ड्रागन फ्रुट खेतीमा सफल गौली

भञ्ज्याङन्यूज

जिल्लाको व्यास नगरपालिका-५ ढोडेनीमा व्यावसायिक रूपमा ‘ड्रागन’ खेती सुरु गर्नुभएकी कल्पना गौलीले पहिलो वर्षमै रू १० लाख आम्दानी गर्नुभएको छ । विसं २०७९ वैशाख १८ गते ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी सञ्चालन गर्नुभएकी उहाँले नौ पटकसम्म दुइ हजार किलोग्राम उत्पादन गर्नुभएको हो ।

यस वर्ष करिब रू दश लाख बराबरको ड्रागन बिक्री गरिसकेको उहाँले जानकारी दिनुभयो । “अब बढीमा रू तीन लाखको बिक्री हुने अनुमान गरेको छु”, गौलीले भन्नुभयो, “बढीमा तीन पटक फल दियो भने पहिलो वर्षको कूल आम्दानी रू १२ देखि १३ लाखसम्म हुन्छ ।”

उक्त फार्ममा उत्पादन भएका ड्रागन दमौली बजार क्षेत्रमा खपत हुने गरेको उहाँले बताउनुभयो । वैशाखमा फूल खेल्न सुरु हुने र ६० दिनभित्र खानायोग्य हुने जनाउँदै गौलीले मङ्सिरसम्म फल्ने बताउनुभयो । दोस्रो वर्षा पहिलो वर्षो तुलनामा दोब्बर उत्पादन हुने ड्रागन खेती गर्दै आएका व्यवसायीले जानकारी दिएका उहाँको भनाइ थियो ।

“कतिपय व्यवसायी फार्ममा आएर ड्रागन लैजानुहुन्छ । कुनै समयमा आफैले गाडीमा राखेर बजारसम्म लगेर बिक्री गर्ने गरेको छु”, गौलीले भन्नुभयो । उत्पादित ड्रागन प्रतिकिलो रू पाँच सयदेखि रू छ सयसम्म बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

करिब नौ रोपनी क्षेत्रफल जग्गा बीस वर्षका लागि भाडामा लिएर वार्षिक रू बीस हजार भाडा बुझाउने गरी व्यवसाय थालेको किसान गौलीले जानकारी दिनुभयो । “गतवर्ष भारतको हैदरावादबाट दुइ हजार एक सय ड्रागनका बिरुवा ल्याएर लगाएको थिएँ”, उहाँले भन्नुभयो, “यस वर्षदेखि उत्पादन दिन सुरु गरेको छ ।”

सुरुमा करिब रू असी लाख खर्च भएको भन्दै उहाँले त्यसमध्ये रू ४२ लाख पचास हजार खेतीमा लगानी गरिएको गौलीले बताउनुभयो। “फार्ममा ड्रागनका साथै च्याउ, मौरी, फलफूल लगायतका बहुआयामिक किसिमले खेती गरेको छु”, उहाँले भन्नुभयो ।

फार्ममा पाँच सय पोल निर्माण गरी एउटा पोलमा चार वटाका दरले ड्रागन बिरुवा लगाएको गौलीले जानकारी दिनुभयो। एउटा पोलमा करिब रू दश हजारका दरले खर्च भएको उहाँको भनाइ थियो । बिरुवा रोपेको पाँच महिनाको अवधिमा केही बोटमा फल लागेको अनुभव सुनाउँदै किसान गौलीले बिक्री गर्न नपाए पनि आफूहरूले चाख्न पाएको बताउनुभयो ।

ड्रागनका बिरुवा बिक्री

किसान गौलीले यसवर्ष रू तीन लाख बढीको ड्रागनका बिरुवा बिक्री गर्नुभएको छ । प्रति बिरुवा रू दुइ सयदेखि रू पाँच सयसम्ममा बिक्री गरेको उहाँले बताउनुभयो । ड्रागनका बिरुवा लिन तनहुँलगायत विभिन्न जिल्लाबाट मानिस आउने गरेका छन्।

विज्ञको अभाव

नेपालमा अर्गानिक ड्रागन खेती विधिमा विज्ञको सुझावको अभाव रहेको किसान गौलीले गुनासो गर्नुभयो। चसो मौसमा ढुसी रोगको प्रकोप बढ्ने भएकाले त्यसलाई रोकथाम गर्न अर्गानिक विषादीको प्रयोग गर्ने गरेको उहाँको भनाइ थियो ।

निमपत्ता, असुरो, तितेपाती, खिर्रो, बनमासा, सिमाली र गौमूत्र लगायतका मिसावटबाट विषादी बनाएर प्रयोग गर्ने गरेको गौलीले सुनाउनुभयो । “सोह्र वर्ष शिक्षण पेसा र १५ वर्ष दमौली बजारमा बुटिक व्यवसाय गरेकी थिएँ । अहिले ड्रागन खेतीसँगै व्यास-३ मालपोत लाइनमा ‘व्यास कोसेली घर’ समेत सञ्चालन गर्दै आएकी छु”, उहाँले भन्नुभयो ।

स्थानीयस्तरमा उत्पादित अर्गानिक तरकारी, घरेलु सामग्री तथा कपडा लगायत सामग्री उक्त कोसेली घरमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker