दमौलीमा नवौ तनहुँ कृषि, पर्यटन वस्तु तथा प्रविधि महोत्सव गर्ने तयारीमा तउवा संघ

दमौली : ‘तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार’ भन्ने नारा सहित तनहुँ उद्योग वाणिज्य संघले दमौलीमा नवौं तनहुँ कृषि, पर्यटन वस्तु तथा प्रविधि महोत्सव गर्ने तयारी गरेको छ । आगामी पुस २५ देखि फागुन ७ गतेसम्म दमौलीस्थित विपि वनवाटीकमा महोत्सव सञ्चालन गरिने मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । महोत्सवका सहआयोजकमा तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाई, संरक्षक जिल्ला समन्वय समिति र प्रबर्धकमा नेपाल उद्योग वाणिज्य महासंघ र व्यास नगरपालिका रहेको बताइएको छ ।
पत्रकार सम्मेलनमा महोत्सवका निर्देशक एवं संघका निवर्तमान अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले कोभिडपछि आर्थिक गतिविधि सुस्त रहेको अवस्थामा आर्थिक चलायमान गराउने उद्देश्य सहित महोत्सव आयोजना गर्न लागिएको बताए । उनले भने, ‘महोत्सवले स्थानीय उत्पादन, घरेलु सामग्रीको बजारीकरणका लागि सहयोग पु¥याउने र पर्यटकीय स्थलको प्रचारप्रसारमा टेवा पुग्ने विश्वास गरिएको छ ।’
वि.सं. २०७८ सालमा आठौ तनहुँ महोत्सव भएकामा तीन वर्षपछि नवौ महोत्सव गर्न लागिएको बताउँदै उनले महोत्सव सफल बनाउन सबैसँग आग्रह गरे। उनले भने, ‘महोत्सवमा कृषि र घरेलुका स्टल निःशुल्क उपलब्ध गराइने र कृषि सामग्री विक्रीका लागि दशवटै स्थानीय तहसँग समन्वय गर्ने तयारी भएको छ ।’
संघका अध्यक्ष वैकुण्ठनाथ मिश्रले महोत्सवमा स्थानीय कृषक आफैले कृषि सामग्री ल्याएर विक्री गर्ने र उपभोक्ताले खरिद गर्ने व्यवस्था मिलाउने बताए ।
जिल्लामा विभिन्न औद्योगिक स्थानको पहिचान गरी लगानीकर्ताहरुलाई उद्योग स्थापना गर्ने वातावरण सृजना गर्नका साथै विभिनन व्यक्ति एवं लगानी, व्यापार, व्यवसाय, साना तथा मझौला र ठूला उद्योग स्थापना गर्ने कार्यमा सहजिकरणको वातावरण बनाउन यस महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै अध्यक्ष मिश्रले भने, ‘निर्यात योग्य वस्तुको उत्पादन पहिचान गरी बजार प्रवद्र्धन एवं निर्यातमा सहजिकरण गर्ने, उत्पादक र उपभोक्ताबिचको सम्बन्ध विस्तार एवं वृद्धि गर्नु महोत्सवको मुख्य उद्देश्य हो ।’
महोत्सवका माध्यमबाट कृषि, पर्यटन, हस्तकला, एद्योग सम्बन्धी सीप र व्यवसायको प्रवद्र्धन गर्ने, लगानी र उत्पादनका अवसरहरुको खोजी तथा अवसर सृजना गर्ने, कृषि क्षेत्रका सुन्तला, तरकारी, मास, अदुवा आदिलाई व्यवसायिक उत्पादनका रुपमा उत्पादन गर्न सहयोग गरी उत्पादित उपजको बजारिकरणको व्यवस्था मिलाउने गरी महोत्सव आयोजना गरिएको अध्यक्ष मिश्रले जानकारी गराए ।
महोत्सवमा परम्परागत चोयाका उत्पादनहरु डोको, नाङ्लो, मान्द्रो जस्ता वस्तुका साथै अन्य परम्परागत वस्तुको उत्पादनलाई प्राथमिकतामा राखि त्यस्ता वस्तुहरुको व्यवसायिककरणका साथै बजारीकरणको व्यवस्था मिलाउने दाबी गरेको आयोजकले आधुनिक एवं नयाँ प्रविधि र उपकरणबारे जानकारी गराउने, स्थानीय श्रमको संरक्षण गरी स्वरोजगारमुखी बनाउने, स्थानीय संस्कृति, भाषा, भेषभूषाको संरक्षण गर्दै मौलिक संस्कृतिको विकास गरी संरक्षण र प्रवद्र्धन गर्ने, अल्लो र सिस्नुबाट उत्पादित सामाग्रिको प्रदर्शन एवं प्रवद्र्धन गर्ने तयारी गरिएको छ ।
तनहुँमा उत्पादित दुध, घाँस खेती, कुखुरा, बाख्रा, मौरी पालन जस्ता क्षेत्रका विज्ञहरुद्वारा आवश्यक परामर्श गरी व्यवसायिक रुपमा अगाडि बढाउन प्रेरित गर्ने महोत्सवको उद्देश्य रहेको अध्यक्ष मिश्रले जानकारी गराएका छन्।
उक्त महोत्सवको दुई लाख बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवमा पाँच करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरेको आयोजकले महोत्सव स्थलमा खानाका १८, जनजाति खानाका ६, कृषि उत्पादनका १५, अटे कम्पनीका ८, सूचना केन्द्रका एक स्टल गरी करिब २०० वटा स्टल तयार गर्ने भएको छ ।
पत्रकार सम्मेलनमा व्यास नगरपालिका–२ का वडाध्यक्ष काशीराम श्रेष्ठ, व्यास नगरपालिका–४ का वडाध्यक्ष मनबहादुर गुरुङ, नेपाल पत्रकार महासंघका अध्यक्ष उज्वल पौडेल लगायतले महोत्सव सफल बनाउन र जिल्लामा उत्पादित उपजलाई बजारीकरण गरी आर्थिक चलायमान गर्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग र सहकार्य गर्ने बताएका थिए ।










