व्यासको शिक्षा नीति : शिक्षालाई गुणस्तरीय र विश्वासनीय बनाउँदै “व्यासलाई शैक्षिक हब”का रुपमा विकास गरिने

भञ्ज्याङ समाचारदाता/तनहुँ

तनहुँका व्यास नगरपालिकाले नगरलाई शैक्षिक केन्द्र (हब)का रुपमा विकास गर्ने नीति अगाडि ल्याएको छ ।

तनहुँको सदरमुकाममा रहेको जिल्लाको पुरानो नगरपालिका व्यासले नगर क्षेत्रभित्र सञ्चालित क्याम्पस तथा विद्यालयस्तरको शिक्षालाई थप गुणस्तरीय र विश्वासनीय बनाउँदै व्यासलाई शैक्षिक हबका रुपमा विकास गर्न नगर शिक्षा योजना निर्माण गर्ने भएको छ ।

चालु आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा नगरपालिकामा रहेको विशेष गरी महिला र विपन्न क्षेत्रका विद्यार्थीहरुले अध्ययन गर्ने आदिकवि भानुभक्त क्याम्पसको शैक्षिक गुणस्तर सुधार एवं विश्वविद्यालय स्थापनाको पूर्वाधार निर्माण, विज्ञान र प्रविधिको अध्ययन व्यवस्थापनका लागि सहयोग गर्ने नीति ल्याएको छ ।

नगरपालिका भित्र माध्यमिक तहसम्मको शिक्षा लिन कठिनाई परेका अनाथ, असहाय, विपन्न, शहिद, बेपत्ता, कोरोनाबाट मृत्यु भएका घर परिवारका बालबालिकाको शिक्षाका लागि वडा नं. ७ शेषमटारमा सञ्चालित ‘व्यास नगर समता विद्यालय’लाई निरन्तरता दिइने नीति लिइएको नगरप्रमुख बैकुण्ठ न्यौपानले जानकारी गराए । उनले भने, ‘समता विद्यालयलाई अन्य विद्यालयमा पनि विस्तार गर्ने व्यवस्था मिलाउनेछौं ।’

‘नगरपालिका भित्रका प्रा.वि., आधारभूत र माध्यमिक विद्यालयहरुमा प्रविधिमैत्री शैक्षिक वातावरण निर्माण गरिने छ भने वडा नं. १३ र १४ का सामुदायिक विद्यालयहरुमा यसओयस बालग्रामसँग सहकार्य गरी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने छौ’, नगरप्रमुख न्यौपानले भने, ‘नगरपालिकामा “बाल बालिकासँग नगर प्रमुख, उपप्रमुख सम्बाद” कार्यक्रमलाई निरन्तरता दिने नीति अवलम्बन गरिएको छ ।’

नमूना विद्यालयको रुपमा छनौट भई भौतिक एवं शैक्षिक सुधारका विभिन्न पक्षको प्रगति गरिरहेका वडा नं. १ स्थित निर्मल माध्यमिक विद्यालय र वडा नं. २ स्थित सत्यवती माध्यमिक विद्यालयको थप सुधारका लागि सहजीकरण गर्ने नीति लिएको नगरपालिकाले ती विद्यालयहरुमा गरिएका प्रगतिहरुको अन्य विद्यालय सुधारमा अनुभव आदान प्रदान गर्ने भएको छ ।

नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुको अत्यावश्यक भौतिक सुधारका कार्यहरु गर्ने, विगत अवधिमा विभिन्न कार्यक्रममा दिइएको रकम पेश्की फछ्र्यौट नगर्ने विद्यालयहरुलाई थप सहयोग प्रदान नर्गे नीति नगरपालिकाले अगाडि ल्याएको छ ।

यस्तै, संघीय सरकारले कक्षा ५ सम्मका बालबालिकालाई दिवा खाजाको प्रबन्ध गरेको र अहिले तत्काल नगरपालिकाको आन्तरिक स्रोतबाट थप कक्षा र रकम वृद्धि गर्न नसक्ने अवस्थामा रहेको नगरप्रमुख न्यौपानेले बताए । उनले भने, ‘संघीय सरकारबाट उपलब्ध भएको खाजा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी रुपमा कार्यान्वयन गर्न स्वास्थ्य बर्धक पोषणयुक्त खाजाको व्यवस्था मिलाउने, विद्यालयमा जंकफुडलाई पूर्णतः निषेध गर्ने, खाजामा स्थानीय उत्पादनलाई बढवा दिने हाम्रो नीति छ ।’

नगरपालिका भित्रका धार्मिक विद्यालयहरु, मातृ भाषामा शिक्षा प्रदान गर्ने विद्यालयहरु तथा सामुदायिक सिकाई केन्द्रहरु सञ्चालन गर्न सहयोग पुर्‍याउने, स्थानीय पाठ्यक्रम र वेदव्यास सम्बन्धी अतिरिक्त पाठ्यक्रम अध्यापन गराउने नीति अवलम्बन गरेको नगरपालिकाले “हाम्रो प्रतिभा हाम्रो गौरव” भन्ने विश्वासका साथ व्यास नगरपालिका भित्रका विभिन्न विधामा नगर क्षेत्र भित्रका विद्यार्थीहरु बीच प्रतिस्पर्धा गर्राई नगर स्तरीय उत्कृष्ट प्रतिभा छनौट गरी सम्मान एवं पुरस्कृत गर्ने भएको छ ।

नगरपालिकामा स्थायी बसोबास भई उच्च शिक्षा हासिल गरिरहेका विज्ञान प्रविधि एवं प्राविधिक शिक्षा लिने विपन्न र प्रतिभावान विद्यार्थीहरुलाई अनुसन्धान गर्ने कार्यमा र नगरपालिका भित्रका विद्यालय तथा क्याम्पसमा अध्ययनरत कक्षा ११ र १२ का विपन्न वर्गका छात्रछात्राहरुलाई अध्ययन गर्नका लागि प्रदान गरिने छात्रवृत्ति सहयोगलाई निरन्तरता दिइने भएको छ ।

नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको गुणस्तर मापन गरी कार्यसम्पादनका आधारमा पुरस्कृत गर्ने गरी विज्ञ सम्मिलित “अनुगमन तथा मूल्यांकन समिति” निर्माण गरी गुणस्तर मापन पद्धतिको विकास गर्ने, विद्यालयहरुको निरन्तर निरीक्षण, अनुगमन एवं शिक्षक सहायताका लागि जनशक्तिको व्यवस्था मिलाउने, संस्थागत विद्यालयहरुको सञ्चालन र व्यवस्थापनमा नियमन, अनुगमन गरी स्तरीकरण गर्न र नेपाल सरकारले तोकेको न्यूनत्तम पारिश्रमिक नघट्ने गरी शिक्षक व्यवस्था गर्न सहजीकरण गर्ने नगरपालिकाको नीति रहेको छ ।

यस्तै, बालमैत्री नगरपालिका घोषणा गर्ने उद्देश्यका साथ कार्यविधि समेत लागू गरिसकेको नगरपालिकाले बालमैत्री नगरपालिका घोषणाका लागि मापदण्ड अनुसारका कार्यहरु अघि बढाउने, “ज्ञान नै समृद्धिको आधार” भन्ने मान्यताका साथ नगरपालिका भित्र अनुसन्धान सामग्री सहितको विशिष्ट कृतिहरुको संगालो भएको डिजिटल पुस्तकालय स्थापना गरी उच्च शिक्षा तथा विद्यालय शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क अध्ययन, अनुसन्धानको व्यवस्था मिलाउने भएको छ ।

नगरपालिका भित्रका बाल विकास शिक्षकहरु, कर्मचारीहरुको सेवा सुविधामा संघ, प्रदेश सरकारसँगको सहभागितामा थप सुविधा प्रदान गर्ने, संस्थागत विद्यालयहरुद्वारा लिइएको शुल्क र सामुदायिक विद्यालयहरुमा लिने गरिएको शुल्क सम्बन्धमा अध्ययन गरी कानुन बमोजिम नियमन गर्ने, सामुदायिक विद्यालयमा शुल्क लिने पद्धतिको अन्त गर्न आवश्यक शिक्षक दरबन्दी आन्तरिक श्रोतबाट क्रमशः व्यवस्थापन गर्ने नीति नगरपालिकाको रहेको छ ।

व्यास नगरपालिका भित्र बोलिने भाषिक अध्ययन अनुसन्धान गरी सबै भाषा, संस्कृति, ललित कला, प्राचिन, ऐतिहासिक स्थलहरुको संरक्षण सम्वर्द्धन गर्ने कार्यको व्यवस्थापन गर्ने नीति लिएको नगरपालिकाले माध्यमिक विद्यालयहरुमा गणित तथा विज्ञान प्रयोगशालालाई व्यवस्थित गर्ने, विद्यालयको स्तरबृद्धि, बालबालिकाको आधारभूत शिक्षाको प्रत्याभूति हुने गरी विद्यालय तथा शिक्षक समायोजन प्रकृयालाई निरन्तरता दिंदै गणित, विज्ञान जस्ता विषयहरुमा गुणस्तर सुधारका लागि प्रशिक्षणको व्यवस्था मिलाइने भएको छ ।

यस्तै, रुम टु रिडसंगको सहकार्यमा व्यास नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा बालिका शिक्षा विस्तार गरी बालिकाहरुको स्वाभिमान र आत्मरक्षाका लागि विशेष कार्यक्रम ल्याउने, सामुदायिक र संस्थागत विद्यालयका कक्षा ८ को अन्तिम परीक्षालाई यसै वर्षदेखी नगर स्तरीय लिइएकोमा आगामी वर्ष पनि निरन्तरता दिइने र आगामी वर्षदेखि कक्षा ५ को परीक्षालाई पनि नगर स्तरीय बनाइने भएको छ ।

व्यास नगरपालिका भित्र बसाइ सराइ र जन्मदर घटेका कारणले कतिपय विद्यालयहरुमा विद्यार्थी संख्या घट्दै गएको अवस्थाको विस्तृत अध्ययन गरी बालबालिकालाई गुणस्तरीय शिक्षाबाट बञ्चित नहुने गरी व्यवस्था मिलाउने, समायोजन हुने विद्यालयका भौतिक संरचनाहरुको वैकल्पिक प्रयोगका लागि स्थानीयसँग सहकार्य गर्ने, कार्यरत, करार एवं राहत शिक्षकहरुको हरेक वर्ष कार्यसम्पादन मूल्यांकन गरी प्रत्येक वर्ष नियुक्तिको नवीकरण गर्ने नीति नगरपालिकाले अवलम्बन गर्ने भएको छ ।

क्याम्पसहरु, संस्थागत र सामुदायिक विद्यालयका सबै बालबालिकाहरुको प्राथमिक स्वास्थ्य परीक्षण संघ, प्रदेश सरकारसँग सहकार्य गरी स्थायी प्रबन्ध वा नगरपालिकाको वडामा रहेका स्वास्थ्यका कर्मचारीबाट विद्यालयको क्षेत्र तोकी न्यूनतम १५ दिनमा एक पटक “बालबालिकासँग स्वास्थ्य कार्यकर्ता” कार्यक्रम लागू गर्ने, बालबालिकाको नगर र वडा सञ्जाललाई कृयाशील बनाई बालबालिकाका विविध पक्षमा निरन्तर सम्बाद गरी विद्यालयलाई बालमैत्री बनाउन सहयोग गरिने भएको छ ।

यस्तै, नगरपालिकाको “व्यास नगर पुस्तकालय”लाई थप परिस्कृत गर्दै सञ्चालन गरिने र पुस्तकालयमा इलाइव्रेरी प्रवर्द्धन, नियमित छलफल कार्यक्रम, सिनेमा डकुमेन्ट्री प्रदर्शन, सृजनशील कार्यशाला, यूवा केन्द्रित ज्ञान सीप तालिमहरु जस्ता प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्दै यसलाई सबै धर्म परम्पराको अध्ययन केन्द्रका रुपमा समेत विकसित गर्दै लैजाने नीति नगरपालिकाले अवलम्बन गर्ने भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker