भानुमा स्थानीय पाठ्यक्रम “हाम्रो भानु” लागु, विद्यालयलाई पाठ्यपुस्तक वितरण
भञ्ज्याङन्यूज

तनहुँको भानु नगरपालिकाले स्थानीय पाठ्यक्रम लगु गरेको छ। शैक्षिक सत्र २०८० का लागि तयार गरिएको स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ तयार गरी प्रयोगमा ल्याएको हो ।
नगरपालिकाले आधारभूत तह कक्षा १-८ मा विगत २ वर्षदेखि स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ लगु गरेकोमा चालू शैक्षिक सत्र २०८० का लागि उक्त पाठ्यक्रम बमोजिम तयार गरिएका पाठ्यपुस्तक विद्यालयहरुलाई वितरण गरी पठनपाठन शुरु गरेको छ ।
भानु नगर शिक्षा समितिबाट स्वीकृत उक्त पाठ्यपुस्तक आइतबार एक कार्यक्रमका बीच भानु नगरपालिकाका सामाजिक विकास समितिका संयोजक हरिहर उप्रेती, नगर प्रवक्ता तथा सामाजिक विकास समितिका सदस्य इश्वर बहादुर घिमिरे र नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले संयुक्तरूपमा विमोचन गरी विद्यालयलाई हस्तान्तरण गरेका छन् ।
पाठ्यपुस्तक लेखनको जिम्मेवारी पाएको वन्यजन्तु संरक्षण संघ नेपालको प्राविधिक सहयोग तथा भानुका पेशागत संगठनका प्रतिनिधिहरू, प्रधानाध्यापकहरू तथा शिक्षकहरूको पटकपटक भएको परामर्श बैठकबाट विभिन्न रचनात्मक सुझावहरू संकलन गरी पाठ्यपुस्तक तयार गरिएको थियो।

प्रविधिक सहयोग गर्ने संस्था, शिक्षा युवा तथा खेलकुद शाखा तथा भानुका जनप्रतिनिधिहरू र स्थानीय सरोकारवालाहरूबाट प्राप्त सुझाव एवं पृष्ठपोषणलाई समावेश गरी विषयवस्तुलाई अन्तिम रूप दिएर पाठ्यपुस्तक तयार गरिएको नगरशिक्षा अधिकारी ध्रुवराज पौडेलले बताए ।
उनका अनुसार स्थानीय पाठ्यपुस्तक हाल कक्षा १-५ का लागि वितरण गरिएको छ । बाँकी कक्षा ६-८ को पाठ्य सामग्री एक महिना भित्र तयार गरी विद्यार्थीलाई उपलब्ध गराइने छ ।
‘विद्यार्थीलाई उपलब्ध गरिएको पाठ्यपुस्तक आकर्षक डिजाइन र गुणस्तरमा निर्माण भएको छ’, नगर शिक्षा अधिकारी पौडेलले भने, ‘यसको विशेषतामा भानुको चिनारी दिने वाहृय कभर पृष्ठ, २५० ग्रामको कभर कागज, भित्री भागको कागज १८० ग्रामको बुक चार कलरमा बालमैत्री बनाउने प्रयास गरिएको छ ।’
यो पाठ्यपुस्तक वितरण गर्दा विद्यालयले भरेको शैक्षिक सत्र २०८० को आइइयमआइयसको विद्यार्थी संख्यालाई आधार मानी प्रत्येक कक्षाका लागि १/१ प्रति थप गरिएको छ । भानुका सामुदायिक विद्यालयले यो पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराइने भएको छ ।

यस्तै, संस्थागत विद्यालयहरूले इलेक्ट्रोनिक कपि उपलब्ध गराइने र आफ्नो अनुकुलतामा यसको गुणस्तर कमजोर नहुने गरी छपाई प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको नगर शिक्षा अधिकारी पौडेलले बताए ।
नगरपालिकाले उक्त पाठ्यपुस्तक हाल परीक्षणका रूपमा लागु गरिएको छ । शैक्षिक सत्र २०८० को अन्तमा नगरपालिकाले हाम्रो भानु अध्यापन गर्ने विषयगत शिक्षकहरू बीच समीक्षा बैठक गर्ने भएको छ । उक्त बैठकबाट प्राप्त सुझावका आधारमा आगामी अंकमा परिमार्जित रूपमा प्रकाशन गर्ने नगरपालिकाले जनाएको छ ।










