शुक्लागण्डकी महोत्सवबाट ६१ लाख ६७ हजार आम्दानी
भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

तनहुँको शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले गत फागुन १८ देखि २९ गतेसम्म खैरेनीटार बजारमा सञ्चालन गरेको शुक्लागण्डकी महोत्सव-२०७९ को आयव्यय सार्वजनिक गरिएको छ । तीनखोले देवी मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरी आयाव्याय विवरण सार्वजनिक गरिएको हो ।
महोत्सवबाट कुल ६१ लाख ६७ हजार ७६६ रुपैयाँ आम्दानी भएको महोत्सवका आर्थिक निर्देशक विनोदकुमार मल्लले जानकारी गराए । उनका अनुसार विभिन्न शिर्षकमा कुल ५० लाख ५५ हजार ७६२ रुपैयाँ खर्च भएको छ । महोत्सवबाट खुद ११ लाख १२ हजार ४ रुपैयाँ नाफा देखिएको छ । जसमध्ये १ लाख ४० हजार ८०० रुपैयाँ उठ्न बाँकी छ भने नगद मौज्यात १५ हजार रुपैयाँ रहेको आर्थिक निर्देशक मल्ले जानकारी गराए ।
महोत्सवमा टिकट विक्रीबाट रु. १९ लाख ४६ हजार ६००, स-शुल्क पासबाट रु. ५९ हजार ३००, पार्किङ शुल्कबाट रु. २० हजार, स्टलबाट २० लाख ४५ हजार ८५०, कन्सर्टबाट रु. ८ लाख १४ हजार ६००, खुल्ला चौरबाट रु. ४ लाख, कवाडी सामान विक्रीबाट ३ हजार ५००, विभिन्न प्रतियोगिताबाट टिम दर्ता १ लाख १९ हजार, बैँक व्याज ३४ हजार ९१६, सहयोग संकलनबाट ७ लाख २४ हजार रुपैयाँ आम्दानी भएको मल्लले बताए ।
त्यस्तै, कलाकार खर्च ८ लाख २१ हजार, कन्सर्ट ५ लाख ५० हजार, पुरस्कारमा ७ लाख ४७ हजार २३५, चिया, खाजा र खानामा ४ लाख ६९ हजार ३३५, मायाँको चिनो र खादा खरिदमा ३ लाख २३ हजार ६२९, जग्गा व्यवस्थापन सरसफाईमा रु. २ लाख ९४ हजार ९७६, साउण्ड सिस्टममा ४ लाख ५० हजार, प्रचारप्रसारमा २ लाख २३ हजार ८९५, विमा शुल्क १ लाख १९ हजार ९००, विधुत जडान तथा महशुल खर्च १ लाख ३२ हजार २४३ रुपैयाँ लगायत गरी विभिन्न शिर्षकमा उक्त खर्च भएको जनाइएको छ ।
कार्यक्रममा बोल्दै महोत्सव निर्देशक समुन्द्रराम श्रेष्ठले सबैको साथ र सक्रियताले महोत्सव सफल भएको बताए । उनले सकेसम्म खर्च कम गरी आम्दानी बढाउने कोसिस गरिएको बताउँदै सबैको राय सुझावलाई समेट्दै आगामी बर्षको महोत्सव थप उत्कृष्ट बनाउने र राम्रो आम्दानी गर्ने बताए । तेस्रो संस्करणको शुक्लागण्डकी महोत्सव पनि आयोजना गर्ने जानकारी दिर्दै छिट्टै मिति घोषणा गर्ने उनले बताए ।
प्रवक्ता सुजित हिराचनले महोत्सवबाट लक्ष्य र मेहनत अनुसारको परिणाम नआएको बताए । उनले भने ‘हामीले गरेको मेहनतको प्रतिफल यति पाउनु भनेको वास्तवमा राम्रो चिज चाँही होइन । यसमा हाम्रो ध्यान नपुगेको देखिन्छ । आगामी महोत्सवमा विशेष योजनाका साथ अगाडि बढियो भने प्रतिफल धेरै प्राप्त गर्न सकिन्छ भन्ने लाग्छ ।’
वडा नं. ६ का वडाध्यक्ष बुद्धिबहादुर थापाले महोत्सवमार्फत यस क्षेत्रका नयाँ प्रतिभाको खोजी, कृषि तथा पर्यटन क्षेत्रको प्रवर्द्धनमा टेवा पुगेको बताए । उनले ज्येष्ठ नागरिक लक्षित मनोरञ्जनात्मक कार्यक्रमहरुलाई आगामी बर्ष पनि निरन्तरता दिन सुझाव दिदै कृषि क्षेत्रलाई बढि महत्व दिन आग्रह समेत गरे । आगामी बर्षदेखि आयव्यय समयमै सार्वजनिक गर्न सुझाव दिदै सवै व्यवसायीलाई एकतावद्ध गराइ करको दायरामा ल्याउन समेत आग्रह गरेका थिए ।
महोत्सव मुल संयोजक विमलप्रसाद रिमालले सबैको साथ सहयोगले महोत्सव सफल भएको भन्दै सबैलाई धन्यवाद दिए । कार्यक्रममा महासचिव उपेन्द्र तिमिल्सिनाले कार्यक्रम संचालन गरेका थिए भने संघका सदस्यहरुले महोत्सवका विभिन्न विषयमा प्रश्न राखेका थिए ।










