कोरोनाबाट तङ्ग्रिदै गरेको दमौली डेंगु संक्रमणले थलिदै, तीन जनाको मृत्यु, डेंगु नियन्त्रणका उपाय खोज्दै सरोकारवाला निकाय

भञ्ज्याङन्यूज

कोरोना संक्रमणबाट तङ्ग्रिदै गरेको तनहुँको सदरमुकाम दमौलीमा डेंगु संक्रमणबाट थलिन पुगेको छ । अहिले डेंगु संक्रमण नियन्त्रण बाहिर जाने खतरा बढेको छ । डेंगु संक्रमणका कारण दमौलीमा तीन जनाले ज्यान गुमाउनुका साथै पछिल्ला दिन संक्रमितको संख्या हृवात्तै बढ्दै जान थालेको छ ।

डेंगु संक्रमण हृवत्तै बढेपछि अहिले सरोकरवाला निकाय रोकथाम तथा न्यूनिकरणका उपाय खोज्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय तनहुँले मंगलबार दमौलीमा जिल्ला समन्वय समिति तनहुँ, व्यास नगरपालिका, स्वास्थ्य कार्यालय तनहुँ, उद्योग बाणिज्य संघ, होटल व्यवसायी संघ, सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी संघ संस्था, पत्रकार, युवा क्लव लगायतका प्रतिनिधिहरु बीच छलफल गरी रोकथामका उपायका विषयमा छलफल गरेको छ ।

डेंगु संक्रमितको अवस्था, रोकथाम, उपचार, प्रचारप्रसार र नियन्त्रणको उपायका विषयमा सहभागिहरु बीच छलफल गरिएको छ । छलफलमा उठेका जिज्ञासाहरूको विश्व स्वास्थ्य संगठनका प्रतिनिधि, दमौली अस्पताल तथा जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र वेलचौतराका चिकित्सकहरुले डेंगु संक्रमण रोकथाम, उपचार लगायतका विषयमा सहजिकरण गरेका थिए ।

गण्डकी प्रदेशमा अहिलेसम्म करिब २ हजार पाँच सय जनामा डेंगु संक्रमण पुष्टि भएको र सबै भन्दा बढी तनहुँ जिल्लामा संक्रमित रहेको बताइएको छ। स्वास्थ्य कार्यालय तनहुँका अनुसार तनहुँमा हालसम्म १ हजार ८९४ जनामा डेंगु संक्रमण पुष्टि भएकोमा दमौलीमा मात्रै १ हजार ६८९ जना रहेका छन् ।

सदरमुकाम समेत रहेको ब्यास नगरपालिकाको २, ३ र ४ नम्बर वडाका बासिन्दामा संक्रमण बढी देखिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए । उनले भने, ‘अस्पतालमा लक्षण सहित परीक्षणमा आएका ९० प्रतिशत बिरामीमा डेंगु पुष्टि भएको छ । डरलाग्दो अवस्था बनेको छ ।’

खुला क्षेत्रको सरसफाई गरेर डेंगु फैलाउने लामखुट्टे नियन्त्रणमा सम्भव नभएपछि घरघरमा लामखुट्टे ‘खोज र नष्ट गर’ गर कार्यक्रमलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने निष्कर्षमा सरोकारवाला निकाय पुगेका छन् । प्रमुख जिल्ला अधिकारी छबि रिजालले भने, ‘नगरपालिका, स्थानीय प्रशासन, रेडक्रस, स्वास्थ्य कार्यालय सहित सबै निकाय यो बेला परिचालन गरेर सरसफाई अभियान संचालन गर्ने र लामखुट्टेको लार्भा तथा अण्डा नियन्त्रण अभियान चलाइने छ । डेंगु नियन्त्रणको एकमात्र विकल्प भनेको लामखुट्टे नियन्त्रण हो । त्यसका लागि टिम नै परिचालन गर्र्छौ ।’

कात्तिक महिनाभर डेंगुको संक्रमण बढ्ने र यस वर्षनियन्त्रणमा लिइएपनि पुनः अर्को वर्ष समेत संक्रमण थप बढ्न सक्ने जोखिम रहेको हुँदा यसकालागि हामी आम सर्वसाधारणनै सचेत बन्नुको विकल्प नभएको दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले बताए । उनले भने, ‘फूलबारी, गमला, एसी, प|mीज, छत, कौसीको पानी जम्ने ठाउँमा डेंगु संक्रमण फैलाउने लामखुट्टेले फुल पार्ने र त्यो फुल एकवर्षसम्म पनि रहन सक्ने भएकाले सधैंभरी जोखिम रहन्छ ।’

खासगरी वर्षाको पानी जम्ने भाडाकुँडा, टिनका बट्टा, पुराना टायर, खालि ड्रम, फूलदानी, गमला, पानी ट्यांकी लगायतका भाडामा लामखुट्टेले फुल पार्छ । त्यसैले वर्षातको पानी जम्ने सिजनमा यो रोग फैलिने गरेको चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार डेंगु संक्रमण भएपछि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड जोर्नी दुख्ने गर्छ । त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकि लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने, पेट दुख्ने जस्ता समस्या देखिने चिकित्सकले बताएका छन् ।

यस्तै, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले डेंगु संक्रमण बढिरहेका बेला दमौलीका क्लिनिक गैरजिम्मेवार भएको बताएका छन्। क्लिनिकमा चिकित्सिक बिना बिरामी भर्ना गरेर राख्ने र अन्तिम भएपछि मात्रै अस्पताल पठाउने गरिएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय तनहुँले आयोजना गरेको डेंगु नियन्त्रण सम्बन्धी बैठकमा बोल्दै उनले भने, ‘दमौलीका क्लिनिक अराजकताको पराकाष्ठा भए । २/३ दिन क्लिनिकमा उपचार गरेर स्वास्थ्य अवस्था बिग्रिएपछि मात्रै अस्पताल पठाउने गरिएको छ ।’

उनले डेंगु नियन्त्रणका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए। हरेक घर सचेत नभएसम्म डेंगु नियन्त्रण गर्न सम्भव नरहेको हुँदा यस कार्यमा सबैले आ-आफ्नो ठाउँबाट हातेमालो गर्न नगरप्रमुख न्यौपानले आग्रह गरे ।

यस्तै, तनहुँमा डेंगु संक्रमण महामारिकै रुपमा देखिन थालेपछि गण्डकी प्रदेस सरकार समाजिक विकास मन्त्रीको निर्देशनमा तनहुँको दमौली अस्पतालमा एक जना एमडिजिपि डाक्टर सहित ३ जना टोली आएको छ । सो टोलीले एक्सन प्लान बनाएर काम सुरु गरेको दमौली अस्पतालका प्रमुख बरालले बताए । उनका अनुसार दमौली अस्पतालमा डेंगुको निःशुल्क परीक्षण गर्ने गरिएको छ।

यस्तै, दमौली अस्पतालमा दैनिक बिरामीको संख्या बढेपछि व्यास नगरपालिकाले आफना स्वास्थ्यकर्मीलाई अस्पतालमा खटाइएको छ । नगरपालिकाले मंगलबारदेखि अस्पतालमा पाँच जना स्वास्थ्यकर्मी परिचालन गरेको नगरप्रमुख न्यौपानेले बताए ।

उनले भने, ‘अहिले डेंगुका बिरामी बढेकाले अस्पतालमा उपचार तथा ल्याब परीक्षणमा समस्या देखिएको र अस्पतालको जनशक्तिले धान्न नसक्ने अवस्था आएकाले तत्कालको लागि हामीले उक्त अस्पतालमा स्वास्थ्यकर्मी खटाएका छौं ।’ नगरपालिकाले एक जना डाक्टर, दुइ जना ल्याबका कर्मचारी र दुइ जनालाई इमर्जेन्सीमा परिचालन गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए ।

यस्तै नगरपालिकाले विद्यालयमै पुगेर विद्यार्थीहरुलाई डेंगु सम्बन्धी सचेतना कार्यक्रम गर्न सुरु गरेको छ । विद्यालयमै गएर डेंगु रोग नियन्त्रण र रोकथाम अभियानलाई तीव्रता दिएको स्वास्थ्य शाखा प्रमुख सोतीले बताए। डेंगु नियन्त्रण रोकथामका लागि विषादी र्छकने गर्दा मानव स्वास्थ्यमा हानि गर्ने भएपछि स्वास्थ्य सम्बन्धी विभिन्न सचेतना मूलक कार्यक्रमलाई जोड दिएको उनले बताए । जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूको टोली सहित विद्यालयमै पुगेर डेंगु रोग सम्बन्धी रोकथाम तथा नियन्त्रण, खोज र नष्ट गर्ने तरिकाका विषयमा विद्यार्थीलाई सचेतना गर्राईएको छ ।

डेंगु संक्रमणबाट तीन जनाको मृत्यु

डेंगुको संक्रमणबाट तनहुँमा यसवर्ष तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत असार १६ गते व्यास-१० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास-११ का १५ वर्षीय युवा र यही असोज ८ गते व्यास-२ का १३ वर्षीया बालिकाको डेङ्गु संक्रमणबाट मृत्यु भएको हो ।

गत भदौ महिनाको अन्तिम सातायता दमौलीमा डेंगुको संक्रमण फैलिँदै गएपछि स्वास्थ्यकर्मी परिचालन गरी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जिल्लामा डेङ्गुको संक्रमण बढेकाले सतर्कता अपनाउन आग्रह गरे ।

एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण हुन् ।

डेंगुबाट बच्नका लागि मुख्यतयाः लामखुट्टेको टोकाइबाट जोगिनुपर्दछ । पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधैं राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्‍याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker