रस्तुत गर्नुभएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।
गाउँपालिकामा कार्यरत कर्मचारीहरुले आफ्नै पारिश्रमिकबाट अस्पतालको लागि थाइराइड मेसिन खरिद गरी हस्तान्तरण गरेपछि स्वास्थ्य सेवामा सहज हुने अध्यक्ष चुमानले विश्वास व्यक्त गरे । गाउँपालिकाले र्सवसाधारण नागरिकलाई सहज रुपमा स्वास्थ्य उपचार सेवा प्रवाह गर्नका लागि विभिन्न कार्यक्रमहरु अगाडि बढाएको छ ।












