राष्ट्रिय परिचयपत्र बनाउन सास्ती, सेवाग्राहीलाई बिहान ६ बजेदेखि लाइन बस्नुपर्ने बाध्यता

तनहुँको व्यास नगरपालिका–७ तल्लोखर्क निवासी ६८ वर्षीया हरिमाया बानियाँ बिहीबार बिहानै प्रशासन कार्यालय आइपुग्नुभयो । राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गर्न दिनभर लाइन बस्दा पनि उहाँको पालो आएन ।
बिहीबार घर फर्किएर आज बिहानै ६ बजे उहाँ पुनः प्रशासन कार्यालय आउनुभयो । आज उहाँले बिहान १० बजे राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गराउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय परिचयपत्रका लागि निकै दुःख रहेछ । दुई दिनमा बल्ल बल्ल पालो आएर काम भयो ।” सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि परिचयपत्र बनाउन आउँदा कार्यालयमा निकै भीड रहेको उहाँको भनाइ छ ।
व्यास नगरपालिका–९ माझफाँटकी मीठुमाया विकले दुई दिनको पालो कुरेपछि काम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बिहीबार बिहानै ६ बजेदेखि आएर बसेँ, दिनभर बस्दा पालो आएन । आज फेरि बिहानै आएर बसेपछि पालो आयो र काम बन्यो ।”
म्याग्दे गाउँपालिका–१ गुणादी निवासी लक्ष्मी खनालले प्रशासन कार्यालयमा कर्मचारीको अभावमा जनतालाई सास्ती भएको बताउनुभयो । उहाँले दुःखेसो पोख्दै भन्नुभयो, “यस्तो गर्मीमा पाउनु दुःख पाइयो । परिचयपत्र बनाउन आएको पालो आउँदैन । टन्टलापुर घामले टाउको दुखिसक्यो । बिहानैदेखि भोकभोकै छु ।”
आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने अनिवार्य गरिएपछि प्रशासन कार्यालयमा बिहानै ६ बजेदेखि भीड हुने गरेको छ । सोही भीडमा पालो कुर्दै गरेको अवस्थामा भेटिनुभएकी उहाँले सहजरुपमा सेवा पाउने वातावरण बनाउन माग गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले जनतालाई कसरी हुन्छ सहजरुपमा सेवा दिनुपर्छ । यसरी दुःख दिएर भएन ।”
व्यास –१४ का देवबहादुर आलेले आमाको राष्ट्रिय परिचयपत्र बनाउन बिहान ७ बजेदेखि लाइनमा बसेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला वडा कार्यालयमा दर्ता गरेको, त्यतिबेलाको नम्बर अझै आएन । त्यही भएर प्रशासनमै गएर दर्ता गर्नुपर्छ भनेर बिहानैदेखि बसेको पालो नै आउँदैन ।”
यतिबेला राष्ट्रिय परिचयपत्र दैनिकजसो जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको घुइँचो लागेको छ । जिल्ला प्रशासन कार्यालयमा हाल दुई वटा विवरण दर्ता स्टेसनमार्फत परिचय पत्रको फारम भरिँदै आएको छ । उक्त दुई वटा दर्ता स्टेसनको दैनिक क्षमता करिब एक सय जना रहेकामा केही दिन यता राष्ट्रिय परिचयपत्रको लागि दैनिक चार सयसम्मको भीड लाग्ने गरेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।
परिचयपत्र बनाउन ज्येष्ठ नागरिक बिहान ६/७ बजे नै जिल्ला प्रशासनमा लाइन लाग्न आइपुग्ने गरेको गौतमको भनाइ छ । सेवाग्राहीको अत्याधिक भीड बढेपछि कर्मचारीलाई अतिरिक्त भत्ता दिने गरी बिहान ७ देखि साँझ ७ बजेसम्म काममा लगाइएको प्रजिअ गौतमले बताउनुभयो ।
उहाँले भन्नुभयो, “त्यतिा हुँदा पनि भीड थामिनसक्नुभएको छ । भीड बढेपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशकसँग उपकरण सहितको थप तीनवटा दर्ता टोली थप गर्न अनुरोध गरेको छु ।” उपकरणसहित तीनवटा दर्ता टोली प्राप्त भएमा कर्मचारीको व्यवस्थापन गरी स्थानीय तहका वडाहरुमा नै राष्ट्रिय परिचयपत्रको फारम भर्ने व्यवस्था मिलाउन सकिने प्रजिअ गौतमको भनाइ छ ।
उहाँले भन्नुभयो, “८०/९० वर्षका बुबाआमा पनि दिनभरि लाइनमा बस्न बाध्य हुनुभएको छ । तीनवटा स्टेसन थप भएमा सम्बन्धित वडामा नै गएर फारम भर्ने व्यवस्था मिलाउन सकिन्थ्यो ।” परिचयपत्र बनाउन सेवाग्राहीको भीड बढेपछि जेठ महिना लागेपछि परिचयपत्र वितरण कार्य पनि रोकिएको छ । त्यहाँ रहेका कर्मचारीले फारम भर्न नै नभ्याउने भएको कारण हाललाई परिचयपत्र वितरण कार्य रोकिएको प्रजिअ गौतमले बताउनुभयो ।
स्थानीय तहहरुले पनि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य भएको हुँदा राष्ट्रिय परिचयपत्रको फारम भर्न अनुरोध गरेका छन् । जिल्लाका स्थानीय तहले सूचना प्रकाशित गरी आगामी साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता पाउने नयाँ लाभग्राही तथा भत्ताको नवीकरण गर्ने लाभग्राहीले राष्ट्रिय परिचयपत्र अनिवार्य भएको हुँदा राष्ट्रिय परिचयपत्र बनाउन बाँकी रहेका लाभग्राहीले राष्ट्रिय परिचयपत्रको फारम भर्न अनुरोध गरेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker