आँवुखैरेनीले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुको निःशुल्क वचत खाता खोलिदिने

भञ्ज्याङ समाचारदाता/तनहुँ

तनहुँको आँवुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुको निःशुल्क बाल बचत खाता खोलिदिने भएको छ । गाउँपालिकाको मंगलबार बसेको कार्यपालिका बैंठकले आगामि शैक्षिक सत्र २०८१ देखि गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयको कक्षा १० सम्म अध्ययनरत छात्रा तर्फ विद्यार्थीहरुलाई एक हजार रुपैयाँ बचत मौज्दात सहितको निःशुल्क बाल बचत खाता खोलिदिने निर्णय गरेको हो ।

सानैदेखि वचत गर्ने बानीको विकास, आफ्नो रुची तथा क्षमता अनुसारको उच्च शिक्षाको पहुँच र उद्यमसिल विकास गरी सुनौलो भविश्य निर्माणका लागि सहयोग पुर्‍याउने मुख्य उद्देश्य सहित गाउँपालिकाको शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बाल बचत खाता सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी गराए ।

यस्तै, गाउँपालिका अन्तर्गतका विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेका छन् । गाउँपालिका भित्रका विद्यालयका प्रधानाध्यापकको बैठकले आगामी शैक्षिकसत्रदेखि प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको हो ।

गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयको शैक्षिकस्तर वृद्धि र सकारात्मक सन्देश दिनका लागि सो निर्णय भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख निर्मला कुँवरले बताइन् । उनका अनुसार नयाँ शैक्षिकसत्रदेखि यो निर्णय लागू हुनेछ ।

गाउँपालिकाका जनप्रतिनिधिले विसं २०७९ को शैक्षिकसत्रदेखि सामुदायिक विद्यालयमा भर्ना गर्ने अभियान सुरु गरेका थिए । जनप्रतिनिधिको अभियानलाई साथ दिन प्रधानाध्यापक तथा शिक्षकहरूले उक्त निर्णय गरेको उनले बताइन ।

गाउँपालिकाले सुरु गरेको शैक्षिक सुधार अभियानमा शिक्षकहरूले सहयोग गरेर आफूलाई थप हौसला मिलेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । उनले भने, ‘जनप्रतिनिधिले अघिल्लो शैक्षिकसत्रमै छोराछोरी सामुदायिक विद्यालयमा पढाइसकेका छन् । शिक्षकहरूले पनि यो कदमलाई साथ दिनुभएको छ । यो ऐतिहासिक काम हो ।’

गाउँपालिकाले वि.सं. २०८० लाई सामुदायिक विद्यालयको शिक्षा रुपान्तरणको अभियानका रूपमा अगाडि बढाएको छ । सामुदायिक विद्यालयको सुधारका निम्ति सुविधासम्पन्न भौतिक पूर्वाधारको व्यवस्थापन, पूर्ण दरबन्दीको व्यवस्थापन, सिकाइ गुणस्तर अभिवृद्धिलगायतका कार्यक्रम सञ्चालन गरिने अध्यक्ष चुमानको भनाइ छ ।

आँबुखैरेनी गाउँपालिकाका छवटा वडामा ३५ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा करिब चार सय विद्यार्थी अध्ययनरत छन् । गाउँपालिकाले सामुदायिक विद्यालयमा पढाउने परिवारलाई कर छुट दिने नीतिसमेत ल्याएको छ । त्यस्तै सामुदायिक विद्यालयमा छोराछोरी पढाउने वडा नं ४, ५ र ६ का परिवारका लागि पालिकाले निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिने अध्यक्ष अध्यक्ष चुमानले बताए । उनले भने, ‘सामुदायिक विद्यालयमा आकर्षण वृद्धि गर्ने उद्देश्यसहित कर छुट, स्वास्थ्य बीमाको योजना ल्याइएको हो ।’

गाउँपालिकाले सामुदायिक विद्यालयमा अनुदानमा बस वितरणको तयारीसमेत थालेको छ । पहिलो चरणमा तीनदेखि पाँचवटा विद्यालयलाई बस हस्तान्तरण गरिने जनाइएकोे । गाउँपालिकाले आमा समूह भवनका लागि बजेट विनियोजन गर्नुभन्दा उक्त बजेट विद्यालयको सुधारमा खर्च गर्ने निर्णय गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker