जेन्जीको निर्दोष अनुहार देखाएर गलत राजनीति गर्ने प्रयास भइरहेको छ : केपी शर्मा ओली

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेन्जीको निर्दोष अनुहार देखाएर गलत राजनीति गर्ने प्रयास भइरहेको प्रतिक्रिया दिएका छन्। शिवपुरीबाट वक्तव्य जारी गर्दै ओलीले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

आफूले लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संयुक्त राष्ट्र संघमा नपठाएको भए या अरूले चाहेअनुसार चलेको भए आफ्नो जीवन अर्कै मोडमा पुगेको हुने बताएका छन्।

‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो भनेर मैले जिद्दी नै गरेको हुँ। शास्त्रहरूमा उल्लेख भएअनुसार भगवान् श्रीराम भारतमा होइन, नेपालमा जन्मिएका हुन् भनेर मैले जिद्दी नै गरेको हुँ। यी जिद्दीहरूमा म पछाडि हटेको भए मैले अरू थुप्रै अवसरहरू पाउने थिएँ, थुप्रै कुरा हासिल गर्ने थिएँ। लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संयुक्त राष्ट्र संघमा नपठाएको भए या अरूले मलाई चलाउन चाहेअनुसार चलिदिएको भए मेरो जीवन अर्कै मोडमा पुग्ने थियो।’

व्यवस्था परिवर्तनको लडाइँमा तत्कालीन सत्ताले दिएको निर्मम यातनाका कारण आफ्ना सन्तान नभएका भन्दै ओलीले भनेका छन्, ‘तर पनि ‘बा’ बन्ने मेरो रहर कहिल्यै मरेन, कहिल्यै सेलाएन। जब मैले सुनेँ, प्रहरीको गोलीले मेरा छोराछोरीहरूको जीवन समाप्त भयो, त्यस दिनदेखि मेरा लागि धेरै कुराहरू सकिएका छन्। त्यो पीडाको घाउ आज पनि आलै छ।’

अनगिन्ती दुःख र बलिदानबाट ल्याएको व्यवस्थाकै कारण आज सबैले आवाज उठाउन र आन्दोलन गर्न पाएको स्मरण गराउँदै ओलीले यो व्यवस्थाको कत्लेआम हुन नदिन आह्वान गरेका छन्।

‘पदमा रहने या नरहने भन्ने कुरा मेरा लागि कहिल्यै ठूलो भएन। मेरो लागि सबैभन्दा महत्त्वपूर्ण त यो व्यवस्था जोगाउनु हो। यो व्यवस्था, जसले तिमीहरूलाई बोल्ने, हिँड्ने, प्रश्न गर्ने अधिकार दिएको छ, यसलाई बचाउनु नै मेरो जीवनको मूल उद्देश्य हो। व्यवस्थाको विषयमा कुनै सम्झौता हुँदैन भन्ने मैले विश्वास राखेको छु,’ ओलीले वक्तव्यमा भनेका छन्।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker