अबको राजनीतिक जनताको सेवाको निम्ति हुनुपर्छ : जसपा अध्यक्ष भट्टराइ
राजकुमार आले/दुलेगौंडा

जनता समाजवादी पार्टी -जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले अबको राजनीति जनताको सेवाका निम्ति हुनुपर्ने बताएका छन । शुक्रबार तनहुँको शुक्लागण्डकी नगरपालिका-९, मालेबगर घाँरीमा जनता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष डा. भट्टराइले चुनावको बेला आएर जनतालाई अनेकन भ्रममा पार्ने, लोभ्याउने, फकाउने र धम्क्याउने नेताहरुको पुरानै बानी भएको बताउँदै अब पनि जनताहरु यस्ता भ्रममा पर्न नहुने बताए ।
‘जनता पनि पटक पटक झुक्किरहने गर्न भएन’, उनले भने, ‘अबको राजनीति भनेको जनताको सेवाको राजनीति हुनुपर्छ, हिजोको ब्याज खाएर जनता ठग्न पाइदैन ।’
अध्यक्ष डा. भट्टराइले जनतालाई विकास चाहिएको भन्दै विकासका लागि राजनीति ठिक ठाउँमा आउनुपर्ने बताए । उनले भने, ‘राजनीति मुल हो, त्यो धमिलियो भने जतिसुकै गर्छु भने पनि हुँदैन ।’
सरकारको नेतृत्व गर्नेहरुले नै बेठिक गरिरहेकाले देशको विकास हुन नसकेको टिप्पणी गर्दै नेता भट्टर्राईले भने, ‘सबैभन्दा पहिले राजनीतिलाई सच्याएर असल नेता नेतृत्वमा पुग्ने गरी जानुपर्ने र त्यसका निम्ति संविधानमा भएका कमजोरीलाई सच्याएर लैजानुपर्दछ ।’
विकासका लागि स्थायी सरकार हुनुपर्ने बताउँदै पूर्वप्रधानमन्त्री भट्टराइले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली लागु गर्नुपर्ने धारणा राखे । उनले भने, ‘देशमा एउटा स्थिर खालको सरकार चाहिएको छ, एमाले र माओवादीलाई जनताले पाँच बर्ष स्थिर सरकार चलाऊ भनेर जनमत दिएकै हुन्, तर आपसमा झगडा गरेर तीन बर्ष नपुग्दै सरकार नै ध्वस्त पारे, अहिले थला परेर बसेको छ ।’

उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली लागु गरियो भने गतिलो मान्छे छानिने उल्लेख गर्दै अहिलेको जस्तो गफगाफे र उखान टुक्के मान्छेले ठगेर खाने संस्कार हट्ने दाबी गरे । ‘दुइ करोड जनताले छान्दा असल मान्छे छान्छ, अहिले जस्तो एउटाले सरकार बनाउँछ, अर्कोले गिराएको छ, साँसद तानातन र किनबेचले जुन अस्थिरता आएको छ, यसले जनता ठगिएका छन्’, उनले भने, ‘यसलाई बदल्न अब हामी प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमै जानुपर्छ । अन्यथा, अहिलेकै अवस्था दोहोरिरहन्छ ।’
डा. भट्टराइले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राजनीतिक दलका नेताको खल्तीबाट झिकेका व्यक्तिहरु भएकाले माथिको भष्ट्रचार कसैले रोक्न नसक्ने बताउँदै बलियो जनलोकपाल बनाएर भष्ट्रचारमा मुछिएकाहरुको छानबीन गरी ठाडै कारबाही गर्न सक्ने व्यवस्था लागु गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै, जसपाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका उर्जा जलश्रोत तथा सिंचाईमन्त्री हरिशरण आचार्यले आफुहरु जनताको सेवामा तल्लीन रहेको बताए । उनले आफुहरु कम बोल्ने र जनताको घरदैलोमा पुगेर आवश्यकता बुझ्दै प्राथमिकताको आधारमा काम गर्ने दाबी गरे ।
मन्त्री आचार्यले घाँरी मालेबगरमा पहाडखोलाको बाढी व्यवस्थापनका लागि जनताले राखेको मागलाई सम्बोधन गरी डिपिआर तयार पारिसकेको बताउँदै आवश्यक बजेट विनियोजन गरी बाँकी कामलाई अगाडी बढाउने प्रतिवद्धता जनाए ।










