घिरिङमा शालिग्राम कोरिडर लोकमार्ग र द्रुपद खोला पुलको शिलान्यास
विकासको काम सबैको साँझा हो : मन्त्री गुरुङ
- भञ्ज्याङ समाचारदाता (घिरिङ)
धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको शाल्रि्राम कोरिडर लोकमार्गको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले घिरिङ गाउँपालिका-१ स्थित बैडीमा एक कार्यक्रमका बीच विहीबार लोकमार्गको शिलान्यास गरेका हुन् ।
गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यालय तनहुँले लोकमार्गको तनहुँ स्थित वैडी-घिरिङ-देवघाट खण्ड अन्तरगत वैडीको कृष्ण मोटर मार्गसंग जोडिएको ठाउँलाई सून्य प्वाइन्ट मानि शिलान्यास गरिएको हो ।

लोकमार्गको शिलान्यास गर्दै मन्त्री गुरुङले विकासको काम सबैको साँझा भएको बताएका छन् । शालिग्राम कोरिडर लोकमार्ग गण्डकी प्रदेशका गौरवको आयोजना रहेको चर्चा गर्दै मन्त्री गुरुङले यो मार्ग निर्माण सम्पन्न पश्चात ओझेलमा परेको घिरिङ गाउँपालिकाको क्षेत्रमा विकासको ढोका खुल्ने बताए ।
कृषि उपजको उर्वर भूमि पुट्टार, बैडी, अत्रैली लगायतका क्षेत्रसंगै भएर यो लोकमार्ग जोडिने र धार्मिक हिसावले पनि यो मार्ग महत्वपूर्ण रहेको हुँदा कृषि, धार्मिक, शैक्षिक, पर्यटकीय क्षेत्रको विकासमा टेवा पुग्ने मन्त्री गुरुङले विश्वास व्यक्त गरे ।

पवित्र धार्मिक स्थल देवघाट र मुक्तिनाथ हुँदै चिन र भारतलाई समेत जोड्ने अन्तरदेशीय करिडोरका रुपमा जोड्ने योजना अनुसार गण्डकी प्रदेशले गौरवको आयोजनाका रुपमा काम अगाडि बढाएको हुँदा समयमै गुणस्तरीय काम सम्पन्न गर्न स्थानीय बासिन्दाले कुनै अवरोध खडा नगरी सम्पन्न गर्न सहजिकरण गर्नुपर्ने मन्त्री गुरुङले बताएका छन् ।
उक्त शिलान्यास समारोहमा घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर राना, उपाध्यक्ष सरस्वती सिग्देल, नेकपा तनहुँका जिल्ला कमिटी सदस्य विष्णुभक्त सिग्देल, राष्ट्रिय शिक्षक संगठन तनहुँका अध्यक्ष ध्रुवराज सिग्देल लगायतले शाल्रि्राम करिडोरले घिरिङ गाउँपालिका क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने चर्चा गर्दै समयमै निर्माण सम्पन्न गर्नका लागि आ-आफ्नो ठाउँबाट सकरात्मक सहजिकरण गर्ने प्रतिवद्धता जनाएका थिए ।
पूर्वाधार विकास कार्यालय तनहुँले बैडीबाट यो लोकमार्गमा कटिङ, ड्रेन, स्ल्याब कलभर्ट, कजवे, ग्याबिङ, स्टोन मेशनरी लगायतका काम अगाडि बढाएको कार्यालय प्रमुख ओमराज ढुंगानाले बताए । कार्यालयले उक्त कामका लागि खड्क कृष्ण पिके धुलिखेल जेभिलाई २५ करोड ८ लाख ७३ हजार ५१४ रुपैयाँमा निर्माण कार्यको जिम्मा दिएकोमा यस वर्ष ६ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । २०७६ फागुन २३ गते ठेक्का सम्झौता गरी निर्माण कार्य थालिएको यस लोकमार्गको बैडी खण्ड २०७९ फागुन २३ गतेसम्म सम्पन्न गर्नुपर्ने छ ।

त्यस्तै, कार्यालयले द्रुपद खोला सडक पुलको पनि शिलान्यास गराएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पुलको शिलान्यास गर्दै समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई सचेत गराएका छन् ।

कालीगण्डकी नदीको तिरैतिर निर्माण गर्न लागिएको यो लोकमार्ग गण्डकी प्रदेशकै गौरवको आयोजना भएको र बजेटको कुनै समस्या नभएको हुँदा समयमै गुणस्तरीय काम गर्न तथा यसका लागि स्थानीयले सहयोग र निग्रानी बढाउन मन्त्री गुरुङले आग्रह गरेका छन् ।
लोकमार्ग अन्तरगत घिरिङ-१ द्रुपद खोलामा २० मिटर लम्बाई र ८.४ मिटर चौडाइको पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय तनहुँले पराजुली कन्स्ट्रक्सन कम्पनीलाई ३ करोड ८३ लाख ४२ हजार ६८८ रुपैयाँमा ठेक्का सम्झौता गरेको कार्यालय प्रमुख ओमराज ढुंगनाले बताए । २०७८ वैशाख २० गतेसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने बताइएको छ ।










