तनहुँका पशुवस्तुमा लम्पीस्किन संक्रमण फैलिदै, ४३ गाईगोरु मरे
भञ्ज्याङ समाचारदाता/तनहुँ

तनहुँमका पशुवस्तुमा लम्पीस्किन संक्रमण फैलिदै गएको छ । तनहुँका कृषकहरुले पाल्दै आएको पशुमा लम्पीस्किन संक्रमण फैलिदै गएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
हालसम्म तनहुँमा ६४६ गाईगोरुमा लम्पीस्किनको संक्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले बताए । जिल्लाका १० वटै पालिकामा लम्पीस्किन फैलिएको र संक्रमणबाट आँबुखैरेनी गाउँपालिका बढी प्रभावित रहेको डा श्रेष्ठले बताए ।
उनका अनुसार आँबुखैरेनीमा २३५, भिमाद नगरपालिकामा १८५, देवघाट गाउँपालिकामा ३८, घिरिङ गाउँपालिकामा ८७, शुक्लागण्डकी नगरपालिकामा ४५, बन्दिपुर गाउँपालिकामा २४, भानु नगरपालिकामा २१ र व्यास नगरपालिकामा १० पशु लम्पीस्किनको संक्रमणबाट प्रभावित भएका छन् । ऋषिङ र म्याग्दे गाउँपालिकाको हालसम्म तथ्याङ्क आएको छैन ।
ऋषिङ गाउँपालिकामा भने कम संख्यामा पशुमा संक्रमण देखिएको बताइएको छ । डा श्रेष्ठका अनुसार संक्रमण भएका पशुमध्ये ४३ गाइगोरु मरेका छन् । आँबुखैरेनीमा १६, भिमादमा ११, घिरिङमा ११, बन्दिपुरमा दुइ, देवघाटमा दुइ र म्याग्देमा एक गाईगोरु लम्पीस्किनको संक्रमणबाट मरेका छन् । डा. श्रेष्ठले भने, ‘खासगरी यस रोगबाट मर्ने नै अवस्था होइन, तर समयमा पशुपालक किसान, स्थानीय सरकार र विज्ञ केन्द्र नै सचेत हुनुपर्दछ ।’
‘व्यवसायिकरुपमा बढी पशु पालिएका क्षेत्रमा संक्रमण फैलिए बढी नोक्सान हुनसक्ने खतरा बढ्दै गएको छ’, उनले भने, ‘यसको निर्मूल तथा नियन्त्रणका लागि पालिका मुख्यरुपमा सचेत हुनुपर्छ, यसका लागि सबै पालिकालाई आवश्यक तयारीका साथ उपचारमा खट्टनि भनेका छौं ।’
डा. श्रेष्ठका अनुसार विशेषगरी लम्पीस्किन लागिसकेका पशुको उपचार र नियन्त्रणका मुख्य उपाय नै खोप हो, यसका लागि पालिकाका सचेतना आवश्यक छ, पालिकाले खोप खरिद गर्नुपर्छ । खोप लगाएर पशुवस्तुको ‘इम्युनिटी पावर’ वृद्धि गर्नुपर्ने पशुचिकित्सकहरु बताउँछन् ।
व्यास-५ चिन्टुटारका पशुपालक किसान नरे नेपालीले केही दिनअघि एउटा गाईमा लम्पीस्किन देखिएको बताए । लम्पीस्किन देखिएकाले विज्ञ केन्द्रमा पशुवस्तुको उपचार तथा रोग नियन्त्रणका लागि जानकारी गराउन आएका थिए ।
सोही ठाउँका बलबहादुर दरैले भने, ‘चार/पाँच दिनअघि मात्रै एउटा गाईमा लम्पीस्किन देखिएको थियो, अहिले फेरि अर्कोमा देखिएको छ, यसको उपचार तथा नियन्त्रणका बारेमा जानकारी लिन विज्ञ केन्द्रमा आएका हौं ।’ पशुपालकको मुख्य आय नै दूध बिक्री भएको र यसरी रोग लागेपछि दूध बिक्री गर्न पाइँदैन भने आम्दानी कसरी गर्ने भन्ने समस्या भएको कृषक दरैले बताए ।

खोपको व्यवस्थापन गरी संक्रमण भएका गाईवस्तुलाई छुट्टै स्थानमा राख्न डा श्रेष्ठले अनुरोध गरेका छन् । उनले भने, ‘लम्पीस्किन भएका गाईवस्तुलाई आइसोलेशन गरेर उपचार गर्ने र दूध बिक्री गर्नुहुदैन, दूध तथा संक्रमण भएका गाईलाई स्याहारसुसार गरी अर्कोतर्फ जाँदा मान्छेको माध्यमबाट पनि यो रोग सर्न सक्छ, त्यसले गर्दा सचेत हुनर्ुपर्छ ।’
लम्पीस्किन भाइरल रोग हो । झिँगा, लामखुट्टे, विभिन्न किराको टोकाइबाट जोगाउनुपर्ने हुन्छ । यो रोगको संक्रमणले पशुको शरीरमा फोका निस्कने हुन्छ । यस रोगको संक्रमणले पशुवस्तुलाई कमजोर बनाउने गर्दछ ।
संक्रमण भएका पशुवस्तुलाई अन्य पशुसँग नराख्ने, चरानमा नलैजाने, त्यस्ता वस्तुलाई आवतजावतमा रोक लगाउने, जैविक सुरक्षा गर्नुपर्ने अवस्था रहेको छ । सकेसम्म आइसोलेशन गर्ने, पशुवस्तुको इम्युनिटी पावर वृद्धि गर्न खोप लगाएर बचाउन सकिने विज्ञ केन्द्रले जनाएको छ ।
लम्पीस्किन रोग नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारसमक्ष ‘आकस्मिक उपचार’का लागि कोष स्थापना गर्न माग गरिएको डा श्रेष्ठले बताए । कोष स्थापना गरिएमा यस्ता आकस्मिकरुपमा लाग्ने रोग तथा बाढीपहिराबाट पशुपालक किसानलाई क्षति भएमा सहयोग गर्न सहज बनाउने गरी प्रदेश सरकारसमक्ष माग गरिएको उनलेब ताए ।
पशुपालन गरिएका क्षेत्रमा ठूला फार्म सञ्चालन गरिएका छन् । त्यस क्षेत्रमा व्यावसायिक पशुपालन गरिएकाले यस रोगको संक्रमण भएमा जिल्लामा अझ प्रकोपले महामारीको रुप लिने भएकाले सचेतना अपनाउनुपर्ने बताइएको छ । विज्ञ केन्द्रले स्थानीय सरकारलाई सचेतना अपनाउन सुझाव तथा खोप खरिद गर्न अनुरोध गरिसकेको छ ।










