मुग्लिङ–पोखरा सडक विस्तार : पश्चिम खण्डमा ३१ र पूर्वी खण्डमा ६८ प्रतिशत मात्रै काम

तनहुँ : पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक खण्ड अहिले स्तरोन्नती कार्य भइरहेको छ । सम्झौताअनुसार निर्माण पक्षले राजमार्ग विस्तारको कामलाई अगाडि बढाएको भए अहिलेसम्म पूर्णता पाइ सक्थ्यो । तर सरकारले समयमै लाइन क्लियर नगरिदिँदा र निर्माण पक्षले कामको गति नबढाउँदा राजमार्ग विस्तार कार्यले पूर्णता पाउन सकेको छैन ।
तीन वर्षभित्र सडक निर्माण गरी हस्तान्तरण गर्ने गरी राजमार्गको पूर्वी खण्ड (आँबुखैरेनी–जामुने) २०७७ माघ १७ मा र पश्चिम खण्ड(जामुने–पोखरा) २०७८ जेठ २ मा सरकार र निर्माण पक्षबीच सम्झौता भएको थियो ।
२०८१ वैशाखसम्म काम सक्ने गरी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा पूर्वी खण्डको ठेक्का सम्झौता गरेको हो। तर, तोकिएको समयावधि भित्र काम सम्पन्न नभएपछि २०८१ फागुन १ गतेसम्मका लागि म्याद थपिएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए । उनका अनुसार यस खण्डको भौतिक प्रगति ६८ प्रतिशत र वित्तीय प्रगति ५० प्रतिशत भएको छ ।
यस्तै वि.सं. २०८१ भदौसम्म काम सक्ने गरी चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले पश्चिम खण्डको काम ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँको लागतमा सक्ने गरी सम्झौता गरेको थियो । सम्झौता अनुसार निर्माण पक्षले काम अगाडि बढाउन नसक्दा २०८१ मंसिर महिनासम्मका लागि म्याद थपिए पनि यो अवधिमा समेत काम सक्ने अवस्था नरहेकाले पुनः दोस्रो पटक म्याद थप्न निर्माण पक्षले प्रक्रिया अगडि बढाएको पश्चिम खण्डका इन्जिनियर नारायण पौड्यालले बताए । उनका अनुसार यस खण्डमा हालसम्म ३१ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।
कोरोना अवधिको थप १०१ दिन सहुलियत समय सक्किन डेढ महिना रहेको पश्चिम खण्डमा इन्जिनियर पौड्यालले बताए । ‘हालसम्म २१.१ किलोमिटर दुईतर्फी सडक कालोपत्र गरिएको छ,’ उनले भने, ‘बाँकी रहेको एक÷दुई महिनामा काम सम्पन्न नहुने हुनाले म्याद थप्नुपर्ने देखिएको छ ।’
हाल दुलेगौंडा खण्डमा कालोपत्र र कोत्रे खण्डमा नाली निर्माणको तयारी भइरहेको उनले बताए । कास्कीस्थित सेती पुलसहित ५ ठूला र ८ साना गरी १३ वटा पुल निर्माण गर्नुपर्नेमा ९ वटामात्रै सम्पन्न गरिएको र अन्य निर्माणाधीन अवस्थामा रहेको उनले बताए । सेती पुलको २७ प्रतिशत भौतिक प्रगति भएको छ ।
‘काम गर्ने स्थल पूर्ण क्लियर नभएर आफ्नो हिसाबबाट काम गर्न सकिएको छैन,’ इन्जिनियर पौड्यालले भने, ‘खानेपानीको पाइप, विद्युतका पोल, कुवा, धारा उपभोक्ता समितिका कारण काम गर्न ढिलाइ भइरहेको छ । निर्माण कम्पनीले जता खाली छ, त्यतै कालोपत्रको काम गर्दै आएको छ ।’
यस्तै, ४१.४५ किलोमिटर दूरी रहेको पूर्वी खण्डमा आँबुखैरेनी, डुम्रे र जामुने खण्डको करिब ६३ किलोमिटर सडक एकतर्फी कालोपत्र गरिसकिएको पूर्वी खण्डका इन्जिनियर पाण्डेले बताए। उनले भने, ‘यसमध्ये २९ किलोमिटर सडक ४ लेन र ५ किलोमिटर २ लेन सडक कालोपत्र गरिएको छ ।’
पूर्वी खण्डमा १३ वटा साना पुल बनिसकेका छन् भने ३ वटा ठूला पुल निर्माणाधीन अवस्थामा छन् । मादी नदीमाथिको पुलको काम ४० प्रतिशत सम्पन्न भएको उनले बताए ।
‘बर्खायामका समयमा काम सुस्त गतिमा भएको थियो तर अब तिहारलगत्तै तीव्र गतिमा काम गर्नेछौं,’ उनले भने, ‘दमौली र डुम्रे खण्डमा तिहारलगत्तै कालोपत्र गर्ने तयारीमा छौं ।’
वि.सं. २०२६ मा रेखाङ्कन भएको पृथ्वीराजमार्गमा सवारी साधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा साबिक २ लेनमा रहेको सडक चार लेनमा विस्तार गर्न लागिएको हो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker