खाँचो : बेनिभोलेन्ट डिक्टेटरसिपको

सबै डिक्टेटरहरु हिटलर र मुसोलिनी जस्तै फासिस्ट र क्रुर मात्रै हुँदैन्न । विशौ शताब्दीको सुरुवात ताकाका टर्कीश शाशक मुस्तफा केमल अटार्टुक पनि डिक्टेटर नै थिए । तर फसिस्ट, भ्रष्ट र क्रुर होईन । उदार, विकासप्रेमी र परिबर्तनका पक्षधर । जसले आधुनिक टर्की निर्माणको जग बसाले । जो असमानता, भेदभाव र अन्यायको अन्त्याका लागि बरु क्रुर बने । सैन्य पृष्ठभुमिबाट शासकको रुपमा उदायका उनले टर्कीमा करिब २ दशक शासन गरे । समृद्ध युरोपको अगाडी छायामा अनि उपनिबेशको शिकार भएको टर्कीलाई मुस्तफाले स्वतन्त्र मात्र बनाएनन् । आधुनिक विश्वमा शक्तिशाली र समृद्ध बनाउन जग पनि बसाले । उनी स्वतन्त्र भएपछिको गणतान्त्रिक टर्कीका पहिलो राष्ट्रपति पनि हुन ।
टर्किकोको आधुनिकीकरण, धर्मनिरपेक्षता, सामाजिक आर्थिक सुधारलाई उनले पहिलो प्रथामिकतामा राखे । सोही अनुसार काम गरे । देशलाई औधोगिकिकरण गर्ने, देशब्यापी रेलवे नेर्टवर्क आरम्भ गर्दै युरोपसंग जोडिएर विकासको गतिमा अघि बढने काम उनी बाटै संभव भएको हो । सामजिक र सांस्कृतिक सुधारका लागि अरेविक अल्फावेट हटाएर ल्याटिनवर्णको प्रयोग गरे। जसबाट शिक्षाको आधुनिकिकरणमा आमुल परिवर्तन ल्याए । महिलालाई पहिलो पटक मताधिकारको अबसर पनि उनैले दिलाए । अनि समानताको नारालाई ब्यवहारीक रुप दिए।
हो दुइ दशकसम्म शासन सत्ताको एकल नेतृत्वमा रहेपनि उनले जनस्तर बाट विरोधको सामान गर्नुपरेन । एलिट ग्रुप, भ्रष्ट र अस्थिरता चाहने समुहका लागि उनी कसिंगर बनेपनि दुःखी गरिव र असहायका लागि भने सदा सहयोगीकै रुपमा चिनिए । त्यसैले त उनलाई आधुनिक टर्कीका पिताको रुपमा लिइन्छ । अटार्टुकको अर्थ टर्कीश भाषामा बुवा हो । उनको नामको पछाडी अटार्टुक त्यसकारण नै थपिएको हो। उनले लागु गरेको परिबर्तनको सिद्धान्तलाई केमलिजम भनिन्छ । सन १९२२ नोभेम्बर १ मा अटोमन सुल्तानको शाशन अन्त्य गरेपछि उनको नेतृत्वमा १९२३ जुलाइमा लौसेन सन्धी भयो । अनि टर्की स्वतन्त्र र सार्वभौम देश बन्यो । सन १९२४ मा जव मुस्तफा स्वतन्त्र टर्कीको प्रथम राष्ट्रपति भए तव उनले विभेद र अन्याय फैलाउने मुस्लिम कानुन धार्मिक स्कुलहरु बन्द गरेर समानताको सन्देश दिन थाले । पश्चिमा क्यालेण्डर कै आरम्भ गरे । लैंगिक विभेदको अन्त्यदेखि आधुनिक पश्चिमा पोशाक सबैका लागि खुला गरे ।
यसको उदेश्य थियो टर्किलाई संस्कार, संस्कृती, समानता र विकासमा युरोप कै लयमा अघि बढाउने । सन १९२६ मा नागरीकका लागि नयां नियम अख्तियार गर्दै विवाह, सम्बन्धविच्छेद, ब्यापार जस्ता विषयमा युरोपियान मोडल लागु गर्दै उनले पहिलेका मुस्लिम शासकले अवलम्बन गरेका कटट्रपन्थी नितीलाई विस्थापित गरे । सन १९२७ देखि १९३८ सम्मको दशकमा थुप्रै जनउत्तरदायी निती लागु गरेर देशलाई आधुनिक विश्व तर्फ हिडाइ सकेका थिए । उनको कार्यकालमा अर्थतन्त्रको विकासका लागि उद्योग, कृषी उत्पादन, बैदेशिक सहायत र लगानीमा ठुलो उपलब्धी देशले हासिल गरेको थियो । उनले आफनो शक्ति नै अर्थतन्त्र मजबुत बनाउन खर्चेको बताइन्छ । मुस्तफाको नेतृत्वमा एक दशकमै देशको कुल ग्राहस्थ उत्पादनमा पाँच गुणा बृद्धि भएको तथ्यांक छ । गरिवि, भोकमरी अभावको अन्त्य गराएर समृद्धीको यात्रा तयार गरे ।
ग्रामीण भेकका जनतालाई देशको अर्थतन्त्रको मुलप्रवाहको रुपमा परिभाषित गर्दै अवस्थाको परिबर्तन तल्लो तहबाट आरम्भ गर्नुपर्ने मान्यतालाई स्थापित गरे । यसको मतलव हो श्रमिक, पिछडिएका क्षेत्र र बर्गको उत्थानबाट मात्र आर्थिक समानताको सम्भव छ भन्ने सन्देश । तर्सथ उनले त्यस्ता हेपिएका, थिचिएका दविएका जनताको आधरभुत आवश्यकताको परिपुर्तिलाई शाशनकालमा पहिलो प्रथामिकता दिए । यहि आमुल परिबर्तनको जग बसालेकाले नै मुस्तफालाई आम टर्किशले अटार्टुक अर्थात पिताको रुपमा सम्मान गरेका हुन ।
जोन एफ केनेडीले उनलाई विशौ शताब्दीकै चामत्कारीक नेताको रुपमा परिभाषित गरेका छन । उनलाई युद्धको सफल नेतृत्वकर्ता अनि युद्धपछि शान्ति स्थापना र परिबर्तनका अनुपम उदाहरणीय पात्राको रुपमा पनि हेरिन्छ। सदनमा फरक मत हुँदाहुँदै पनि सुल्तान शाशकको अन्त्यका लागि लिएको एकल निर्णय र आजिवन देशको राष्ट्रपति रहेका उनलाई केही केहीले तानाशाह भने पनि आम टर्किशको नजरमा भने पिता सावित भएका थिए ।
सैन्य पृष्ठभुमिबाट उदाए पनि समानता र स्वतन्त्राता अनि विकासका निम्ति लिएका बोल्ड डिसिजनलाई हेरेर राजनितीशास्त्रीहरु उनलाई बेनिभोलेन्ट डिक्टेटरसिप भन्ने गर्छन । जो तानाशाह तर जनताको लागि काम गर्छ । बेनिभोलेन्ट डिक्टेटरसिप अर्थात उदार तानाशाह । मुस्तफा त्यही उदार तानाशाह हुन जसले आधुनिक टर्की निर्माणका लागि अतुलनीय योगदान पुर्याए । देश परिबर्तनमा एउटा शाशकले तानाशाह तर उदार बनेर कसरी जनताको मन र मत जित्न सक्दो रहेछ भन्ने नजिर हुन मुस्तफा ।
हो आज नेपाललाई टर्किश मुस्तफा चाहिएको छ । जसले स्वतन्त्रताको नाममा हुने स्वच्छन्दतालाई नियन्त्रण गरोस । शक्तिको दुरुपयोग गरेर ब्रम्हलुट मच्चाउने नेता र तीनका आफन्त अनि एलिट समुहलाई आजीवन नजरबन्दमा राखोस । शुसाशनको ढवाड पिटेर भ्रष्टचार र कमिसनखोरमा रमाउने शासकको पतन गर्न सकोस । राष्ट्रिय स्वाधिनता र स्वतन्त्रताका निम्ति मुस्तफाले जस्तै क्रन्तीकारी निर्णय लिने हिम्मत लियोस । समानता, जागरण अनि वर्गीय विभेदको अन्त्य गर्नका निम्ति खुट्टा नकमाओस । नाताबाद कृपावादको फेरो समातेर पुस्तौ पुस्तालाई धन थुपार्न लालयित ठुटे, चम्चे आउर बाउरे स्वघोषित नेताहरुलाई योग्य दक्ष पात्रालाई अवसर दिएर विस्थापित गरोस। हो यति गर्ने आंट र साहास भएको मुस्तफाको छाया पात्रा आज देशलाई चाहिएको छ । जसले विकट कर्णालीमा ढुंगा र गिट्टीसंगको संगतमा आजिवन बिताउन बाध्य भएकाको अवस्थामा बदलाव ल्याउन सकोस ।
परदेशमा गएर जवानी मात्र होईन जीवन नै खेरा फालेर बाकसमा र्फकनु पर्ने विवशताको अन्त्य गराउन सकोस । पढने उमेरमा विद्यालय जान पाउनु त परै जाओस, भोक टार्न भरिया बन्नु पर्ने मेचीदेखि महाकालीसम्म अनि हिमालदेखि तराइसम्मका लाखौं बालबालिकाको बालाधिकारको सुनिश्चितता गर्न सकोस । अवकाश लिएर जीवनको उत्तरार्धमा परिवार आफन्तसंग घुमफिर र आराम गर्ने बेलामा एकल अनि रोग र भोक सहितको जीवन जिई रहेका आमा बाबुको आँखाको आँसु पुछन सकोस । बृद्धबृद्धाले दया र भिखको पात्रा बन्न नपरोस । गफमा होईन यथार्थतामा यती गर्न सक्ने नेतृत्व देशलाई चाहिएको छ । जो रोग, भोक पीडासंग जुधिरहेका नबसामन्तहरुबाट चुसिएका आम जनताको निम्ति मुस्तफा जस्तै मुक्तिदाता बनोस ।
राणाशाशन, शाही शाशन, पञ्चायत, बहुदल, लोकतन्त्र, गणतन्त्र थुप्रै ब्यवस्था बदल्यौ । तर खै गरिखाने बर्गका लागि के भयो – अब स्वतः प्रश्न उठछ । समस्या ब्यवस्थामा होईन रहेछ । समस्या छ त केवल ती ब्यवस्थाको नेतृत्व गर्ने शासकमा, नेतामा । हो यसकारण हामीलाई ब्यवस्था बदल्ने अनि आफु मात्रै बदलिने पात्रा होईन । देश बदल्ने अनि जनताको अवस्था बदल्ने उदार तानाशाह नै चाहिएको छ। मलेसियाका मोहम्मद माथिर र सिंगपुरका लि क्वानलाई एक्काईशौ शताब्दीका मुस्तफाकै रुपमा चिनिन्छ । जसले देशलाई एक पुस्तामै तेश्रो विश्वबाट पहिलो विश्वको स्तरमा पुर्याउन सके ।
आधुनिक सिंगापुर र मलेसियाले पाएका परिबर्तनका नायक अब नेपालले जन्माउन जरुरी छ । संधै सुनको कचौरा बोकेर भिख माग्नु पर्ने हाम्रो विवशताको अन्त्य ब्यवस्था बदलेर मात्र सम्भव भएन । हिंसाको माध्यमबाट सत्तामा आएको भएपनि कतै प्रचण्ड मुस्तफा, लि क्वान र माथिरको छाया बनेर देशमा उदाउँछन कि भन्ने अपेक्षा पनि जनताले गरेकै हुन । थोरै डर र केही आशाको पराबर्तनको परिणाम थियो २०६४ मा माओबादीले पाएको मत । तर उनी र उनका आसेपासे परिवारबाद भन्दा माथी उठनै सकेन्न । ज्ञानेन्द्र पनि ‘बेनिभोलेन्ट डिक्टेटर’ बन्छन कि भन्ने आशा जनतामा कही कतै अवश्य थियो । तर उनी पनि फगत डिक्टेटर मात्र बन्ने दुष्प्रयास गरे । हालका प्रधानमन्त्री ओली र विद्धान भनिएका पुर्व प्रधानमन्त्री डा. भट्टर्राईमा पनि आम र्सबसाधरणले समृद्धीको आमुल परिबर्तनको अपेक्षा गरेकै हुन ।
तर उनीहरु पनि केवल परीक्षा मात्र दिई रहेका छन । परिणाम विहिन परीक्षा । तर जनतामा अझै पनि आशा छ । नजिकैको छिमेकले पाएका एक्काईशौ शताब्दीका ‘करिष्मेटिक नेतृत्व’ नेपालले पनि अवश्य पाउनेछ । अनि प्रयोगशालाको प्रसव पिडाको पनि छिटै अन्त्य हुनेछ । खास नेतृत्व, समस्या, संकट र चुनौतीको चौघेरामा घेरिएको बेलामा नै जन्मन्छ । त्यो समयको माग र आवश्यकता दुबै हो । हो त्यसैले अमेरीकाले फेरी जोन एफ केनडी र रुजवेलट जस्तो नेतृत्व नपाउन सक्छ । बेलायतले मार्टिन लुथर किड तुरुन्तै नपाउन सक्छ ।
दक्षिण अप्रिmकालाई मण्डेला जस्तै नेता अब शताब्दी पछि मात्र चाहिन सक्छ । चीनलाई देडद्रङ सिया पिङ तत्कालै नचाहिन सक्छ । किनकी उनीहरुले त्यो पीडाको पहाड पार गरिसकेका छन । ती नेतृत्वले पार गराइ सकेका छन । तर हामी अझै चुनौतीका तीनै चौघेरामा छौ । खाश परिबर्तनको प्रतिक्षामा छौं । यर्सथ तानाशाह नै किन नहोस जनतालाई समानता र समृद्धीको स्वाद चखाउने नेतृत्व चाहिएको छ । मुस्तफा, देङ, मथिर र लि जस्तै ।










