शुक्लागण्डकी महोत्सवमा बद्रिले नचाए, भिरखोइरेले हसाए

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी–५ बेलचौतारामा जारी चौथो शुक्लागण्डकी महोत्सवमा बुधवार दर्शकहरुको उल्लेख्य सहभागिता रहेको थियो । महाशिवरात्री पर्वसँगै सार्वजनिक विदा समेत रहेकाले दर्शकहरुको सहभागिता उत्साहजनक रुपमा रहेको महोत्सवका मुल संयोजक समुन्द्रराम श्रेष्ठले बताए । उनले स्टलहरुमा किनमेलका लागि दर्शहरुको भिडभाड रहेको बताए ।
यस्तै, बुधवार महोत्स्वमा चर्चित लोकदोहोरी गायक बद्रि पंगेनीसँगै गायिका सम्झना लामिछाने, लाली थापा, ज्योती लोहनीले आफ्नो सांगितिक प्रस्तुतीले दर्शकलाई नचाएका थिए । महोत्सवमा शुक्लागण्डकीका हास्यकलाकार सुरज भिरखोइरेले हाँस्यव्यङ्गय मार्फत दर्शकहरुलाई हसाएर मनोरञ्जन प्रदान गरेका थिए ।
मगर दिवसका दिन विहिवार पनि तनहुँका सबै पालिकाले स्थानीय विदा दिएका छन् । शुक्रवार ग्याल्पो लोसारमा विदा छ । आगामी दिनमा पनि निरन्तर दर्शकहरुको उपस्थिति राम्रो रहने अपेक्षा गरिएको बरिष्ठ उपाध्यक्ष सुमन सापकोटाले बताए । उनका अनुसार विहिवार लोकदोहोरी गायक रवि कार्की, कुमार पुन, सिता परियार, सन्तोष सुवेदी, सुभद्रा श्रेष्ठ लगायतको सांगितिक प्रस्तुति रहनेछ ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको ओजनामा फागुन २० गतेसम्म सञ्चालन हुने महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था लगायत कुल १७५ स्टल समावेश गरिएको छ ।
साथै राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रा, खानाका परिकार, पुष्प प्रदर्शनी तथा विक्रि, दैनिक उपभोग्य बस्तुको प्रदर्शनी एव बिक्री, हस्तकलाका सामान विक्रि तथा प्रदर्शनीलाई समावेश गरिएकोे संघका महासचिव एवं प्रवक्ता सुजन श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता समेत समावेश गरिएको छ ।
सम्पूर्ण वडा व्यवस्थापन समिति र महिला उद्यमी विकास समितिको सह–आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन वोर्डको प्रवर्द्धनमा महोत्सव भएको हो ।
महोत्सव अवधिभर २ लाख दर्शकको सहभागिता र करिव ५ करोड रुपैयाको आर्थिक कारोवार हुने अनुमान छ ।










